१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात
मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ
(स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात
मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.)
ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा
कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य
नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी, मुस्लिम, अबू दाऊद, नसई, इब्ने माजा, अह्मद, मालिक)
२) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.)
समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा
अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले
भन्नुभयो,
“हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने, आज हामी कुरआन पढ्ने छैनौं, हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत
नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केही भन्नु भएन
। मानौं उहाँ (स) ले यस तरिकालाई मन पराउनु भयो । (तबरानी, अबू यअ्ला)
३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
मानिसहरुलाई रमजान महिनाका रातहरुमा नमाज पढ्न प्रोत्साहित गर्नुहुन्थ्यो तर
नमाजलाई अनिवार्य गर्नुहुन्नथ्यो । उहाँ (स.) भन्नुहुन्थ्यो “जसले आस्थाका साथ र
केवल अल्लाह तआलाको प्रसन्नता प्राप्तिको लागि रमजान महिनाको कियाम ग¥यो उसका अतीतका (साना) पापहरुलाई क्षमा गरिदिइयो ।” (बुखारी, मुस्लिम, अहमद, मालिक, अबू दाऊद, तिर्मीजी, नसई, इब्ने माजा)
४) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रमजान
महिनामा र रमजान बाहेकको महिनामा (वित्रको नमाजका साथ) एघार रकअतहरुभन्दा बढी नमाज
पढ्नु हुन्नथ्यो । (बुखारी, मुस्लिम, अबू
दाऊद,
तिर्मिजी, नसई, इब्ने माजा)
५) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले तीन
रातसम्म मानिसहरुलाई आठ रकअत (तरावीहको) नमाज पढाउनु भयो अनि फेरी वित्रको नमाज
पढाउनु भयो । अनि चौथो रातमा पनि मानिसहरुले नमाज पढ्न उहाँ (स.) को प्रतिक्षा गरे
तर उहाँ (स.) बाहिर आउनु भएन । (तबरानी, इब्ने खुजैमा, इब्ने हिब्बान, मुहम्मद बिन नस्र)
६) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
रमजान महिनामा जमाअतबाट छुट्टै बीस रकअतहरु पढ्ने गर्नुहुन्थ्यो । (बैहकी)
७) अब्दुर्रहमान बिन अब्दुल् बारी (रजि.) भन्छन्, “रमजान महिनामा एकरात म उमर (रजि.) सँग मस्जिदमा आएँ ।
त्यहाँ मैले सबैजना छुट्टा छुट्टै नमाज पढिरहेको देखें । कोही एक्लै नमाज
पढिरहेकोथ्यो भने कसैसँग केही मानिसहरु पनि सामेल थिए । उमर (रजि.) ले भन्नुभयो
“मलाई लाग्छ कि यदि मैले यिनीहरुलाई एउटा इमाम पछाडि एकत्रित पारें भने यो उत्तम
रहनेछ । अनि उनले सबैजनालाई उबै बिन कअ्ब (रजि.) को पछाडि एकत्रित पारे । फेरी
अर्को रात म उमर (रजि.) सँग मस्जिदमा आएँ । त्यस दिन सबैजना आफ्ना कारी (इमाम) को
पछाडि जमाअतका साथ नमाज पढिरहेको मैले देखें । उमर (रजि.) ले भन्नुभयो, “
यो नयाँ तरिका कति राम्रो छ । रातको जुन भागमा यिनीहरु
सुत्छन् (अर्थात अन्तिम प्रहर) यिनीहरुले नमाज पढ्ने समय (अर्थात सुरु रात) भन्दा
उत्तम रहेको छ र मानिसहरु रातको सुरुको भागमा नमाज पढ्ने गर्दथे । (बुखारी, इब्ने खुजैमा, बैहकी)
***हनफी र शाफिई बिद्वानहरुका अनुसार (वित्रको नमाज बाहेक)
तरावीहको नमाजमा बीस रकअतहरु पढ्नु सुन्नत हो । यिनीहरुको तर्क अनुसार उमर (रजि)
ले (अन्तिममा) यसै संख्यामा मानिसहरुलाई एकत्रित गरेका थिए । अरु सहाबीहरु (रजि.)
ले यस विषयमा उनीसँग सहमति जनाएका थिए र पछिका खुलफाए राशिदीनहरु मध्ये कसैले पनि
यसको विरोध गरेनन् । यसरी नै इब्ने अब्बास (रजि.) द्वारा उल्लेखित माथिको हदीस पनि
जुन सनदको हिसाबले कमजोर श्रेणीको रहेको छ तर यस कारणले सही हदीसको श्रेणीमा पर्न
जान्छ कि पछि उम्मत (अल्लाहका रसूल (स.) का अनुयायीहरु) ले यसलाई अपनाएका छन् ।
इमाम अबू हनीफा (रह.) भन्नुहुन्छ “तरावीहको नमाज सुन्नते मुअक्कदा हो । उमर (रजि.)
ले (यसमा वीस रकअतहरुलाई) आफ्नो तर्फबाट निरन्तरता दिएका होइनन् । उनले बीस रकअतको
आदेश दिनुको पछाडि उनको नजरमा अल्लाहका रसूल (स) को तर्फबाट
कुनै न कुनै प्रमाण अवश्य हुनुपर्छ ।” इमाम सुफ्यान सौरी (रह.) र अब्दुल्लाह बिन
मुबारक (रह.) को मस्लक पनि (वित्रको नमाज बाहेक) बीस रकअतहरु नै हुन् ।
(अल्–तअ्लीक अल्–सबीह)
इमाम अहमद बिन हम्बल (रह.) ले तरावीहको नमाजका रकअतहरुको
कुनै संख्या निश्चित गर्नुभएको छैन । उहाँ भन्नुहुन्छ, “यस विषयमा विभिन्न थरीका हदीसहरु उल्लेख भएका छन् ।”
इमाम मालिक (रह.) ले
आफ्नो लागि अपनाएको मसलक एघार रकअतहरु (वित्रको नमाज सहित) को थियो तर उनीकहाँ
हरेक संख्याको ठाउँ रहेको छ । उनी भन्छन्, “हामीकहाँ मदीनामा (वित्रको नमाज सहित) ३९ रकअतहरु र
मक्कामा (वित्रको नमाज सहित) २३ रकअतहरु पढिन्छन् र यिनीहरुमध्ये प्रत्येकको लागि
ठाउँ रहेको छ ।” मुहद्दिसहरु इब्ने अब्बास (रजि.) द्वारा उल्लेखित हदीस जसमा
अल्लाहका रसूल (स.) ले बीस रकअत तरावीह पढ्नु भएको उल्लेख भएको छ, को सनद कमजोर भएको कारणले
विश्वसनीय मान्दैनन् । उनीहरुको मस्लक अनुसार अल्लाहका रसूल (स.) को सुन्नत आठ
रकअतहरुको नै हो तर यस भन्दा बढी जति रकअतहरु पढिए तापनि त्यो सही र मुस्तहब हुनेछ
। हाफिज इब्ने हजर (रह.) उमर (रजि.) को विषयमा विभिन्न हदीसहरुलाई उल्लेख गरेपछि, लेख्छन्, “यी सम्पूर्ण हदीसहरुलाई
समानता दिनको निम्ति यो अर्थ दिन सकिन्छ कि विभिन्न अवस्थाहरुको अनुसार मानिसहरुले
पढ्ने रकअतहरुको संख्या भिन्दा भिन्दै हुने गर्दथ्यो यदि कुरआन पाठ लामो हुनेभए ।
(अल्–फत्ह अल्–बारी बहवाला तुह्फत् अल्–अह्वजी)
टिप्पणियाँ