१- अल्लाहका रसूल (स) ले भन्नु भएको छ "पवित्रता आधा ईमान (आस्था) हो ।" (बुखारी र मुस्लिम)
२- अब्दुल्लाह बिन उमर (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स) ले भन्नु भयो "हाम्रोलागि दुईवटा मृत जनावर र दुईवटा रगतलाई हलाल गरिएको छ । दुईवटा मृत जनावर माछा र सलह हुन र दुईवटा रगत कलेजो र फियो (को रगत) ।" (अहमद, शाफ़िई, इब्ने माजा, बैहकी, दार कुत्नी)
३- अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कसैको पिउने चिजमा झिंगा खस्यो भने उसले त्यस (झिंगा) लाई डुवाइदिनु पर्छ र फेरी त्यसलाई फ्याँकिदिनु पर्छ किनकी उसको एउटा पखेटामा उपचार छ र अर्कोमा रोग ।” (बुखारी, अबू दाऊद, अहमद, इब्ने माजा)
४- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुरले मुख हाल्यो भने उसले आफ्नो भाँडोलाई सात पटक धुनु अनिवार्य हुन्छ ।” (बुखारी, मुस्लिम, अहमद)
५- उम्मे कैश (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) समक्ष उनी आफ्नो एउटा बच्चा (छोरा) लाई लिएर गइन । त्यस बच्चाले अहिले खाना खान थालेको थिएन । उसले अल्लाहका रसूल (स.) को काखमा पिसाब गरिदियो अनि अल्लाहका रसूल (स.) ले पानी मगाएर आफ्नो लुगामा छ्याप्नु भयो र त्यसलाई (लुगालाई) पखाल्नु भएन । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
६- अली (रजि.) को भनाई अनुसार अल्लाहका सन्देष्टा (स.) ले भन्नु भयो, “सानो बालकको पिसाबमा पानी छ्याप्ने र बालिकाको पिसाबलाई धुने ।” (मुस्नद अहमद)
[सलफका विद्वानहरुमध्येबाट धेरैले यहि मसलक (तरिका) अँगालेका छन् । इमाम नखई (रह.), इमाम सुफयान सौरी (रह.), इमाम अबू हनीफा (रह.) र उनका शिष्यहरु र कूफा (ठाँउको नाम) का अरु फकीहहरु (फिक्हको ज्ञान भएकाहरु) र मालिकी विद्वानहरुका अनुसार साना बालकहरुको पिसाबलाई पनि ठूलोहरुको सरहनै धुनु अनिवार्य छ । (अल–फत्ह अल्–रब्बानी)
यस मत भिन्नताको कारण माथिको हदीसमा “नदह” शब्दको प्रयोग हुनु हो । जसको अर्थ अरबी शब्दकोषमा पानी छर्कनु र धुनु दुबै उल्लेख भएको छ । इमाम अबू हनीफा (रह) यस शब्दको अर्थ धुनु र अर्को शब्द जुन हदीसमा प्रयोग भएको छ “लम यग्सिल्हु” अर्थात त्यसलाई धोएनन् को अर्थ उहाँले धेरै मलेर धोएनन् लिनु भएको छ । (मुअत्ता इमाम मुहम्मद)]
७- अली (रजि.) भन्नुहुन्छ, मलाई धेरै मजी आउँदथ्यो र यस विषयमा अल्लाहका रसूल (स.) सँग प्रत्यक्ष रुपले प्रश्न गर्न लजाउँथे । मैले एउटा व्यक्तिलाई अल्लाहका रसूल (स.) सँग यस विषयमा सोध्नलाई भनें र उहाँ (स.) ले भन्नु भयो, “वुजु गर र आफ्नो गोप्य अङ्गलाई पखाल ।” (बुखारी)
[मजी भनेको सेतो टाँसिने तरल पदार्थ हो जुन यौन अङ्गबाट यौन क्रियाकलापको विषयमा सोँचदा वा यौन साथीसित जिस्कदा र यस्तै अरु क्रियाकलापहरु गर्दा निस्कन्छ ।]
