रफ्ऐ यदैन (दुबै हात उठाउनु)
१) इब्ने उमर (रजि.) भन्छन् “अल्लाहका रसूल (स.) नमाजको लागि उभिंदा आफ्नो काँधसम्म रफ्ऐ यदैन गर्नुहुन्थ्यो, अनि तक्बीर (अल्लाहु अकबर) भन्नुहुन्थ्यो । रुकू गर्नेबेला त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र रुकूबाट उठ्दा पनि त्यसरी नै रफ्ऐ यदैन गर्नुहुन्थ्यो र “समिअल्लाहु लिमन् हमिदह् रब्बना लकल् हम्द” भन्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, बैहकी)
*बुखारीमा यो वाक्य बढी उल्लेख भएको छः “र उहाँ (स.) सज्दाको लागि जाँदा र सज्दाबाट उठ्दा रफ्ऐ यदैन गर्नुहुन्नथ्यो । “बैहकीमा यो वाक्य बढी उल्लेख भएको छ: यसरी नै उहाँ (स.) ले आफ्नो अन्तिम समयसम्म नमाज पढ्नुभयो ।”
२) नाफिअ् (रजि.) भन्छन्, इब्ने उमर (रजि.) दोस्रो रकअत सकेर उठ्दा तेस्रो रकअतको सुरुमा रफ्ऐ यदैन गर्नुहुन्थ्यो र उनले भने, “अल्लाहका रसूल (स.) पनि यसरी नै गर्नुहुन्थ्यो ।” (बुखारी, अबू दाऊद, नसई)
*हनफी विद्वानहरुका अनुसार “अल्लाहु अक्बर” भन्दा कानसम्म हात उठाउनुपर्छ । पुरुषहरुले औंलहरुलाई फिंजाएर कानसम्म उठाउनुपर्छ र स्त्रीहरुले काधँसम्म उठाउनुपर्छ । मालिकी र हम्बली विद्वानहरुका अनुसार “अल्लाहु अकबर” भन्दा स्त्रीहरुले औंलाहरु फिंजाएर काँधसम्म हात उठाउनुपर्छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
इमाम शाफिई (रह.) ले माथिको दुबै हदीसलाई मिलाएर दुबै हदीस अनुसार अमल गर्ने तरिका उल्लेख गरेका छन् । उनको भनाई अनुसार यसरी हात उठाउनुपर्छ कि हत्केलालाई काँधको बराबर राख्नुपर्छ, बुढी औंलालाई कानको लोती बराबर राख्नुपर्छ र औंलाहरुलाई कानको बराबर राख्नुपर्छ । यसै तरिकालाई अधिकतर मुहद्दिसहरुले अपनाएका छन् ।
३) अबू हुरैरह (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) नमाजको लागि उभिंदा औंलाहरुलाई फिंजाएर उठाउनु हुन्थ्यो । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
*हनफी, शाफिई र हम्बली विद्वानहरुका अनुसार औंलाहरुलाई फिंजाएर हत्केलालाई किब्ला तर्फ फर्काउनुपर्छ र मालिकी विद्वानहरुका अनुसार आकाशतिर फर्काउनु सुन्नत हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
दाहिने हातलाई (हत्केलालाई) देब्रे हात (नाडी वा पाखुरा) माथि राख्ने
४) हसन बिन सअ्द (रजि.) को भनाई अनुसार सहाबीहरुलाई नमाजमा आफ्नो दाहिने हात (हत्केला) लाई देब्रे पाखुरामाथि राख्ने आदेश दिइन्थ्यो । (बुखारी र अहमद)
५) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एक जना नमाज पढिरहेको व्यक्तिको नजिकबाट जानुभयो जो आफ्नो देब्रे हातलाई दाहिने हातमाथि राखेर नमाज पढिरहेको थियो । उहाँ (स.) ले उसको देब्रे हातलाई हटाएर दाहिने हातलाई देब्रे हातमाथि राखिदिनुभयो ।” (अह्मद)
*मालिकी विद्वानहरु बाहेक सबैको यही मस्लक हो । मालिकी बिद्वानहरुमध्ये पनि केहीको यही मस्लक हो तर यिनीहरु मध्ये अधिकतरको मसलक यो हो कि नमाजमा हातलाई एक अर्का माथि नराखिकन यतिकै सिधा राख्ने जस्तै कौमाको अवस्थामा हुन्छ । इमाम मालिक (रह.) द्वारा यस विषयमा दुईवटा भनाईहरु उल्लेख छन् । एउटा छाती भन्दा तल र नाइटो भन्दा माथि हात राख्ने र अर्को इर्साल (अर्थात कौमामा जस्तै हातलाई सीधा छोडेर राख्ने) को तर मालिकी विद्वानहरु मध्ये अधिकतमको भनाई इर्साल को हो । यिनीहरुको प्रमाण जाबिर (रजि.) द्वारा उल्लेखित यो हदीस हो जस अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयोः “मलाई के भयो कि म तिमीलाई हात उठाएको देख्छु मानौं त्यो घोडाको पुच्छर हो ? (यसो नगर बरु) नमाजमा संयमता अपनाऊ ।” (अबू दाऊद, मुस्लिम)
तर अरु विद्वानहरु भन्छन् यस हदीसको अर्थ छाती वा नाईटोमा हात राख्न अल्लाहका रसूल (स.) द्वारा मनाही गरिएको छैन बरु उहाँ (स.) को यस भनाईको कारण जाबिर (रजि.) द्वारा उल्लेखित अर्को हदीस हो “अल्लाहका रसूल (स.) को पछाडि नमाज पढ्दा हामी “अस्सलामु अलैकुम् व रह्मतुल्लाह, अस्सलामु अलैकुम् व रह्मतुल्लाह” भन्दा दुवैतिर हातले इशारा गर्ने गथ्र्यौ । उहाँ (स.) ले हामीलाई भन्नुभयो “मलाई के भयो .............।” (मुस्लिम, नैल अल्– औतार)
