सीधे मुख्य सामग्री पर जाएं

वुजु गर्ने तरिका, यसको आवश्यकता र विशेषता

१- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नु भयो, “यदि तिमीहरुमध्ये कसैको वुजु टुट्छ (वा उसको वुजु छैन) भने उसले वुजु नबनाउन्जेलसम्म अल्लाह तआला उसको नमाजलाई स्वीकार्दैनन्  ।” (मुस्लिम, बुखारी, अबू दाऊद, तिर्मिजी)

२- अब्दुल्लाह बिन सुन्नाबिजी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अल्लाहको भक्त वुजुु गर्दा जब कुल्ला गर्छ उसको मुखबाट पापहरु झर्छ । जब ऊ अनुहार धुन्छ, उसको अनुहारबाट पापहरु झर्छ यहाँसम्म कि उसको परेलाबाट पनि पापहरु झर्छ । जब ऊ हात धुन्छ उसको हातबाट पापहरु झर्छ यहाँसम्म कि उसको नङहरुको मुनिबाट पनि पापहरु झर्छ । जब ऊ टाउकोको मसह गर्छ (टाउकोमाथि हात फेर्छ) टाउकोबाट पापहरु झर्छ यहाँसम्म कि कानहरुबाट पापहरु झर्छ । जब ऊ आफ्नो खुट्टा धुन्छ, उसको खुट्टाबाट पापहरु झर्छ यहाँसम्म कि उसको खुट्टाका औंलाहरुबाट पापहरु झर्छ । त्यसपछि उसको मस्जिद तिर हिँडेर जानाले र नमाज पढ्नाले उसले अतिरिक्त पुण्य प्राप्त गर्छ ।” (मुअत्ता इमाम मालिक, नसई, इब्ने माजा, हाकिम)

३- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “कर्महरु नियतमाथि आधारित छन् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अहमद)

४- उसमान (रजि.) ले वुजुको लागि पानी मगाउनु भयो । पहिले उहाँले तीन पटक आफ्नो हातमा पानी खन्याउनु भयो र त्यसलाई धुनु भयो । अनि भाँडोमा हात हाल्नु भयो र तीन पटक कुल्ला गर्नु भयो, नाकमा पानी हालेर सफा गर्नु भयो र पुरै अनुहार धुनु भयो । अनि तीन पटक कुहिनासम्म दुबै हात धुनु भयो अनि टाउको (र कान) को मसह गर्नु भयो । अनि तीन चोटि गोलीगाँठोसम्म दुबै खुट्टा धुनु भयो अनि भन्नुभयो, “मैले अल्लाहका रसूल (स.) लाई यसरी नै वुजु गरेको देखेको छु । (बुखारी र मुस्लिम)

५- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले आफ्ना दुईवटै हातले आफ्नो टाउकोको मसह गर्नु भयो । उहाँ (स.) ले पहिले दुबै हातलाई अगाडीबाट (निधारतिरबाट) पछाडी घाँटी तिर लिएर जानु भयो अनि फेरि पछाडिबाट अगाडी तिर ल्याउनु भयो जहाँबाट शुरु गर्नु भएको थियो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

६- मुगीरह बिन शुअब (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउकोको अगाडीको भाग, फेटा र मोजामाथि मसह गर्नु भयो । (मुस्लिम)

७- अम्र बिन उमैया (रजि) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई आफ्नो फेटा र मोजामाथि मसह गरेको देखें । (बुखारी, अहमद, इब्ने माजा)

[इमाम औजाई (रह.), अहमद बिन हम्बल (रह.) र अरु धेरै इमामहरुका  अनुसार केवल फेटामाथि मसह गर्ने अनुमति छ जस्तै माथिको हदीसको शाब्दिक अर्थले ज्ञात हुन्छ । सहाबीहरु (रजि.) मध्येबाट अबू बक्र (रजि), उमर (रजि.), अनस (रजि.), अबू उमामा (रजि), सअद बिन मालिक (रजि.) र केही अरु सहाबीहरु (रजि) का अनुसार, ताबिईहरुमध्येबाट उमर बिन अब्दुल् अजीज (रह.), कतादा (रह.), मक्हल (रह.) र केही अरु विद्वानहरुको अनुसार पनि यो सही हो ।