८- इब्ने अब्बास (रजि) को भनाई छ, “वीर्य निस्कदा गुस्ल (नुहाउनु) अनिवार्य हुन्छ र मजी र वदी निस्कदा राम्ररी वुजु गर्नु अनिवार्य हुन्छ । (बुखारी)
[वदी भनेको सेतो, बाक्लो तरल पदार्थ हो जुन कसै–कसैले पिसाब गरे पश्चात निस्कन्छ ।]
९- सहल बिन हनीफ (रजि) को भनाई छ, “म धेरै मजी निस्केको कारणले पीडित थिँए । यसको कारणले म धरै पटक गुस्ल (नुहाउने) गर्थें । मैले यस परिस्थितिको वर्णन अल्लाहका रसूल (स.) सँग गरें । उहाँ (स.) ले भन्नु भयो, “तिम्रो लागि वुजु गर्नु पर्याप्त हुन्छ ।” मैले भने, “हे अल्लाहका सन्देष्टा ! लुगामा लागेको मजीलाई के गर्ने ?” उहाँ (स.) ले भन्नु भयो, “एक मुठ्ठी पानी लिऊ र तिमीलाई जहाँ मजी लागेको छ भन्ने अनुमान छ त्यहाँ छर्किदेऊ ।” (अहमद, तिर्मिजी, इब्ने माजा)
१०- आइशा (रजि) भन्नु हुन्छ, “म अल्लाहका रसूल (स.) को लुगामा मनी (वीर्य) सुखेको अवस्थामा खुर्केर सफा गर्ने गर्थें र भिजेको अवस्थामा धुन्थें ।” (अहमद्, दार कुत्नी, बज्जार, अबू अवाना)
११- अनस (रजि.) को भनाई अनुसार फत्हे खैबर (खैबर विजय भएको दिन) हामीलाई जङ्गली जनावरहरुको मासु धेरै मात्रामा प्राप्त भयो । त्यति बेला अल्लाहका रसूल (स.) को तर्फबाट एक जनाले घोषणा गर्यो “अल्लाह र उसको रसूल (स.) ले तिमीहरुको लागि जङ्गली गधाहरुको मासु खानु अवैध गरेका छन् किनकी यो अपवित्र हो ।” (बुखरी र मुस्लिम)
१२- इब्ने मस्ऊद (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) शौचालय जानको लागि बाहिर जानु भयो र मलाई तीनवटा ढुङ्गा ल्याउन आदेश दिनु भयो । मैले दुईवटा ढुङ्गा पाएँ तर तेस्रो पाइन । म लीद (जनावरको सुखेको दिसा) लिएर गएँ । उहाँ (स.) ले दुईवटा ढुङ्गा लिनु भयो र लीद फ्याकिदिनु भयो र भन्नु भयो, “यो अपवित्र हो” । अर्को हदीसमा छ कि उहाँ (स.) ले भन्नु भयो “यो गधाको लीद हो” । (बुखारी, इब्ने मजा, इब्ने खुजैमा)
१३- अनस (रजि) को भनाई अनुसार “अकल” र अरीना (अरबका दुईवटा कबीला अर्थात समुदाय) का केही व्यक्तिहरु मदीना शहर आए र त्यहाँका जलवायुको कारणले बिरामी भए । अल्लाहका रसूल (स.) ले उनीहरुलाई ऊँटको दुध र पिसाब पिउने आदेश दिनु भयो ।” (बुखारी, मुस्लिम अहमद्)
[यो मसलक (तरिका) इमाम मालिक (रह.), अहमद् (रह.), इब्राहीम नखई (रह.), जुहरी (रह.) (हनफी विद्वानहरुमध्येबाट) इमाम मुहम्मद (रह.), जुफर (रह.) (शाफिई विद्वानहरुमध्येबाट) इमाम इब्ने मुन्दिर (रह.) र केही अरुको हो । (साधारण अहले हदीसहरुको मसलक पनि यही हो ।)
इमाम शाफिई (रह.) को नजरमा हलाल (वैध) जनावरहरुको पिसाव र दिसा अपवित्र हो । उहाँ अनुसार माथिको हदीसमा “अकल” र “अरीना” बाट आएकाहरुलाई अल्लाहका रसूल (स.) ले उँटहरुको पिसाब पिउन दिइएको अनुमति उनीहरुको लागि मात्र थियो । (नैल अल्–औतार, अल्–फतह अल्–रब्बानी)