६) हुल्ब ताई (रजि.) को भनाई छ, “मैले अल्लाहका रसूल (स.) को दाहिने हात (हत्केला) देब्रे हातको नाडीमाथि र (दुबै हातलाई) छातीमाथि राखेको देखें । (अहमद, तिर्मिजी)
७) अली (रजि.) भन्छन्, “हातलाई हातमाथि र नाइटो भन्दा मुनि राख्नु सुन्नत हो।” (अबू दाऊद, अह्मद, इब्ने अबी शैबा, दार कुत्नी, बैहकी)
८) जरीर अद्–दबी (रजि.) को भनाई छ “मैले अली (रजि.) लाई नाइटो भन्दा माथि हात राखेको देखें ।” (अबू दाऊद)
*हात कहाँ राख्ने भन्ने बारेमा सलफको तीन मस्लक रहेको छः
१) छातीमा हात राख्नु
२) नाइटो भन्दा माथि हात राख्नु
३) नाइटो भन्दा मुनि हात राख्नु
*दाहिने हातलाई देब्रे हातमाथि राख्ने सम्बन्धमा धेरै हदीसहरु उल्लेख भएका छन् तर दुबै हात छातीमा राख्ने वा नाइटोभन्दा माथि राख्ने वा नाइटोभन्दा मुनि राख्ने भन्ने विषयमा कुनै पनि सही हदीस उल्लेख भएको छैन । प्रत्येक हदीसमा कुनै न कुनै कारणले कमजोरी पाइन्छ । र यसै कारणले सलफका अनुसार ती तीनवटै तरिका मध्ये सबै गर्न हुने बिचारधारा थियो र यस्तै इमाम तिर्मिजी (रह.) को भनाई रहेको छ ।
**हनफी विद्वानहरुका अनुसार पुरुषले हातलाई नाइटोभन्दा मुनि राख्नुपर्छ र स्त्रीहरुले छातीमा राख्नुपर्छ । हम्बली विद्वानहरुका अनुसार पुरुष र स्त्री दुबैले नाइटोभन्दा मुनि हात राख्नुपर्छ । शाफिई विद्वानहरुका अनुसार पुरुष र स्त्री दुवैले छाती भन्दा मुनि र नाइटो भन्दा माथि अलि देब्रेतिर हात राख्नुपर्छ । (अल् फिक्ह अला अल्– मजाहिब् अल्–अर्बआ) । अह्ले हदीस विद्वानहरु छातीमा हात राख्ने जिकिर भएको हदीसलाई मर्फूअ् भएको कारणले अरु हदीसहरु तुलनामा यस हदीसलाई प्राथमिकता दिन्छन् । यस कारणले उनीहरुको अनुसार छातीमा हात राख्नु अफ्जल् (उत्तम) हो । (तुह्फत् अल्–अहवजी)
प्रारम्भिक दुआ वा सना अर्थात सूरह फातिहा भन्दा पहिलेको दुआ
९) अबू हुरुैरह् (रजि.) भन्छन्, “अल्लाहका रसूल (स.) नमाजमा ‘अल्लाहु अकबर’ भनेपछि किराअत (सूरह फातिहा) पढ्नु भन्दा पहिले केही बेर मौन रहनुहुन्थ्यो । एकदिन मैले सोधें, हे अल्लाहका रसूल ! मेरा बाबुआमा तपाई प्रति समर्पित, तक्बीर (अल्लाहु अकबर भन्नु) र किराअत (सूरह फातिहा पढ्नु) बीचमा तपाई मौन रहनुहुन्छ, मलाई भन्नुहोस् कि त्यतिबेला तपाई कुन दुआ पढ्नुहुन्छ । उहाँ (स.) ले भन्नुभयो “म यो दुआ पढ्छुः
अर्थः हे अल्लाह ! मेरो र मेरा पापहरुको बीचमा अन्तर बनाइदेऊ जसरी तिमीले पूर्व र पश्चिमको बीचमा अन्तर बनाएका छौं । हे अल्लाह ! मलाई पापहरुबाट पवित्र तुल्याइदेऊ जसरी सेतो वस्त्र मैलोबाट सफा पारिन्छ । हे अल्लाह मलाई मेरा पापहरुबाट हिउँ, पानी र असीनाले पवित्र पारिदेऊ । (इब्ने माजा)
१०) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज सुरु गर्दा (अल्लाहु अकबर भन्नु हुन्थ्यो र) यो दुआ पढ्नुहुन्थ्योः
अर्थः मैले बिशुद्ध आज्ञापालनका साथ आफ्नो अनुहारलाई त्यस अस्तित्वतर्फ फर्काएको छु । जसले आकाशहरु र यस धर्तीको सृजना गरेका छन् र म बहुदेवबादीहरु मध्येको होइन । निस्सन्देह मेरो नमाज, मेरो बलिदान, मेरो जीवन र मेरो मृत्यु अल्लाहका लागि हुन् जो सम्पूर्ण संसारका पालनकर्ता हुन्, उनको कोही साझेदार छैन । मलाई यसकै आदेश दिइएको छ र म आज्ञापालन गर्नेहरु मध्येको हुँ । हे अल्लाह ! तिमी नै मालिक हौ र तिमी बाहेक कोही उपास्य छैन । तिमी मेरो पालनकर्ता हौ र म तिम्रो भक्त हुँ । मैले आफूमाथि अत्याचार गरेको छु र आफ्ना पापहरुलाई स्वीकार गर्दछु । तसर्थ तिमी मेरा सम्पूर्ण पापहरुलाई क्षमा गरिदेऊ । तिमी बाहेक अरु कोही पापहरुलाई क्षमा गर्ने सामथ्र्य राख्दैन । मलाई उच्च आचरण प्रदान गर । उच्च आचरण प्रदान गर्ने सामथ्र्य केबल तिमीमा छ । मलाई नराम्रो आचरणबाट फेरीदेऊ । तिमी बाहेक कोही पनि नराम्रा आचरणबाट फेर्ने शक्ति राख्दैन । हे अल्लाह ! म हाजिर छु र तिम्रो इशाराले उपस्थित भएको छु । सम्पूर्ण भलाई तिम्रो हातमा छ । नराम्रो तिम्रो तर्फबाट हो भन्नु उचित होइन । म तिम्रो कारणले हुँ र तिम्रो निकट हुन चाहन्छु । तिमी पवित्र छौ, सर्वोच्च छौ । म तिमीबाट आफ्ना पापहरुको क्षमा प्रार्थि छु र तिम्रो अगाडि तौबा गर्दछु । (अह्मद, मुस्लिम, तिर्मिजी, अबू दाऊद, नसाई, इब्ने माजा)
