१- अबू हुरैरह (रजि.) को भनाई अनुसार एउटा व्यक्तिले अल्लाहका रसूल (स.) सँग सोध्यो, “हे अल्लाहका सन्देष्टा ! हामी समुद्रबाट यात्रा गर्छौं र हामीसँग थोरै पानी हुन्छ । यदि हामी त्यस पानीलाई वुजुु गर्नको लगि खर्च गर्छौ भने हामीसित पिउनको लागि पानी बच्नेछैन । के हामी समुद्रको पानीले वुजुु गर्न सक्छौं ?” उहाँ (स.) ले जवाफ दिनु भयो, “त्यो (समुद्रको पानी) पवित्र हो (पवित्र पार्ने शक्ति त्यसमा छ) र त्यसको मृत जनावर हलाल हो (वैध हो खान सकिन्छ) ।” (अहमद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
[समुद्रको पानी पवित्र (स्वयं पवित्र र पवित्र पार्ने शक्ति बोकेको) हुनुमा सबै विद्वानहरु एक मत छन् । तर केही सहाबीहरु (रजि.) जस्तै अब्दुल्लाह बिन उमर (रजि.) र अब्दुल्लाह बिन अम्र (रजि.) को विषयमा यो उल्लेख भएको छ कि उनीहरु समुद्रको पानीलाई वुजुु र गुस्लको लागि अनुचित ठान्दथे (अर्थात समुद्रको पानीलाई स्वयंमा पवित्र मान्थे तर पवित्र पार्ने शक्ति त्यसमा छैन सम्झन्थे) । (नैल अल्–औतार)]
२- उम्मे हानी (रजी) को भनाई अनुसार अल्लाहका रसूल (स) र मैमूना (रजि) ले एउटा यस्तो भाँडामा गुस्ल गरे (नुहाए) जसमा आँटा मुछेको केही अशं बाँकी थियो । (अहमद, नसई, इब्ने खुजैमा)
३- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि पानी 'हजर' (अरबको एक ठाँउको नाम हो जहाँको घ्याम्पो निकै प्रचलित थियो) को दुई घ्याम्पो बराबर छ भने त्यो अपवित्र हुँदैन ।” (मुस्नद अहमद, तिर्मिजी, नसई)
[यो इमाम शाफिई (रह.) अहमद बिन् हम्बल् (रह.) र इस्हाक (रह.) को मस्लक हो । (तिर्मिजी)
अह्ले हदीस विद्वानहरुले माथिको दुईवटा घ्याम्पोवाला हदीसलाई सहीसिद्ध गरेका छन् र यसै मस्लकलाई अङ्गालेका छन् ।
इमाम मालिक (रह.) र जाहिरी विद्वानहरुका अनुसार नजासत (अशुद्धता) खस्नाले यदि पानीको रङ्ग, बास्ना वा स्वादमध्ये कुनैमा पनि परिवर्तन आउँदैन भने त्यो पानी पवित्र हो र पवित्र पार्न सक्षम छ । चाहे त्यसको मात्रा कम होस् वा धेरै । यीनिहरुको हिसाबले माथिको दुई घ्याम्पोवाला हदीसमा कमजोरी छ जसको कारणले यो हदीस अमान्य रहेको छ । यस हदीसको बदलामा उनीहरु अबू खुद्री (रजि.) द्वारा वर्णन गरिएको हदीसलाई प्रमाणको रुपमा पेश गर्छन् जुन यस प्रकार रहेको छ : अल्लाहका रसूल (स.) सँग सबैले सोधे कि के हामी “बुढाआ” को कुवाहरु (जसमा बाढीको समयमा अपवित्रता खस्ने गथ्र्यो) बाट वुजुु बनाउन सक्छौं ? उहाँ (स.) ले भन्नु भयो, “(सक्छौ) पानी पवित्र छ र त्यसलाई कुनै कुरा पनि अपवित्र पार्दैन ।” (अहमद्, नसई, अबू दाऊद, तिर्मिजी, शाफिई) अर्को प्रमाण यो हो कि जब देहातीले मस्जिदमा पिसाब गर्यो अनि अल्लाहका रसूल (स) ले उसले पिसाब गरेको ठाँउमा एक मग पानी खन्याइदिने आदेश दिनु भयो । (बुखारी, अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
यी दुवै हदीस इमाम शाफिई (रह.), अहमद बिन् हम्बल् (रह) र अरु मुहद्दिसहरू ( हदीसको गहिरो ज्ञान भएका विद्वानहरु) को अनुसार सही हुन् । तर यी दुई मध्ये पहिलो हदीसमा अल्लाहका रसूल (स.) को भनाई “पानी पवित्र छ र यसलाई कुनै कुराले पनि अपवित्र पार्दैन ।” मापदण्ड बिना रहेको छ जसलाई दुई घ्याम्पोवाला हदीसले मापदण्ड प्रदान गर्छ ।