इमाम अबू हनीफा (रह.) को नजरमा हलाल जनावरहरु र साना चराहरुको पिसाव र दिसा नजासते खफीफा (हलुका अपवित्रता) हो किनकी माथि उल्लेख गरिएको हदीसले ज्ञात हुन्छ कि हलाल जनावरहरुको पिसाब पवित्र हो र अर्को हदीसमा उल्लेख भएको छ “प्रत्येक पिसाबबाट शुद्धता प्राप्त गर ।” (अल–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)]
१४- अस्मा बिन्त अबू बक्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) समक्ष एउटी महिला आइन् र सोधिन्, “हामीमध्ये कसैको लुगामा महिनावारीको रगत लाग्यो भने के गर्ने ?” उहाँ (स.) ले भन्नु भयो, “त्यसलाई खुर्केर सफा गर्ने, पानी हालेर मल्ने, माथिबाट पानी हाल्ने र त्यही लुगा लगाएर नमाज पढ्ने ।” (बुखारी र मुस्लिम)
[यस विषयमा कुनै मत भिन्नता रहेको पाइन्दैन तर मानिसहरुको विभिन्न बाध्यताको कारणले हनफी विद्वानहरुले एक दिर्हम (हाम्रो एक रुपैयाँको सिक्का) बराबरको नजासत (अपवित्रता) लागको छ भने त्यसको अनुमति दिइएको छ । अर्थात यदि नजाहत (अपवित्रता) बाक्लो छ भने त्यसको तौल एक मिस्काल (४ १÷२ मासा) भन्दा बढी नहोस् र यदि पातलो छ भने हत्केलाको गहिरो भाग भन्दा बढी फैलिएको नहोस् । “त्यसको अनुमति दिइएको छ” भन्नुको अर्थ यो हो कि यति नजासत (अपवित्रता) लागेको खण्डमा नमाज मान्य हुनेछ । यसको अर्थ यो होइन कि यति नजासत (अपवित्रता) मक्रुह (मन नपराको) पनि होइन । बरु त्यो अपवित्रताबाट शुद्ध हुनु अनिवार्य रहेको छ । यदि शुद्ध गरिएन भने नमाज मक्रुह तहरीमी (अर्थात हराम भन्दा अलि कम) हुनेछ र अपवित्रता त्यति मात्रा भन्दा कम छ भने त्यसबाट शुद्धता प्राप्त गर्नु सुन्नत हो र शुद्धता प्राप्त नगर्नु मकरुह तन्जीही (अर्थात हलाल को नजिकको पूरै वैध हैन) हो (यदि त्यस्तो काम जुन मकरुह तन्जीही हो गरिन्छ भने पाप लाग्दैन तर गर्नबाट बच्छौं भने पुण्य प्राप्त हुन्छ । मकरुह तहरीमी गर्नाले पाप लाग्छ र त्यसलाई त्याग्नाले पुण्य प्राप्त हुन्छ) । यहि आदेश नजासते खफीफा (हलुको अपवित्रता) को विषयमा पनि लागु हुनेछ । (दुर्रे मुख्तार) हनफी विद्वानहरुको नजरमा नजासत (अपवित्रता) दुई थरिका छन् : पहिलो नजासते गलीजा (भारी अपवित्रता) र अर्को नजासते खफीफा (हलुको अपवित्रता) । नजासते गलीजा (भारी अपवित्रता) भनेको यस्तो अपवित्रता हो जसको प्रमाण कुरआन वा हदीसमा उल्लेख भएको होस् र यसको विपरित कुरआन वा हदीसमा केही पनि उल्लेख न भएको होस् । नजासते खफीफा (हलुको अपवित्रता) भनेको यस्तो अपवित्रता हो जसको अपवित्र हुनुको प्रमाण र यसको विपरित दुबै कुरआन वा हदीसमा उल्लेख गरिएको होस्, जस्तै : हलाल (वैध) जनावरहरुको मूत्र र दिशा ।