*(अल्लाहु अकबर भन्नु हुन्थ्यो र) यी शब्दहरु केवल अबू दाऊदमा उल्लेख छन् । अरु हदीसका सङ्ग्रहहरुमा यी शब्दहरु उल्लेख छैनन् त्यसैले यो शंका उत्पन्न हुन्छ कि “वज्जह्तु वज्हिय” दुआ नमाज सुरु गर्नु अघिको हो । तर अबू दाऊदका शब्दहरुले यो शंका हट्छ ।
११) उमर (रजि.) “अल्लाहु अकबर” भने पछि यो दुआ पढ्थे ः
अर्थः हे अल्लाह ! तिमी पवित्र छौ र म तिम्रो प्रशसां गर्दछु । तिम्रो नाम बर्कतयुक्त छ, तिम्रो सम्मान सर्वोच्च रहेको छ र तिमी बाहेक अरु कोही उपास्य छैन । (मुस्लिम, दार कुत्नी, तिर्मिजी)
*इमाम इब्ने कैयम (रह.) लेख्नुहुन्छ “यो प्रमाणित छ कि उमर (रजि.) ले अल्लाहका रसूल (स.) को ठाउँमा आफ्नो नमाजमा यो दुआ पढ्नु हुन्थ्यो र सबैलाई सिकाउनु हुन्थ्यो । यस कारणले यो प्रमाणित हुन्छ कि माथिको हदीसको स्रोत अल्लाहका रसूल (स.) सम्म पुग्छ ।
तअव्वुज् अर्थात “अऊजु बिल्लाह” पढ्नु
*प्रारम्भिक दुआ पछि “अऊजु बिल्लाह” पढ्नु मुस्तहब हो । अल्लाह तआलाको भनाई छ, “र, तिमी कुरआनको पाठ सुरु गर्दा तिरस्कृत शैतानबाट अल्लाहको शरण माग्ने गर (“अऊजु बिल्लाह” पढ्ने गर) । (सूरह अन्–नह्ल : ९८)
१२) नाफिअ् बिन जुबैर (रजि.) को भनाई छ, (प्रारम्भिक दुआ पढे पछि) अल्लाहका रसूल (स.) ले “अल्लाहुम्म अऊजु बिक मिनश् शैतानिर् रजीम” पढ्नुभयो ।” (अह्मद, अबू दाऊद, इब्ने माजा, इब्ने हिब्बान)
१३) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दोस्रो रकअतको लागि उभिंदा “अल्हम्दु लिल्लाहि रब्बिल् आलमीन” बाट कुरआनको बाचन सुरु गर्नुहुन्थ्यो र मौन रहनुहुन्नथ्यो । (मुस्लिम)
*मालिकी विद्वानहरुका अनुसार फर्ज नमाजमा “अऊजु बिल्लाह” पढ्नु मक्रुह हो र नफ्ल नमाजमा पढ्ने अनुमति छ । हम्बली र हनफी विद्वानहरुका अनुसार केवल पहिलो रकअतमा “अऊजु बिल्लाह” पढ्नु सुन्नत हो । शाफिई विद्वानहरुका अनुसार प्रत्येक रकअतमा “अऊजु बिल्लाह” पढ्नु सुन्नत हो । (अत्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
*काजी शैकानी (रह.) लेख्नुहुन्छ “सुन्नतबाट (अल्लाहका रसूल (स.) द्वारा) प्रमाणित भएको कार्यलाई नै पर्याप्त जान्नुमा नै सावधानी रहेको छ अर्थात “अऊजु बिल्लाह” लाई केवल पहिलो रकअतमा मात्र पढ्नुपर्छ । (नैल् अल औतार)
“आमीन” भन्नु
१४) नईम अल–मुजम्मिर (रजि.) को भनाई छ, मैले अबू हुरैरह् (रजि) को पछाडि नमाज पढें, पहिले उनले बिस्मिल्लाहिर् रह्मानिर् रहीम” पढे अनि सूरह फातिहा । उन (अबू हुरैरह् (रजि)) ले “वलद् दाल्लीन” पढेपछि “आमीन” भने र पछाडि नमाज पढ्नेहरुले पनि “आमीन” भने । सलाम फेरेपछि अबू हुरैरह (रजि.) ले भने, “त्यस अस्तित्वको कसम जसको हातमा मेरो प्राण छ, मेरो नमाज (मैले पढेको नमाज) तिमीहरुको नमाजभन्दा बढी अल्लाहका रसूल (स.) को नमाजसित मेल खान्छ । (बुखारी फी अल्–तअ्लीकात, नसई, इब्ने खुजैमा, इब्ने हिब्बान, इब्ने शिहाब)
*अता (रह.) भन्नु हुन्छ “मैले यस मस्जिदमा २०० जना सहाबीहरु (रजि) सँग भेटेको छु । इमामले (नमाजमा) “वलद् दाल्लीन” भनेपछि उनीहरु (सहाबीहरु) को आमीनको आवाजले मस्जिद गुँजेको सुन्थें ।”
१५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यहुदीहरु तिमीहरुले (एक आर्कोलाई भेट्दा) सलाम गर्ने र इमामको पछाडि नमाज पढ्दा आमीन भन्ने कार्य भन्दा बढी अरु कुनै कार्यको ईर्ष्या गर्दैनन् । (अह्मद्, इब्ने माजा)
१६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “इमामले आमीन भन्दा तिमीहरु पनि आमीन भन किनभने जसको आमीन भनेको स्वर फरिश्ताहरुले आमीन भनेको स्वरसँग मिल्छ उसका अतीतका (साना) पापहरु लाई क्षमा गरिनेछ ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*“आमीन” भन्ने विषयमा कुनै मत भिन्नता छैन । मत भिन्नता त केवल ठूलो स्वरले आमीन भन्ने कि सानो स्वरले भन्ने विषयमा मात्र रहेको छ । शाफिई, हम्बली विद्वानहरु र साधारण अह्ले हदीस विद्वानहरुको मस्लक माथि वर्णन भए अनुसार नै हो । मालिकी विद्वानहरुको अनुसार जह्री नमाज (ठूलो स्वरले पढिने नमाज) मा इमामले सानो स्वरले अमीन भन्ने र मुक्तदीहरुले ठूलो स्वरले अमीन भन्ने । (अल्–फिक्ह अला अल्–मजाहिब अल्– अर्बआ) ।
