१) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जब रमजान महिना आउँदछ, तब आकाशहरूका ढोकाहरू खोलिदिइन्छन् । (अर्को रिवायातमा भनिएको छ कि स्वर्गका ढोकाहरू खोलिदिइन्छन् र नर्कका ढोकाहरू बन्द गरिदीइन्छन र शैतानहरूलाई कैदमा राखिन्छ) (र अर्को रिवायतमा भनिएको छ कि रहमतका ढोकाहरू खोलिन्छन् ।) (बुखारी र मुस्लिम)
२) हजरत सहल बिन सअद (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जन्नतमा आठवटा ढोकाहरू छन् जस मध्ये एउटा धोकाको नाम 'रय्यान' हो । त्यस धोकाको (स्वर्गमा) केवल रोजा राख्नेहरु मात्र प्रवेश गर्ने छन् ।" (बुखारी र मुस्लिम)
३) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "जसले रमजान महिनाको रोजा राख्यो ईमानका साथ र एह्तेसाब (अल्लाहलाई प्रसन्न पर्न) का साथ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन् । र, जसले रमजान महिनामा कयाम (रातमा उठेर उपासना ) गर्यो ईमानका साथ र एह्तेसाबका साथ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन । जसले कद्रको रात (लैलतुल कद्र) मा कयाम गर्यो ईमानका साथ र एह्तेसाबका साथ उसका अतीतका (सानातिना) पापहरु माफ गरिनेछन ।" (बुखारी र मुस्लिम)
४) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "आदमका सन्तानको हरेक कार्यलाई उसको लागि धेरै गुणा सम्म बढाइन्छ, यहाँसम्म कि एक पुण्यलाई १० गुणा देखि ७०० गुणासम्म बढाइन्छ । तर अल्लाह भन्छन 'रोजाको मामिला भिन्न रहेकोछ किनभने यो मेरो लागि हो र म नै यसको प्रतिदान दिनेछु । रोजा राख्ने व्यक्ति आफ्नो शहवत (कामवासना) लाई र खान पिउन मेरो लागि त्याग गर्दछ।' रोजा राख्ने व्यक्तिलाई दुईवटा खुशीका पलहरु रहेकाछन । एउटा खुशीको पल इफ्तार (रोजा खोल्ने कार्य) को र दोस्रो खुशीको पल आफ्नो पालनकर्तासंगको भेट र रोजा राख्ने व्यक्तिको मुखको गन्ध अल्लाहलाई मुस्कको बास्नाभन्दा बढि मनपर्छ। रोजा सुरक्षा कवज हो । तसर्थ तिमी मध्ये जसले रोजा राखेको छ उसले न त नराम्रो वानी (अपशब्द) मुखबाट निकलोस र न फसाद मच्चाओस (चोरी, डकैती र हत्या जस्ता कार्यहरु नगरोस) । यदि कोहि व्यक्ति उसलाई गाली गर्छ र उसंग झगडा गर्ने प्रयास गर्छ भने उसले भनोस कि मैले रोजा राखेको छु ।" (बुखरी र मुस्लिम)
*मुखको गन्ध भनेको पेट खाली भएको कारणले आउने गन्ध हो । गिजा वा दांतबाट आउने गन्ध होइन ।
५) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "निश्चय नै अल्लाह इफ्तारको समयमा धेरैजनालाई (नरकको दन्कदो आगोबाट) मुक्त गर्दछन र यो क्रम रमजान महिनाको अन्तिम रातसम्म चलिरहन्छ ।" (इब्नेमाजा)
६) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "तिमी समक्ष रमजान आयो, यो पबित्र महिना हो । अल्लाहले यसको रोजा तिमीमाथि अनिवार्य गरेका छन् । यस महिनामा स्वर्गका ढोकाहरु खोलिन्छन् र नरकका ढोकाहरु बन्द गरिन्छन् र शैतानहरु सिक्रीमा बाँधिन्छन् । यसमा एउटा रात एस्तो छ जुन हजार महिनाभन्दा उत्तम रहेको छ । जो व्यक्ति यस रातको पुण्यबाट बन्चित रह्यो, ऊ पुण्य प्रप्तिबाट वन्चित रह्यो ।" (नसई)
७) हजरत अब्दुल्लाह बिन अम्र (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "रोजा र कुरआन भक्तको लागि शिफारिश गर्दछन् । रोजा भन्छ कि हे मेरा पालनकर्ता! मैले उसलाई दिनभरि खान र शहवासबाट रोकिराखें, त उसको हकमा मेरो शिफारिस स्वीकार गर । र, कुरआन भन्छ कि मैले उसलाई रातमा सुत्नबाट रोकिराखें, त मेरो शिफारिस उसको हकमा स्वीकार गर । ती दुबैको शिफारिसलाई स्वीकारिने छ ।" (बैहकी)
८) हजरत अबू हुरैरह (रज़ियल्लाहु अन्हु) को भनाई छ कि अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, "रमजानको अन्तिम रातमा मेरो उम्मत (अनुयायीहरू) लाई माफ गरिदिइन्छ ।" उपस्थित सहाबाहरूले सोधे- हे अल्लाहका रसूल! के यो नै कद्र्को रात हो? वहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफ दिनुभयो, "होइन, बरू मजदूरलाई उसको मजदुरी त्यति बेला दिइन्छ जब उसको काम पुरा हुन्छ ।" (अहमद)
टिप्पणियाँ