१. सहल बिन सअद (अल्लाह उनीबाट प्रसन्न होउन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "यदि यस संसारको हैसियत अल्लाहको नजरमा लामखुट्टेको पखेटाको बराबर पनि भएको भए अल्लाह आफ्नो अवज्ञा गर्ने ब्यकतिलाई एक छुट्को पानी पिलाउने थिएनन् ।" (तिर्मिजी)
२. अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो, "अल्लाहको कसम ! आखिरत (पारलौकिक जीवन) को तुलनामा यस संसारको वास्तविकता केवल यति रहेको छ जति तिमीले समुद्रमा आफ्नो औंला चोपेर बाहिर निकाल्दा तिम्रा औँलामा पानी लागेको हुन्छ । (मुस्लिम)
३. अनस (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "मनुष्य बुढो हुँदै जाँदा दुईवटा बानी जवान हुँदै जान्छन् । १) सम्पत्तिको मोह २) धेरै बर्षसम्म बाँच्ने चाहना ।" (बुखारी र मुस्लिम)
४. अबू जर (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "जो यस संसारमा धेरै धनको मालिक हुनेछन्, उनीहरू पारलौकिक जीवनमा गरीब हुनेछन् ती व्यक्तिहरू बाहेक जसलाई अल्लाहले धेरै धन प्रदान गरे र उसले त्यस धनलाई दाँया-बाँया, अगाडि-पछाडि खर्च गरिरह्यो (दान दिइरह्यो) । त्यस धनलाई सधै राम्रो र पूण्यका कामहरूमा खर्च गरिरह्यो ।" (बुखारी)
५. अबू मूसा (अल्लाह उनीसित प्रसन्न होऊन्) को भनाई छ, अल्लाहका रसूल (उनीमाथि शान्ति होस्) ले भन्नुभयो "जो यस संसारसँग प्रेम गर्छ , ऊ आफ्नो पारलौकिक जीवन (आखिरत) लाई हानी पुर्याउँछ र जो आफ्नो आखिरतलाई मन पराउँछ ऊ संसारलाई हानी पुर्याउँछ । (तसर्थ) सधैं रहने आखिरतलाई समाप्त हुने (संसार) माथि प्राथमिकता देऊ ।" (मिश्कात)
टिप्पणियाँ