*हनफी विद्वानहरु र कूफाका अरु फकीहहरु (विधिशास्त्रीहरु) का अनुसार कुनै पनि अवस्थामा सानो स्वरमा नै आमीन भन्ने । यस विषयमा उनीहरुको प्रमाण यो छ कि केही आयतहरु र हदीसहरुमा अल्लाह तआलालाई सानो स्वरले बोलाउनु र उसको गुणगानलाई सानो स्वरले गुर्न उत्तम हो भन्ने उल्लेख भएको छ । (अल्–तअलीक अल्–सबीह) (अल्–फत्ह अल–रब्बानी)
*त्यसरी नै उनीहरुको प्रमाण इब्ने वाइल (रह.) द्वारा उल्लेखित हदीस पनि हो जसमा उल्लेख भए अनुसार “उमर (रजि) र अली (रजि.), बिस्मिल्लाह, अऊजु बिल्लाह र आमीन ठूलो स्वरले भन्दैनथे ।” (तहावी) त्यसरी नै तिर्मिजीमा शुअ्बा (रह.) वाइल बिन हजर (रह.) उल्लेख गर्नु हुन्छ, “अल्लाहका रसूल (स.) ले सानो स्वरले आमीन भन्नुभयो ।”
*मत भिन्नताको कारण यो हो कि मुहद्दिसहरुका अनुसार इब्ने वाइल (रह.) र शुअ्बा (रह.) को माथि उल्लेखित दुबै हदीसहरु कमजोर छन् । वाइल बिन हजर (रह.)को हदीसलाई अरु रावीहरुले उल्लेख गरेका छन् र त्यसमा “सानो स्वारले आमीन भन्नुभयो” को सट्टा “लामो स्वरले आमीन भन्नुभयो” उल्लेख भएको छ (तिर्मिजी) । मुहद्दिसहरु दोस्रो हदीसलाई शुअ्बा (रह.) द्वारा उल्लेख हदीसको तुलनामा बढी सही भएको मान्छन् र त्यसमा “लामो गर्ने” को अर्थ “ठूलो स्वरले भन्ने” लिन्छन् र हनफी विद्वानहरु दुबै हदीसहरुलाई मिलाएर “लामो गर्ने” को अर्थ “सानो स्वरले भन्ने” लिन्छन् । (तुह्फत् अल्–अह्वजी, अल्–कौकब अल्–दुर्री)
सूरह फातिहा पछि कुरआनको केही भाग पढ्नु
१७) अबू सईद (रजि.) को भनाई छ,अल्लाहका रसूल (स.) ले हामीलाई सूरह फातिहा पढ्ने र त्यससँगै कुरआनको त्यो भाग पनि पढ्ने आदेश दिनुभएको छ जुन हाम्रो लागि सजिलो हुन्छ । (अबू दाऊद)
१८) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) जोहरको नमाजको पहिला दुई रकअतमा सूरह फातिहा र दुईवटा सूरहहरु पढ्नुहुन्थ्यो र अन्तिम दुई रकअतमा केवल सूरह फातिहा पढ्नुहुन्थ्यो र कहिले काही हामीलाई कुनै सूरह सुनाउनुहुन्थ्यो । उहाँ (स.) पहिलो रकअतलाई दोस्रो रकअतको तुलनामा लामो पढ्नुहुन्थ्यो । यसरी नै अस्र र फज्रको नमाजमा पनि उहाँ (स.) पहिलो रकअतलाई दोस्रो रकअतको तुलनामा लामो पढ्नुहुन्थ्यो ।” (बुखारी, मुस्लिम, अबू दाऊद)
*फज्रको फर्ज़ नमाज र शुक्रबारको फर्ज़ नमाजको दुबै रकअतमा, जोहर, अस्र, मग्रिब र इशाको फर्ज़ नमाजका पहिला दुई रकअतमा र सुन्नत र नफ्ल नमाजहरुका सम्पूर्ण रकअतहरुमा सूरह फातिहा पछि अर्को कुनै सूरह वा कुरआनका केही आयतहरु पढ्नु सुन्नत हो ।
*हनफी विद्वानहरु बाहेक अरु विद्वानहरुका अनुसार सूरह फातिहा पछि कुरआनको केही भाग पढ्नु सुन्नत हो । हनफी विद्वानहरुको अनुसार वाजिब हो । (कबीरी, शामी) उनीहरुको प्रमाण माथिका हदीसहरु पनि हुन् र अबू सईद (रजि.) द्वारा उल्लेखित हदीस पनि हो जस अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले नमाजको प्रत्येक रकअतमा सूरह फातिहा र त्यससँग अर्को सूरह पढेन उसको नमाज मान्य हुँदैन ।” (इब्ने माजा) । (यो हदीस सही हदीस होइन र अरु विद्वानहरुका अनुसार यो हदीस विश्वसनीय छैन र यही नै मत भिन्नताको कारण हो)
१९) अबू सईद (रजि.) भन्छन्,“जोहरको नमाज सुरुभएपछि (नमाजको तयारीको लागि) जाने व्यक्ति ‘बकीअ्’ जान्थ्यो, शौच गरेर घर गएर वुजु गर्थ्यो अनि अल्लाहका रसूल (स.) सँग पहिलो रकअतमा नै सामेल हुन्थ्यो किनभने उहाँ (स.) को कुरआन पाठ लामो हुन्थ्यो । (मुस्लिम)
