१) जाबिर बिन अब्दुल्लाह (रजि.) को भनाई छ कि नबी (स.) समक्ष जिब्रईल (अ.) आए र उहाँ (स.) लाई भने, “आउनुहोस् नमाज पढ्नुहोस ।” जोहरको नमाज उहाँ (स.) ले मध्यान्ह पछि पढ्नुभयो । अनि अस्रको समयमा जिब्रइल (अ.) आए र उहाँ (स.) लाई भने, “नमाज पढ्न उठ्नुहोस् ।” अस्रको नमाज उहाँ (स.) ले त्यतिबेला पढ्नुभयो जब हरेक चिजको छाँया त्यसको बराबर हुन पुग्यो । अनि मग्रिबको समयमा आए र भने, “नमाज पढ्न उठ्नुहोस् ।” मग्रिबको नमाज उहाँ (स.) ले सूर्यास्तपछि पढ्नुभयो । अनि ईशाको समयमा आए र भने, “नमाज पढ्न उढ्नुहोस् ।” ईशाको नमाज झमक्क रातमा पढ्नुभयो । अनि “प्रभात / उषाकाल” मा आए । फेरी अर्को दिन जोहरको समयमा जिब्रइल आए । अल्लाहका रसूल (स.) लाई भने, “नमाज पढ्न उठ्नुहोस ।” जोहरको नमाज उहाँ (स.) ले त्यतिबेला पढ्नुभयो जब सबै चिजको छायाँ त्यसको बराबर हुन पुग्यो । अनि अस्रको समयमा आए र भने, “नमाज पढ्न उठ्नुहोस् । अस्रको नमाज उहाँ (स.) ले हरेक चिजको छायाँ त्यसको दुईगुणा हुँदा पढ्नुभयो । अनि मग्रिबमा त्यहि समय आए जुनबेला पहिलो दिन आएका थिए । अनि ईशाको समयमा आए र (उहाँ स. ले) नमाज रातको आधा भाग वा एक तिहाई भाग बितिसकेपछि पढ्नुभयो । अनि विहानको प्रकाश पुरै फैलिसकेपछि आए र भने, “नमाज पढ्न उठ्नुहोस” र फज्रको नमाज पढ्नुभयो । यस पछि जिब्रइल (अ.) ले भने, “नमाजको समय यी दुबै (समय) को बीचमा रहेको छ ।” (अहमद, नसई, तिर्मिजी)
२) आइशा (रजि.) को भनाई अनुसार मुस्लिम स्त्रीहरु फज्रको नमाज अल्लाहका रसूल (स.) को पछाडि पढ्ने गर्थे । अनि जब उनीहरु फर्केर आउथे अध्याँरोको कारणले उनीहरुलाई चिन्न सकिदैनथ्यो ।
३) राफिअ् बिन खदीज् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “बिहानको नमाज उज्यालोमा पढ किनभने यसमा बढी प्रतिदान प्राप्त हुन्छ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*फज्रको समय प्रभात/ उषाकाल देखि सूर्योदयसम्म रहेको छ । माथिको हदीसबाट यही ज्ञात हुन्छ ।
४) अनस (रजि.) को भनाई छ कि जब जाडो महिना हुन्थ्यो अल्लाहका रसूल (स.) नमाज छिटो पढ्नुहुन्थ्यो र जब गर्मी महिना हुन्थ्यो, नमाज शीतल बनाएर (प्रथम समयभन्दा ढिलो गरेर) पढ्नुहुन्थ्यो ।” (बुखारी)
५) अबू जर (रजि.) भन्छन् कि हामी एक चोटि अल्लाहका रसूल (स.) सँग यात्रामा थियौं । मुअज्जीन (अजान दिने व्यक्ति) ले अजान दिन खोज्यो तर अल्लाहका रसूल (स.) ले भन्नुभयो “शीतल हुन देऊ ।” यस्तो दुई वा तीन पटक भयो यहाँसम्म कि हामीले पहाडको छाँया देख्यौं । अनी उहाँ (स.) ले भन्नुभयो “कडा गर्मी नर्कको आगोको कारणले हो । जब गर्मी कडा हुन्छ नमाजलाई शीतल भएपछि पढ ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी)