मालिकी विद्वानहरुका अनुसार मूत्र वा दिसा यदि स्वयं चुहिन्छ भने चुहिएको ठाँउबाट अर्थात शरीर, लुगा वा जमिनबाट (यस अवस्थामा कि यी ठाउँहरुबाहेक अन्य कुनै ठाउँहरुमा पनि यो लागेको नहोस्) यसलाई धुनु अनिवार्य हुँदैन (अर्थात यदि यो पिसाब लागेको अवस्थामा नमाज पढिन्छ भने नमाज मान्य हुनेछ) ।
शाफिई विद्वानहरुको अनुसार त्यस्तो पिसाबलाई छुट दिइनेछ (लुगा वा शरीरमा लागे पनि नमाज पढ्नको निम्ति धुनु अनिवार्य हुँदैन) जुन साधारण अवस्थामा आँखाले भेट्दैन ।
हम्बली विद्वानहरुका अनुसार केवल त्यस्तो पिसाबको छुट छ जसलाई चुहिनुबाट रोक्न सम्भव हुँदैन । (अल–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)]
१५- अबू हुरैरह (रजि) को भनाई छ कि एउटा देहाती (मस्जिदमा) आयो र मस्जिदको सहन् (आंगन) मा बसेर पिसाब गर्न थाल्यो । सहाबीहरु (रजि.) उसलाई समात्न र रोक्न दर्गुन थाले । अल्लाहका रसूल (स.) ले भन्नु भयो, “उसलाई पिसाब गर्न देऊ र त्यस पछि उसको पिसाब माथि एक मग पानी बगाईदिनु किनकी तिमीहरु सजिलो बनाउन पठाइएका हौ (मामिलालाई सजिलो बनाउन पठाइएका हौं) झन गाह्रो बनाउन पठाइएका होइनौं ।” (बुखारी, अहमद्, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
[पानी बगाएर जमिनलाई पवित्र पार्नुमा कसैको असहमति छैन । तर हनफी विद्वानहरुका अनुसार जमिनलाई खन्नु र त्यसमाथि तीन पटक पानी बगाउनु वा एकै पटक धेरै पानी बगाउनु जरुरी छ । उनीहरुको प्रमाण अबू दाऊद, दार कुत्नी र तहावीको अर्को हदीस हो जसमा उल्लेख भएको छ कि जब देहातीले पिसाब गरिसक्यो अल्लाहका रसूल (स.) ले जमिनलाई खन्न र त्यसमाथि पानी बगाउने आदेश दिए । अरु विद्वानहरुको अनुसार यो हदीस मुर्सल (यसमा सही हुने सर्तहरुमा कमि भएको) वा कमजोर (सही हुने सर्तहरुमा धेरै कमि भएको अवस्था) भएकोले यो हदीस विश्वसनीय नभएको हो । तर स्मरण रहोस् कि हनफी विद्वानहरुका अनुसार जमिन खन्ने काम केवल यस अवस्थामा गरिनेछ जब जमिन कच्ची र यति कडा होस् कि पानी सोस्ने क्षमता नहोस् र यदि त्यो जमिन पानी सोस्ने क्षमता राख्छ भने त्यसलाई खन्नु जरुरी हुँदैन । (इमाम अैनी फी शरह सही अल्–बुखारी)
हनफी विद्वानहरुको अनुसार हावा र घाममा सुखेर अशुद्धताको प्रभाव सकिनाले पनि जमिन पवित्र हुन्छ । तर यस अवस्थामा त्यस जमिनमा केवल नमाज पढ्ने उचित हुनेछ, जमिनको त्यस भागले तयम्मुम गर्ने अनुमति छैन । (शरह वकावह्) यसको लागि हनफी विद्वानहरु यो प्रमाण दिन्छन्, अब्दुल्लाह बिन् उमर (रजि.) को भनाई छ, “म जब अविवाहित र युवा थिँए र मस्जिदमा सुत्ने गर्थें । कुकुरहरु मस्जिदमा आउँथे, पिसाब गर्थे र यता घुुम्थे तर यस कारणले मस्जिदलाई धोईंदैन थियो । (अबू दाऊद)