२०) हुजैफा बिन यमान (रजि.) को भनाई छ,“एक रात मैले अल्लाहका रसूल (स.) सँग नमाज पढें । उहाँ (स.) ले सूरह अल्–बकरह् पढ्न सुरु गर्नुभयो । मैले सोँचे कि १०० आयतहरु पढेर रुकू गर्नुहुन्छ तर उहाँ (स.) ले पढिराख्नुभयो । मैले सोचें कि सूरह सके पछि रुकू गर्नुहुन्छ तर उहाँ (स.) ले त्यसपछि सूरह आले–इम्रान पढ्न सुरु गर्नुभयो । पूरै सूरह सके पछि उहाँ (स.) ले सूरह अन्–निसा पढ्न सुरु गर्नुभयो । उहाँ (स.) आरामले विस्तारै कुरआनको वाचन गर्नुहुन्थ्यो । अल्लाहको महिमागान गरिएको आयत आउँदा उहाँ (स.) “सुब्हान अल्लाह” भन्नुहुन्थ्यो । अनुरोध उल्लेख भएको आयत आउँदा उहाँ (स.) अनुरोध गर्नुहुन्थ्यो । शरण माग्ने आयत आउँदा उहाँ (स.) शरण माग्नुहुन्थ्यो । (मुस्लिम)
सूरह फातिहा र पूरै कुरआन पाठ सकेपछि मौन रहनु
२१) समुरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दुई ठाँउमा मौन रहनु हुन्थ्यो । पहिलो स्थान जब अल्लाहका रसूल (स.) नमाज सुरु गर्नुहुन्थ्यो र दोस्रो स्थान जब उहाँ (स.) पूरै कुरआन पाठ सकाउनु हुन्थ्यो । अर्को हदीसमा उल्लेख भएको छ “पहिलो मौनता जब अल्लाहका रसूल (स.) “अल्लाहु अकबर” भन्नुहुन्थ्यो र दोस्रो मौनता जब उहाँ (स.) “गैरिल् मग्दूबि अलैहिम् वलद्दाल्लीन” भन्नुहुन्थ्यो । (अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
*मालिकी र हनफी बिद्वानहरुका अनुसार (सूरह फातिहा र पूरा कुरआन पाठ पछि) दोस्रो मौनता मक्रुह हो । (अल्–फत्ह अल्–रब्बानी) । हनफी विद्वानहरु (र लगभग मालिकी बिद्वानहरुको पनि) प्रमाण यो छ कि दोस्रो मौनतासँग सम्बन्धित हदीसमा कमजोरी छ र त्यसको “गैरिल् मग्दूबि अलैहिम् वलद्दालीन” पछि हुनुको उल्लेख केवल समुरह (रजि.) द्वारा उल्लेखित हदीसमा भएको छ । (बज्ल अल्–मज्हूद)
तक्बीराते इन्तिकाल (नमाजको एक अवस्थाबाट अर्को अवस्थामा जाँदा अल्लाहु अकबर भन्नु)
२२) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज सुरु गर्दा “अल्लाहु अकबर” भन्नुहुन्थ्यो । अनि रुकू गर्दा “अल्लाहु अकबर” भन्नुहुन्थ्यो । अनि रुकूबाट उठ्दा “समिअल्लाहु लिमन् हमिदह्” (अल्लाहले त्यस व्यक्तिको कुरा सुने जसले उनको प्रशंसा गर्यो) भन्नु हुन्थ्यो । अनि कौमा (रुकुबाट उठिसकेपछि सीधा उभिने अवस्था) मा “रब्बना लकल् हम्द” (हे हाम्रा पालनकर्ता ! सम्पूर्ण प्रशंसा तिम्रै लागि हुन्) भन्नुहुन्थ्यो । अनि सज्दाबाट उठेर बस्दा “अल्लाहु अकबर” भन्नुहुन्थ्यो । दोस्रो रकअतबाट उठ्दा “अल्लाहु अक्बर” भन्नुहुन्थ्यो । अनि नमाज समाप्त भएसम्म सम्पूर्ण रकअतहरुमा अल्लाहका रसूल (स.) यस्तै गर्नुहुन्थ्यो । यस संसारबाट बिदा नभएसम्म उहाँ (स.) ले यसरी नै नमाज पढ्नुभयो । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद)
*हम्बली विद्वानहरुको अनुसार तक्बीराले इन्तिकाल वाजिब हो । (अल्–फिक्ह अला अल्–मजाहबि अल्–अर्बआ)
रुकू गर्ने तरिका र यसमा पढिने दुआ
२३) उक्बा बिन अम्र (रजि.) ले नमाज पढ्दा आफ्ना दुबै कुहिनालाई शरीरबाट पर राखे, दुबै हातलाई घुंडामा राखेर औँलाहरुलाई फिजाए अनि भने “मैले अल्लाहका रसूल (स.) लाई यसरी नै नमाज पढेको देखेको छु ।” (अह्मद, अबू दाऊद, नसई)
२४) अबू हुमैद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) रुकू गर्दा सीधा हुनुहुन्थ्यो । टाउकोलाई न त माथितिर उठाउनु हुन्थ्यो र न तलतिर झुकाउनु हुन्थ्यो र आफ्ना हातलाई घुंडामा राख्नु हुन्थ्यो । (नसई) । रुकू गर्दा “सुब्हान रब्बियल् अजीम” (पवित्र छन् मेरा महान पालनाकर्ता) भन्नु सुन्नत हो ।१५ उक्बा बिन आमिर (रजि.) को भनाई छ, जब “फसब्बिह् बिस्मि रब्बिकल् अजीम” (अतः आफ्ना महान् पालनकर्ताको नामको महिमागान गर) अवतरित भयो, अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यसलाई रुकूको बेला पढ्ने गर ।” (अह्मद, अबू दाऊद)
*विभिन्न हदीसहरुबाट ज्ञात हुन्छ कि “सुब्हान रब्बियल् अजीम” कम से कम तीन पटक भन्ने र बढीमा ५,७, ९, १०, ११ पटक भन्न सकिन्छ ।
*इमाम अह्मद (रह.), इमाम इस्हाक (रह.) र इमाम इब्ने खुजैमा (रह.) का अनुसार रुकूमा एक पटक “सुब्हान रब्बियल् अजीम” भन्नु वाजिब हो । यदि जानाजानी भनिएन भने नमाज अमान्य हुन्छ र यदि बिर्सेर भनिएन भने अमान्य हुदैन तर सज्दा सह्व गर्नु अनिवार्य हुन्छ । अधिकतम मुहद्दिसहरु र फकीहहरुका अनुसार एक पटक “सुब्हान रब्बियल अजीम” भन्नु सुन्नत हो । (नैल अल्–औतार, अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