**जोहरको नमाजको समय मध्यान्ह पछि सुरु हुन्छ र हरेक वस्तुको छाँया त्यसको आफ्नो लम्बाई जति हुन्जेलसम्म रहन्छ । जस्तै कि जिब्रईल (अ.) द्वारा उल्लेखित हदीसबाट ज्ञात हुन्छ । एउटा यही भनाई इमाम अबू हनीफा (रह.) को पनि छ । तर प्रसिद्ध भनाई अनुसार इमाम अबू हनीफा (रह.) को मस्लक यो हो कि जोहरको अन्तिम समय बस्तुको छायाँ त्यसको दुई गुणा हुन्जेलसम्म रहन्छ । (अल्–कौकब अल्–दर्री)
६) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले सूर्यास्त हुनुभन्दा पहिले अस्रको एक रकअत भेट्यो उसले पुरै अस्र नमाजलाई भेट्यो ।” (बुखारी, मुस्लिम, अबू दाऊद, नसई, अह्मद, तिर्मिजी, इब्ने माजा)
७) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) अस्र नमाज पढ्दा सूर्य माथि नै हुन्थ्यो र चम्किलो हुन्थ्यो । (नमाज पछि) जानेहरु सहर भन्दा बाहिर उकालो चढ्ने ठाउँहरुसम्म पुगेर फर्कन्थे जबकि त्यति बेलासम्म सूर्य माथि नै हुन्थ्यो । केही ठाउँहरु सहरभन्दा चार माइल टाढा थिए ।” (बुखारी र मुस्लिम)
८) शैबान (रजि.) भन्छन्, हामीहरु मदीनामा पुग्यौं त्यहाँ अल्लाहका रसूल (स.) अस्रको नमाज अली अबेर पढ्नुहुन्थ्यो जबकि सूर्यको सेतोपन हुँदैनथ्यो र चमक कम भइसकेको हुन्थ्यो । (अबू दाऊद)
९) उम्मे सलमा (रजि.) भन्छिन्, अल्लाहका रसूल (स.) जोहरको नमाज तिमीहरुको तुलनामा पहिले र अस्रको नमाजलाई तिमीहरुको तुलनामा पछि पढ्नु हुन्थ्यो ।” (तिर्मिजी, उम्दत् अल–कारी)
१०) अनस (रजि.) भन्छन्, मैले अल्लाहका रसूल (स.) लाई यो भन्दै गरेको सुनें “यो मुनाफिक (कपटी) को नमाज हो, ऊ (मुनफिक) सूर्यास्त हुने प्रतिक्षा गर्दछ । यहाँ सम्मकि त्यो (सूर्य) शैतानको दुईवटा सींगको बीचमा हुन्छ अनि उभिएर (अस्रका) चार रकआत फटाफट पढ्छ र ऊ अल्लाह तआलालाई एकदमै थोरै सम्झन्छ ।” (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
***अस्रको नमाजको समय त्यसबेला सुरु हुन्छ जब कुनै बस्तुको छाँया त्यस बस्तु बराबरको हुन्छ जस्तैकि जिब्रइल (अ.) को हदीसबाट ज्ञात हुन्छ । यसको समयावधि सूर्यास्तसम्म हो । अस्रको नमाजलाई प्रथम समयमा (दुई मिस्ल भन्दा पहिले) पढ्नु अफ्जल (उत्तम) हो ।
हनफी विद्वानहरुको अनुसार अस्रको नमाजलाई अली अबेर गरेर पढ्नु उत्तम हो । इमाम मुहम्मद (रह.) भन्नुहुन्छ, “हामीहरुको अनुसार अस्र नमाजलाई अली अबेर गरेर पढ्नु सूर्य चमकिलो हुनु र त्यसमा पहेंलोपन आउनु भन्दा पहिले पढ्नु भन्दा अफ्जल् (उत्तम) रहेको छ किनभने साधारण आसार (सहाबीहरुको भनाई) मा यस्तै उल्लेख भएको छ र यही इमाम अबू हनीफा (रह.) को भनाई छ । (मुअत्ता इमाम मुहम्मद)
११) अब्दुल्लाह बिन अम्र (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मग्रिबको नमाजको समय सूर्यास्त भए पछि देखि शफक हराएसम्म हुन्छ ।” (मुस्लिम)