अर्को प्रमाण यो हो कि मुस्नद इमाम इब्ने अबी शैबामा उल्लेख भएको हदीसमा अल्लाहका रसूल (स.) ले भन्नु भएको छ “जमिन सुखनाले पवित्र हुन्छ ।” अर्को प्रमाण यो हो कि आइशा (रजि.) ले भन्नु भयो, “जमिन सुखेपछि पवित्र हुन्छ ।” यहि मसलक शफिईहरुमध्येबाट केहीले अङ्गालेका छन् । तर बाँकी विद्वानहरुका अनुसार यी हदीसहरु कमजोर श्रेणीका हुन् र प्रमाणको रुपमा लिन सकिदैन । यस कारणले उनीहरु (बाँकी विद्वानहरु) को अनुसार घाम र हावाले जमिन पवित्र हुँदैन । (तुह्फत् अल्–अह्वजी)]
१६- अब्दुल्लाह इब्ने अब्बास (रजि.) र मैमुना (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग कसैले सोधेछ कि यदि घ्यूमा मुसा खस्यो भने के गर्ने ? उहाँ (स.) ले भन्नु भयो, “उस (मुसा) को वरिपरिको घ्यूलाई फ्याँकिदेऊ र आफ्नो घ्यू (बचेको घ्यू) खाऊ ।” (बुखारी)
१७- इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “दिबागतले छाला पवित्र हुन्छ । (बुखारी र मुस्लिम)
[मालिकी विद्वानहरुका अनुसार दिबागतले छाला केवल बाहिरबाट पवित्र हुन्छ भित्रबाट हुँदैन । हम्बली विद्वानहरुको अनुसार दिवागतले छालाको कुनै पनि भाग पवित्र हुँदैन । सहाबीहरु (रजि) मध्येबाट उमर (रजि.), अब्दुल्लाह बिन उमर (रजि.) र आइशा (रजि.) को मसलक पनि यही थियो । यीनिहरुको प्रमाण यो हो कि दिवागतले छाला पवित्र हुने आदेश त पहिले थियो तर पछि यस आदेशलाई अल्लाहका रसूल (स.) को अर्को आदेशले रद्ध गरेको छ किनकी अब्दुल्लाह बिन अकिम (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले (आफ्नो मृत्यु भन्दा एक महिना पहिले) भन्नु भयो, “मृत जनावरको छाला र आँतलाई प्रयोग नगर ।” तर बाँकी बिद्वानहरु यस हदीसले माथिको हदीसलाई रद्द गर्ने कुरामा सहमत छैनन् किनकी यो हदीसमा कमजोरी छ (यस कारणले यो हदीस मान्य छैन) । (नैल अल्–औतार)]
१८- अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरुको जुतामा अशुद्धता लाग्यो भने त्यसलाई माटोले शु्द्ध पारिदिन्छ ।” (अबू दाऊद)
१९- अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज पढाई राख्नु भएको थियो तर (नमाजको अवस्थामा नै) उहाँ (स.) ले आफ्नो जुत्ता फुकालिदिनु भयो । (सँगै नमाज पढिरहेका) सहाबीहरु (रजि) ले पनि (उहाँ (स.) लाई जुत्ता फुकालेको देखेर) आफ्ना जुत्ताहरु फुकालिदिए । जब नमाज सकाएर अल्लाहका रसूल (स.) ले सबैसँग सोधे, “तिमीहरुले आफ्नो जुत्ताहरु किन फुकालेको ?” सहाबीहरु (रजि) ले जवाफ दिए “हामीले तपाईलाई जुत्ता फुकालेको देखेर फुकालेका हौं । उहाँ (स.) ले भन्नु भयो, “म समक्ष जिब्रईल आए र भने कि मेरो जुत्तामा अशुद्धता लागेको छ (यसकारणले मैले आफ्नो जुत्ता फुकालेको) । तसर्थ तिमीहरु मध्ये कोही मस्जिदमा आउँछ भने ऊ आफ्नो जुत्तालाई राम्ररी हेरोस् यदि त्यसमा अशुद्धता लागेको छ भने त्यसलाई जमीनमा घश्रेर शुद्ध परोस र त्यस जुत्तालाई लगाएर नमाज पढोस् ।” (मुस्नद अहमद)
टिप्पणियाँ