दोस्रो हदीस र दुई घ्याम्पोवाला हदीसको विषयमा इमाम शाफिई (रह.) भन्नुहुन्छ, “यदि पानी अशुद्धतामा पोखाइन्छ भने त्यो (अशुद्धता) शुद्ध हुन्छ चाहे पानी दुई घ्याम्पो भन्दा कम होस् र यदि अशुद्धता पानीमा खस्छ भने पानी शुद्ध रहदैन तर त्यो पानी दुई घ्याम्पो भन्दा बढि छ भने शुद्ध नै रहन्छ । (नैल अल्–औतार, बिदायत् अल्–मुज्तहिद्)
इमाम अबू हनीफा (रह) र उनका शिष्यहरु पनि दुई ध्याम्पोवाला हदीसलाई अमान्य भन्दछन् । यीनिहरुको मसलक “कयास”* (सादृश्य) माथि आधारित रहेको छ । कयास (सादृश्य) यो हो कि यदि पानीमा अशुद्धता खस्यो भने बढी अनुमान यता तिर छ कि अशुद्धताको प्रभाव पानीमा पूर्ण रुपले भइसकेको होला, अब चाहे त्यस पानीको रङ्ग, बास्ना वा स्वादमध्ये कुनैमा पनि परिवर्तन नभएको होस् पानी अपवित्र नै हुनेछ किनकी त्यस पानीलाई प्रयोग गर्नुको अर्थ अशुद्धतालाई प्रयोग गर्नु हो र अपवित्रताबाट बच्ने आदेश अल्लाहले दिएका छन् । (अल्– तअ्लीक अल्–सबीह)
*कयास (सादृश्य) एउटा तार्किक दृष्टिकोण हो जनु कुनै पनि समस्याको समाधानको लागि त्यससँग मिल्दो जुल्दो अर्को परिस्थितिलाई आधार बनाएर समस्याको कारण थाहा पाइन्छ ।
४- जाबिर (रजि.) को भनाई छ, उहाँ भन्नु हुन्छ, “म बिरामी थिएँ र कुनै कुरा बुझ्दैन थिएँ । अल्लाहका रसूल (स.) मलाई भेट्न आउनु भयो । उहाँ (स.) ले वुजुु बनाउनु भयो र वुजुु बनाएको पानी म माथि खन्याइदिनु भयो । (बुखारी र मुस्लिम)
माथिको हदीसले ज्ञात हुन्छ कि वुजुु बनाएको पानी अपवित्र हुँदैन । तर अन्य केही हदीसहरुमा अल्लाहका रसूल (स.) ले वुजुु र गुस्लको पानीलाई दोस्रो पल्ट वुजुु वा गुस्ल गर्नको लागि प्रयोग नर्गन आदेश दिनु भएको छ । यसकारणले यो पानी पवित्र त हो तर पवित्र पार्ने क्षमता यसमा छैन ।
५- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा अपवित्र भएको अवस्थामा गुस्ल नगरोस् ।” सबैले सोधे, “ हे अबू हुरैरह ! अनि के गर्ने त ?” अबू हुरैरह (रजि.) ले भन्नु भयो “हातले पानी लिएर गुस्ल गर्ने ।” (मुुस्लिम, इब्ने माजा) अबू दाऊदमा उल्लेख गरिएको हदीसमा अल्लाहका रसूल (स.) का यी शब्दहरु प्रयोग भएका छन् : “तिमीहरुमध्ये कोही पनि जमेको पानीमा न त पिसाब गरोस् र न जनाबतको (गुस्ल अनिवार्य भएको) अवस्थामा गुस्ल गरोस् ।”
६- आइशा (रजि) को भनाई छ, उनी भन्छिन, “म हैज (महिनावारी) को अवस्थामा हुन्थे, म पानी पिएर अल्लाहका रसूल (स.) लाई दिन्थे, अनी उहाँ (स.) भाँडामा त्यस ठाँउमा मुख राखेर पानी पिउनु हुन्थ्यो जहाँ मैले मुख लगाएर पानी पिएको हुन्थे ।” (मुस्लिम)
७- जाबिर (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) सँग एउटा व्यक्तिले सोध्यो, “के हामी गधाहरुले पिएर बचाएको पानीबाट वुजु गर्न सक्छौं ?” उहाँ (स.) ले भन्नु भयो, "अँ सक्छौ, र सम्पूर्ण शिकार गर्ने जन्तुहरुले पिएर बचाएको पानीबाट पनि गर्न सकिन्छ ।” (मुस्नद इमाम शाफिई, दार कुत्नी, बैहकी)
८- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) यात्रामा जाँदै हुनुहुन्थ्यो, बाटोमा एउटा मान्छेलाई एउटा ठूलो पोखरीमा बसेको देख्नु भयो । उमर (रजि.) ले त्यस व्यक्तिसँग सोधे, “के राती जङ्गली जनावरहरुले तिम्रो पोखरीमा मुख हालेको छ (अर्थात पोखरीलाई जुठो पारेको छ) ? ” अल्लाहका रसूल(स.) ले त्यस व्यक्तिलाई संबोधन गरेर भन्नु भयो, “हे पोखरीको मालिक! यस (उमर (रजि.)) लाई जवाफ नदेऊ । यो जरुरी छैन, जङ्गली जनावर आफ्नो पेटमा जे बाकेर गयो (जति पानी बोकेर गयो) त्यो उसको हो र जे छोडेर गयो त्यो हाम्रो लागि हो । पिउनको लागि र पवित्रता प्राप्त गर्नको लागि ।” (दार कुत्नी)