१२) राफिअ् बिन खदीज (रजि.) को भनाई छ, “हामी अल्लाहका रसूल (स.) सँग मग्रिबको नमाज पढ्थ्यौं । अनि हामीमध्ये जब कोही (नमाज सकाएर) फर्कन्थ्यौं (उज्यालोको कारणले) आफ्नो तीर खस्ने ठाउँलाई हेर्न सक्थ्यो ।” (मुस्लिम)
१३) साइब बिन यजीद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मेरो समुदायमा सबैजना त्यतिबेलासम्म प्रकृती अनुसार हुनेछन् जबसम्म तिनीहरु ताराहरु उदाउनु भन्दा पहिले मग्रिबको नमाज पढ्नेछन् ।” (अह्मद, तबरानी)
****मग्रिबको नमाजको समय सुर्यास्तपछि सुरु हुन्छ र “शफक” हराएपछि समाप्त हुन्छ । “शफक” को अर्थमा मत भिन्नता छ । हनफी विद्वानहरुका अनुसार शफक त्यस सेतोपनको नाम हो जुन पश्चिमतिर सूर्यास्त पछिको रातोपन हटेपछि आउँछ । यस कारणले यिनीहरका अनुसार मग्रिबको समय सेतोपन हराएपछिसम्म रहन्छ । मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार शफक सूर्यास्त पछिको रातोपनको नाम हो । यस कारणले यिनीहरुका अनुसार मग्रिब नमाजको समय रातोपन हराउने बित्तिकै समाप्त हुन्छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
१४) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि मेरा समुदायकाहरुलाई कठिन नहुने भएको भए म उनीहरुलाई इशाको नमाजलाई एक तिहाइ वा आधा रातसम्म सारेर पढ्ने आदेश दिने थिएँ ।” (अह्मद, इब्ने माजा, तिर्मिजी)
१५) आइशा (रजि.) को भनाई अनुसार सहाबीहरु (रजि.) इशाको नमाजलाई शफक हराएपछि देखि एक तिहाइ रातसम्म पढ्ने गर्दथे । (बुखारी)
१६) अबू बर्जा अस्लमी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इशाको नमाजलाई एक तिहाई रातसम्म अबेर गर्न मन पराउनु हुन्थ्यो अनि इशाको नमाज भन्दा पहिले सुत्नु र पछि कुराकानी गर्न मन पराउनु हुन्थ्यो ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)
१७) इब्ने उमर (रजि.) को भनाई छ कि नबी (स.) अबू बक्र (रजि.) कोमा राती कुराकानी गर्नुहुन्थ्यो र म उनीहरुसँगै हुन्थे र यो कुराकानी मुस्लिमहरुको विषयमा हुन्थ्यो ।” (अह्मद, तिर्मिजी)
१८) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “निद्रामा हुनु हेलचक्रयाइँ गर्नु होईन । हेल चक्रयाई गर्नु भनेको अर्को नमाजको समय भई सक्दा पनि अगाडिको नमाज नपढ्नु हो । (मुस्लिम)
*****यस हदीसबाट ज्ञात हुन्छ कि प्रत्येक नमाजको समय त्यसपछिको नमाजको समय सुरु हुने समयसम्म रहेको छ तर फज्रको नमाजको समय सूर्योदय सँगै समाप्त हुन्छ । यस विषयमा सबैको सहमति छ । (बिदायत् अल्–मुज्तहिद)
इशाको नमाजको समय शफक हराएपछि सुरु हुन्छ अनि आघा रात वा एक तिहाई रात सम्म रहन्छ । यो कुरा जिब्रईल (अ.) द्वारा जिकिर भएको हदीसबाट ज्ञात हुन्छ । तर बाध्यता अथवा कुनै कारणले गर्दा फज्रको नमाज सुरु हुने समयसम्म इशा नमाज पढ्न सकिन्छ ।
टिप्पणियाँ