इमाम अबू हनीफा (रह.), सूफ्यान सौरी (रह.), मालिक (रह.) अब्दुल्लाह बिन मुबारक (रह) र शाफिई (रह)को अनुसार केवल फेटामाथि मसह गर्नु सही होइन तर यदि फेटासँग टाउकोमा पनि मसह गरिन्छ भने यो सही हो । यही बिचार सहाबीहरु (रजि) मध्येबाट धेरैको रहेको छ । यिनीहरुको प्रमाण यो हो कि मसह टाउकोमा गर्न अनिवार्य गरिएको छ । जहाँसम्म फेटामा मसह गर्ने हदीसहरुमा फेटाको जिकिर सँगै टाउकोमा मसहको उल्लेख गरिएको होला । तसर्थ जुन कुरामा कुनै सम्भावना छैन त्यसलाई छोडेर त्यस कुरालाई अङ्गाल्न मिल्दैन जसमा अरु पनि सम्भावना छन् । (तिर्मिजी, नैल अल्–औतार)]

८- अब्दुल्लाह बिन उमर (रजि.) भन्छन्, एउटा यात्रामा अल्लाहका रसूल (स.) हामी भन्दा पछाडी रहनु भयो जसको कारणले हामीलाई असरको नमाजको लागि ढिलो भयो । हामी वुजु गर्दा खुट्टामा मसह गर्न थाल्यौं, अल्लाहका रसूल (स.) ले चिच्याएर दुई वा तीन पटक भन्नुभयो, “गोलिगाँठालाई आगोबाट बचाऊ” (अर्थात गोलिगाँठालाई धोऊ मसह नगर) । (बुखारी, मुस्लिम)

९- अबू हुरैरह (रजि.) का भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मेरा उम्मतीहरु (मेरा अनुयायीहरु) लाई कष्ट नहुने भए म वुजु गर्दा हरेक पल्ट मिस्वाक गर्ने आदेश दिन्थें । “(मालिक, शाफिई, हाकिम, बैहकी)

१०- औस बिन औस (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई वुजु गर्दा तीन पल्ट आफ्नो हात (नाडीसम्म) धोएको देखें । (अहमद, नसई)

११- लकीत बिन सबरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जब तिमी वुजु गर्छौ, कुल्ला गर्नु ।” (अबू दाऊद, बैहकी)

१२- अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कोही वुजु गर्छ भने ऊ नाकमा पानी हालोस् र नाकलाई सफा गरोस् ।” (बुखारी, मुस्लिम, अबू दाऊद)

१३- अली (रजि.) ले वुजु्को लागि पानी मगाए । अनि कुल्ला गरे, नाकमा दाहिने हातले पानी हाले र देब्रे हातले नाक सफा गरे र उनले यो काम तीन पल्ट गरे पछि भने, “यही हो अल्लाहका रसूल (स.) को वुजु (को तरिका) ।” (अहमद, नसई)

१४- लकीत (रजि.) भन्छन्, मैले अल्लाहका रसूल  (स.) सँग सोधें, “हे अल्लाहका रसूल ! मलाई वुजुको विषयमा सिकाउनुहोस् । “उहाँ (स.) ले भन्नुभयो, “वुजु पूरा गर, औंलाहरुको बिचमा खिलाल (औंलाहरुको बीचमा अर्को हातका औंलाहरुले मल्नु) गर र नाकमा राम्ररी पानी हाल यदि तिमी रोजा बसेको छैनौं भने ।” (अबू दाऊद, अहमद तिर्मिजी, नसई, इब्ने माजा)

१५- इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “तिमीहरु वुजु गर्दा आफ्ना हात र खुट्टाका औंलाहरुको बीचमा खिलाल(औंलाहरुको बीचको भागमा अर्को हातका औंलाहरुले मल्ने) गर ।” (अहमद, तिर्मिजी, इब्ने माजा)

१६- आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जुत्ता लगाउन, काँईयो गर्न, वुजु गर्न र आफ्ना सम्पूर्ण अन्य कामहरुमा दाहिने तर्फबाट शुरु गर्न मन पराउनु हुन्थ्यो । “(बुखारी, मुस्लिम)

१७- अब्दुल्लाह बिन जैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल(स.) लाई त्यस भाँडामा पानी दिइयो जसबाट उहाँ (स) वुजु बनाउनु हुन्थ्यो । उहाँ (स.) ले वुजु गर्नु भयो र आफ्ना हातहरुलाई मलेर धुन थाल्नु भयो ।” (मुस्नद इमाम अहमद)