२५) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रुकूमा यो दुआ पढ्नु हुन्थ्योः हे अल्लाह ! मैले तिम्रो लागि रुकु गरें र तिमी माथि नै मैले आस्था राखें र आफूलई तिम्रो आज्ञापालनमा समर्पित गरें । तिमी मेरो पालनकर्ता हौ । मेरो कान, आँखा, गुदी, हडी र स्नायु र ती सम्पूर्ण चिजहरु जुन मेरो खुट्टामा छन् अल्लाहको लागि समर्पित छन् जो सम्पूर्ण संसारका पालनकर्ता हुन् । (अह्मद, मुस्लिम, अबू दाऊद)
२६) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) आफ्नो रुकू र सज्दामा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! हे हाम्रा पालनकर्ता ! तिमी पवित्र छौ र हामी तिम्रो प्रशंसा गर्दछौ । हे अल्लाह ! मलाई क्षमा प्रदान गर । (अह्मद, बुखारी, मुस्लिम)
२७) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रुकू र सज्दा गर्दा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! तिमी पवित्र छौ, प्रत्येक कमी र दोषबाट मुक्त, फरिश्ताहरु र जिब्रईलको पालनकर्ता । (अह्मद, मुस्लिम, अबूदाऊद, नसई)
२८) औफ बिन मलिक (रजि.) को भनाई छ, “म अल्लाहका रसूल (स.) सँग नमाज पढ्न उभिएँ र उहाँ (स.) ले रुकूमा यो दुआ पढ्नुभयो: पवित्र छन् उनी जो सर्वशक्ति, प्रभुत्व, महानता र प्रतिष्ठाको मालिक हुन् । (अबू दाऊद)
कौमाको अवस्थामा पढिने दुआ
२९) अबू हुरैरह् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रुकु गरेर उठ्दा “समिअल्लाहु लिमन् हमिदह्” भन्नुहुन्थ्यो र सीधा उभिए पछि “रब्बना वलकल् हम्द” भन्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, अह्मद)
*रुकु गरेर उठ्दा “समिअल्लाहु लिमन् हमिदह्” भन्नुपर्छ र सीधा उभिए पछि “रब्बना वलकल् हम्द” भन्नु सुन्नत हो । यदि नमाजी एक्लै नमाज पढ्दै छ भने उसले रुकू गरेर उठ्दा “समिअल्लाहु लिमन् हमिदह्” र यस पछि “रब्बना लकल् हम्द” वा “रब्बना वलकल् हम्द” वा “अल्लाहुम्म रब्बना वलकल् हम्द” सीधा उभिएर भन्नुपर्छ । जमाअतका साथ नमाज पढ्दा इमामले “समिअल्लाहु लिमन् हमिदह्” र “रब्बना वलकल् हम्द” दुबै भन्नुपर्नेछ र पछाडि नमाज पढ्नेहरुले केवल “रब्बना वलकल् हम्द” भन्नुपर्छ ।
*हम्बली विद्वानहरुका अनुसार यी दुबै वाजिब हुन् र अरु विद्वानहरुका अनुसार सुन्नत हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ)
३०) रिफाआ बिन राफिअ (रजि.) को भनाई छ, “एक दिन हामी अल्लाहका रसूल (स.) को पछाडी नमाज पढिरहेका थियौं । अल्लाहका रसूल (स.) ले रुकू गरेर आफ्नो टाउको उठाउनु भयो अनि “समिअल्लाहु लिमन् हमिदह्” भन्नुभयो । पछाडिबाट एक जनाले यो दुवा पढ्यो: "मेरा पालनकर्ता ! सारा प्रशंसा केवल तिम्रौ लागि हुन् । अति धेरै, पवित्र र बरकत युक्त प्रशंसा ।"
अल्लाहका रसूल (स.) ले सलाम फेरेपछि सोध्नुभयो, ‘कसले त्यो वाक्य भनेको थियो?’ त्यस व्यक्तिले भन्यो ‘मैले भनको थिएँ, हे अल्लाहका रसूल !’ अल्लाहका रसूल (स.) ले भन्नुभयो ‘मैले २० जना भन्दा बढी फरिश्तहरुलाई तिम्रो दुआतिर तीव्र गतिमा त्यसलाई सबभन्दा पहिले लेख्नको लागि गइरहेको देखें ।’” (बुखारी, अह्मद, मालिक, अबू दाऊद)
३१) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले रुकू गरेर आफ्नो टाउको उठाउँदा यो दुआ पढ्नुहुभयो: हे अल्लाह ! सारा प्रशंसा केवल तिम्रै लागि हुन्, आकाशहरु तथा धर्ती भरी र यी दुबैको बीचमा रहेका सम्पूर्ण चिजहरु भरी र त्यससँग जुन चिज तिमी चाहन्छौ त्यसको बराबर । (अह्मद, मुस्लिम, अबू दाऊद, तिर्मिजी)
३२) अब्दुल्लाह बिन अबी औफा (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) रुकूबाट टाउकोलाई उठाउँदा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! सारा प्रशंसा केवल तिम्रै लागि हुन् । आकाश र धर्ती भरी र यससँग जुन चिज तिमी चाहन्छौ त्यसको बराबर । हे अल्लाह ! मलाई हिउँ, चीसो पानीले र असिनाले पवित्र तुल्याइदेऊ । हे अल्लाह ! मलाई मेरा पापहरुबाट पवित्र तुल्याइदेऊ र यसरी पवित्र र सफा पारिदेऊ जसरी सेतो वस्त्र मैलोबाट सफा पारिन्छ । (अहमद, मुस्लिम, अबू दाऊद, इब्ने माजा)