[यो मसलक (तरिका) इमाम मालिक (रह) र इमाम शाफिई (रह.) को हो । इमाम हसन बसरी (रह.), इब्ने सीरीन (रह.), शअ्बी (रह.), औजाई (रह.), हम्माद (रह.) र इस्हाक (रह.) का अनुसार पनि जङ्गली जनावरहरुको जुठो पानी पवित्र (ताहिर र मुतह्हिर अर्थात स्वयंमा पवित्र र पवित्र पार्ने क्षमता भएको) हो तर मक्रूह (मन नपराइएको) हो ।
अबू हनीफा (रह.), अहमद बिन हम्बल् (रह.) र सुफयान सौरी (रह.) का अनुसार जङ्गली जनावरहरुको जुठो पानी अपवित्र हुन्छ । यदि यहि जुठो पानी मात्र छ भने त्यसले वुजुु नबनाउने बरु तयम्नुम गरेर नमाज पढ्ने । उहाँहरुको प्रमाण या हो कि माथि जाबिर (रज.) द्वारा उल्लेखित हदीसमा अल्लाहका रसूल(स.) ले जङ्गली जनावरहरुको जुठो पानीलाई यस कारणले पवित्र ठहर गरेका हुन् कि त्यो धेरै मात्रामा थियो । जहाँ सम्म अब्दुल्लाह बिन उमर (रजि.) द्वारा उल्लेखित हदीसको कुरा छ त्यसमा पनि धेरै मात्रामा रहेको पानीको सम्बन्धमा आदेश दिइएको हो । बरु नवी (स.) ले पोखरीको मालिकलाई त्यस पोखरीमा जङ्गली जनावरहरु आए कि आएनन् भन्ने विषयमा जवाफ दिनबाट रोकिदिए यसको कारण यो थियो कि यदि उसले जवाफ दिएको भए कठिन परिस्थिति हुने थियो किनभने जङ्गली जनावरहरुले त्यस पोखरीबाट पानी पिएका हुन् भन्ने थाहा पाईसके पछि अपवित्र पानीले वुजुु गर्नु अवैध हुने थियो जबकि त्यतिबेला अल्लाहका रसूल(स.) सँग अरु पानी थिएन । तसर्थ त्यस अवस्थामा यहि उचित थियो कि त्यो पानी पवित्र छ कि छैन त्यसबारेमा जान्ने प्रयास नै नगरियोस् । (अल्–मुग्नी, अल्–तअलीक अल्–सबीह)]
९- कब्शा बिन्त कअ्ब (रजि.) को भनाई छ, “एक दिन अबू कतादा (उनको लोग्ने) (रजि) मेरो समक्ष आउनु भयो मैले उहाँलाई वुजुकोे लगि भाँडोमा पानी दिएँ । त्यति खेर एउटा बिरालो आयो र त्यस भाँडाबाट पानी पिउन थाल्यो । अबू कतादा (रजि.) ले उसको लागि भाँडालाई ढल्काइ दिनुभयो अनि बिरालेले पानी पिइ सक्यो । अबू कतादा (रजि.) ले जब मलाई उहाँतिर अचम्मले हेरेको देख्नुभयो, भन्नुभयो, “नबी (सं) ले भन्नुभएको छ कि यो (बिरालो) अपवित्र होईन । यो त उनीहरु मध्येको हो जो तिमीहरु समक्ष आइरहन्छ । (मुस्नद अहमद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
[इमाम अबू हनीफा (रह.) बिरालोलाई शिकारी (जङ्गली) जनावरहरुमा समावेस गर्नु हुन्छ । अबू हुरैरह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “बिरालो जङ्गली हो ।” (अहमद, हाकिम, दार कुत्नी) तर अरु इमामहरु जङ्गली जनावरहरुको तुलनामा बिरालोको जुठोको विषयमा अलि हल्का आदेश दिन्छन् र भन्छन् त्यो मक्रूह (अप्रीय) हो अपवित्र होईन । (नैल अल्–औतार)]
१०- अबू हरैरह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि तिमीहरु मध्ये कसैको भाँडामा कुकुर मुख हालेर जान्छ भने उसले त्यस भाँडोलाई सात (७) पटक धुनु पर्दछ, पहिलो पटक माटोले धुने र बाँकी ६ पटक पानीले धुने । (बुखारी, मुस्लिम, इमाम अहमद)
[इमाम जुहरी (रह.), मालिक (रह.), औजाई (रह.) र दाऊद जाहिरी (रह.)को अनुसार कुकुरको जुठो पानी पवित्र हो तर मक्रुह (अप्रीय) हो इमाम मालिक (रह.) भन्नु हुन्छ कि हदीसमा अल्लाहका रसूल (स.) ले भाँडोलाई धुने आदेश घिनलाई हटाउनको लागि दिनु भएको हो (नजासत (अपवित्रता) हटाउनको लागि होइन) । (अल–मुग्नी)
टिप्पणियाँ