१८- अल्लाहका रसूल (स.) को भनाई छ, “कान टाउकोको भाग हो ।” (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)

[कान यद्यपि टाउकोको भाग हो र कानमा टाउकोको सरह नै मसह गरिन्छ तर कानमा मसह गर्नु टाउकोको सरह फर्ज (अनिवार्य) होइन बरु सुन्नत हो ।]

१९- इब्ने अब्बास (रजि.) अल्लाहका रसूल (स).) को वुजु गर्ने तरिका वर्णन गर्दे भन्नु हुन्छ, अल्लाहका रसूल (स.) ले आफ्नो टाउको र कानको मसह एक पल्ट पानी लिएर गर्नु भयो । (अहमद, अबू दाऊद)


२०- अनस (रजि.) को भनाई अनुसार नबी (स.) एक “साअ” (२.०३ लिटर) देखि ५ “मुद” (२.५५ लिटर) पानीले गुस्ल गर्नु हुन्थ्यो र एक “मुद्” (६०० मि.लि) पानीले वुजु गर्नु हुन्थ्यो । (बुखारी र मुस्लिम)



[हनफी बिद्वानहरुका अनुसार एक साअ ३ लिटर र एक मुद् ०.७५ लिटर को हुन्छ ।]



२१- अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार सअ्द (रजि) वुजु गर्दै थिए ।  उनको नजिकबाट नबी (स.) जानुभयो र भन्नुभयो, “हे सअद ! तिमी किन अपव्यय गर्दै छौ (वुजु बनाउन पानी आवश्यकता भन्दा बढी खर्च गर्दैछौ)? सअ्द (रजि.) ले भने, “पानीमा पनि अपव्यय हुन्छ र ?” उहाँ (स.) ले भन्नुभयो, “हुन्छ, यद्यपि तिमी बगेको नदीमा वुजु गर (आवश्यकता भन्दा बढी पानीको खर्च गरेमा त्यहाँ पनि अपव्यय नै हुनेछ) ।” (अहमद, इब्ने माजा)


२२- जैद बिन हारिस (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) माथि अल्लाहको सन्देश अवतरण हुन शुरु भयो, एक दिन जिब्रइल (अ.) अल्लाहका रसूल (स.) समक्ष आए र उहाँ (स.) लाई वुजुको तरिका र नमाज पढ्न सिकाए । अल्लाहका रसूल (स.) ले जब वुजु गरिसक्नुभयो अँजुलीमा पानी लिनुभयो र त्यसले आफ्नो गुुप्ताङ्गको लुगामा छर्कनु भयो । “(मुस्नद इमाम अहमद)



२३- अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले बिलाल (रजि.) लाई भन्नुभयो, “हे बिलाल ! मलाई बताऊ कि तिमीले इस्लाम अङ्गाले पछि कुन पुण्यको काम धेरै मात्रामा गरेको छौ किनकि मैले तिम्रो जुताको आवाज स्वर्गमा सुनें ? बिलाल (रजि.) ले भन्नुभयो, “दिन र रातमा जति बेला पनि म पवित्र हुन्छु (वुजु वा गुस्ल गर्छु) म आफ्नो सामर्थ्य अनुसार जति सक्छु नमाज पढ्छु ।” (बुखारी र मुस्लिम) 


२४- उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये जो कोही वुजु पश्चात यो दुआ पढ्नेछ उसको लागि स्वर्गका आठैवटा ढोकाहरु खोलिने छन् । (स्वर्गमा प्रवेश गर्दा) जुन ढोकाबाट प्रवेश गर्न चाहन्छ उसले प्रवेश पाउनेछ ।

अर्थ : "म गवाही दिन्छु कि अल्लाह बाहेक अरु कोही पूज्य छैन, उनी एक्लै छन् ।  उनको कोही साझेदार छैन र म गवाही दिन्छु कि मुहम्मद (स) उनका भक्त एवं रसूल हुन् ।" (तिर्मिजी, मुस्लिम)

तिर्मिजीमा  उल्लेख भएको हदीसमा यी शब्दहरु बढी उल्लेख भएका छन्ः "हे अल्लाह ! मलाई तौबा गर्नेवालाहरु र पवित्रता अपनाउनेहरुमध्येको बनाइदेऊ ।

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...