३३) अबू सईद खुदरी (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) “समिअल्लाहु लिमन् हमिदह्” भनेपछि यो दुआ पढ्नुहुन्थ्यो: हे अल्लाह ! हामीहरुका पालनकर्ता ! तिम्रो लागि नै प्रशंसा रहेको छ आकाश भरि र धर्तीभरि र यससँग जुन चिज तिमी चाहन्छौ त्यसको बराबर । तिमी नै प्रशसां र महिमाको योग्य छौ । यसो भन्नु नै भक्तमाथि सबभन्दा बढी अधिकार रहेको छ र हामीमध्ये प्रत्येक तिम्रो भक्त हो । जे तिमी प्रदान गर्छौ त्यसलाई रोक्ने कसैमा सामथ्र्य छैन र जे तिमी रोक्छौ त्यसलाई दिने कसैमा सामथ्र्य छैन । कोही महानताको मालिकलाई पनि तिम्रो अगाडि उसको महानताले केही फाइदा पुर्याउने छैन । (मुस्लिम, अह्मद, अबू दाऊद)
सज्दा गर्ने र सज्दा गरेर उठ्ने तरिका
३४) वाइल बिन हजर (रजि.) को भनाई छ,“मैले अल्लाहका रसूल (स.) लाई सज्दा गर्दा आफ्ना हातलाई भन्दा पहिले आफ्ना घुँडालाई जमिनमा राखेको देखें र सज्दा गरेर उठ्दा आफ्ना घुँडा भन्दा पहिले आफ्ना हातलाई उठाएको देखें । (अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*यो मस्लक उमर (रजि.), इमाम नखई (रह.), इमाम अबू हनीफा (रह.), सुफयान सौरी (रह.), अह्मद बिन हम्बल (रह.) र अधिकतम् विद्वानहरुको हो र यसैलाई खिताबी (रह.), इब्ने तैमिया (रह.) र इब्ने कैयिम (रह.) ले पनि अपनाएका छन् । यस विषयमा इमाम मालिक (रह.), औजाई (रह.), इब्ने हज्म र अरु मुहद्दिसहरुको मस्लक यो छ कि सज्दाको लागि जाँदा पहिले हातलाई जमिनमा राख्नुपर्छ अनि घुँडालाई । उठ्दा पहिले घुँडालाई जमिनबाट उठाउनुपर्छ अनि हातलाई । यिनीहरुको प्रमाण अबू हुरैरह् (रजि) द्वारा उल्लेखित हदीस हो जसमा उल्लेख भए अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जब तिमीहरुमध्ये कोही सज्दा गर्छ उसले उँटले बस्ने तरिकाले नबस्नु । उसले पहिले आफ्ना हातलाई जमिनमा राख्नु अनि घुँडालाई ।” (अह्मद, अबू दाऊद, नसई)
सज्दाका सुन्नतहरु
३५) अब्दुल्लाह (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) सज्दा गर्दा आफ्ना दुबै पाखुरालाई यति फिजाउनु हुन्थ्यो कि उहाँ (स.) को काखी प्रष्ट देखिन्थ्यो ।” (बुखारी, मुस्लिम)
३६) बरा बिन आजिब (रजि.) को भनाई अनुसारअल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमी सज्दा गर्दा आफ्ना हातलाई भुईमा राख र कुहिनालाई माथि उठाऊ । (मुस्लिम)
३७) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “सज्दा गर्दा मध्यस्थ होऊ र तिमीमध्ये कोही पनि सज्दा गर्दा कुकुरको जस्तो हातलाई (कुहिनासम्म) भुईमा नराख ।” (बुखारी, मुस्लिम,अबू दाऊद)
३८) हाकिम (रह.) र इब्ने हिब्बान (रह.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रुकू गर्दा हातका औंलाहरुलाई फिजाउनु हुन्थ्यो र सज्दा गर्दा औंलाहरुलाई एक आपसमा मिलाउनु हुन्थ्यो ।
३९) अबू हुमैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सज्दा गर्दा आफ्ना हातका औंलाहरुलाई न त फिजाउनु हुन्थ्यो र न एकदमै च्यापेर राख्नु हुन्थ्यो र गोडाका औंलाहरुलाई किब्लातिर फर्काउनु हुन्थ्यो । (बुखारी)
४०) अबू हुमैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सज्दा गर्दा आफ्नो जाँघलाई यति फिजाउनु हुन्थ्यो कि उहाँ (स.) को पेट जाँघको कुनै पनि भागलाई छुदैनथ्यो । (अबू दाऊद)
*चारै जना इमामहरु अर्थात इमाम अबू हनीफा (रह.) इमाम शाफिई (रह.), इमाम मालिक (रह.) र इमाम अह्मद बिन हम्बल (रह.) का अनुसार सज्दाका यी सम्पूर्ण सुन्नत कार्यहरुलाई त्यतीबेला अपनाउनुपर्छ जब यसले गर्दा अरुहरुलाई अप्ठ्यारो हुँदैन । यदि यी कार्यहरुले गर्दा अरुहरुलाई अप्ठ्यारो हुन्छ भने यसो गर्नु उचित छैन । हनफी, शाफिई र हम्बली विद्वानहरुका अनुसार स्त्रीले सज्दाको अवस्थामा आफ्नो पेटलाई जाँघसँग मिलाएर राख्नु सुन्नत हो किनभने यसो गर्नाले उसको शरिरको सुरक्षा हुन्छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ )
सज्दामा पढिने दुआ
४१) उक्बा बिन आमिर (रजि.) द्वारा उल्लेखित हदीसमा भनिएको छ, “सब्बिहिस्म रब्बिकल अअ्ला” अवतरित भएपछि अल्लाहका रसूल (स.) ले भन्नुभयो “यसलाई आफ्नो सज्दाको अवस्थामा पढ ।” (अह्मद, अबू दाऊद, इब्ने माजा, हाकिम)
*सज्दामा “सुब्हान रब्बियल अअ्ला” (पवित्र छन् मेरा उच्च पालनकर्ता) भन्नु सुन्नत हो ।
*यद्यपी रुकू र सज्दाको अवस्थामा एक एक पटक “सुब्हान रब्बियल् अजीम” र “सुब्हान रब्बियल् अअ्ला” भन्नाले अनिवार्यता पूरा हुन्छ तर हदीसहरुले ज्ञात हुन्छ कि यी दुबै दुआलाई कम से कम तीन पटक पढ्नुपर्छ र यस भन्दा बढी ५,७,९,१० र ११ पटक पनि पढ्न सकिन्छ । यदि कोही एक्लै नमाज पढिरहेको छ भने उसले धेरै भन्दा धेरै पटक यी दुआहरुलाई पढ्नुपर्छ ।
४२) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सज्दामा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! म तिम्रो अगाडि नतमस्तक भएँ, तिमीमाथि आस्था राखें र आफूलाई तिमी प्रति समर्पित गरें । मेरो अनुहारले त्यस अस्तित्वलाई सज्दा गर्यो जसले उसलाई सृष्टि गर्यो र उसलाई सर्बोत्तम संरचनामा सृष्टि गर्यो । उसले उसलाई (अनुहारलाई) कान र आँखा दियो । तसर्थ बरकतयुक्त छन् अल्लाह जो सर्बोत्तम सृष्टिकर्ता हुन् । (मुस्लिम, अह्मद)
४३) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) तहज्जुदको नमाजमा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! मेरो ह्रदयलाई प्रकाशमय बनाइदेऊ, मेरो कानलाई प्रकाशमय बनाईदेऊ, मेरो आँखालाई प्रकाशमय बनाइदेऊ, मेरो दाहिनेतर्फलाई प्रकाशमय बनाइदेऊ, मेरो देब्रेतर्फलाई प्रकाशमय बनाइदेऊ, मेरो अगाडि प्रकाश राखिदेऊ, मेरो पछाडि प्रकाश राखिदेऊ, मेरो माथि प्रकाश राखिदेऊ, मेरो मुनि प्रकाश राखिदेऊ र मलाई प्रकाशमय बनाइदेऊ । (अह्मद, मुस्लिम)
४४) आइशा (रह.) को भनाई अनुसार उनले एक रात अल्लाहका रसूल (स.) लाई ओछ्यानमा देखिनन् । हातले छामेर हेर्दा उहाँ (स.) लाई सज्दाको अवस्थामा भेट्टाइन् । उहाँ (स.) भन्दै हुनुहुन्थ्यो: हे मेरा पालनकर्ता ! मेरो आत्मालाई तिम्रो प्रेम र तिम्रो सजायको भय राख्ने बनाइदेऊ र यसलाई पवित्र तुल्याईदेऊ । तिमी नै सर्वोत्तम पवित्रता प्रदान गर्छौ । तिमी नै यसको मालिक र निरिक्षक हौ । (अह्मद)
४५) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सज्दामा यो दुआ पढ्नु हुन्थ्यो ः हे अल्लाह ! मेरा सानो, ठूलो, पहिलो, अन्तिम, दृश्य र अदृश्य सम्पूर्ण पापहरुलाई क्षमा गरिदेऊ । (मुस्लिम, अबू दाऊद)
४६) आइशा (रजि.) को भनाई छ “एक रात मैले अल्लाहका रसूल (स.) लाई ओछ्यानमा देखिन । मैले उहाँ (स.) लाई खोजेँ र उहाँ (स.) मस्जिदमा सज्दाको अवस्थामा हुनुहुन्थ्यो र यो दुआ पढिराख्नु भएको थियो : हे अल्लाह ! म तिम्रो रीसबाट तिम्रो खुसीको शरण माग्दछु र तिम्रो सजायँबाट तिम्रो क्षमा गर्ने गुणको शरण माग्दछु । म तिमीबाट तिम्रो शरण माग्दछु । म तिम्रो प्रशंसा गर्ने सामर्थ्य राख्दिन । तिमी स्वयंद्वारा प्रशंसित छौ । (मुस्लिम, अबू दाऊद, तिर्मिजी)
४७) आइशा (रजि.) को भनाई अनुसार एक रात उनले अल्लाहका रसूल (स.) लाई ओछ्यानमा देखिनन् । उनलाई लाग्यो कि उहाँ (स.) अर्कि पत्नीकोमा जानुभएको छ । तर पछि उहाँ (स.) लाई सज्दा वा रुकु गरेको देखिन् र त्यस अवस्थामा उहाँ (स.) यो दुआ पढिराख्नु भएको थियो: हे अल्लाह तिमी पवित्र छौ र म तिम्रो प्रशंसा गर्छु । तिमी बाहेक कोही उपास्य छैन ।
४८) अल्लाहका रसूल (स.) सज्दामा यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! मेरो गल्ती र मेरो अज्ञानतालाई क्षमा गरिदेऊ । मबाट भएको व्ययशीलतालाई क्षमा गरिदेऊ र मेरो विषयमा जसको ज्ञान तिमीलाई म भन्दा बढी छ, त्यसलाई क्षमा गरिदेऊ । हे अल्लाह ! मेरा गम्भीर र मेरा हल्का गल्तीहरु, मबाट अन्जानमा भएका र जानाजानी गरेका गल्तीहरुलाई क्षमा गरिदेऊ । यी सम्पूर्ण कुराहरु म भित्र छन् । हे अल्लाह ! मेरा अतीतका पापहरु र पछिका पापहरु, लुकेर गरिएका र सार्वजनिक रुपले गरिएका पापहरुलाई क्षमा गरिदेऊ । तिमी नै मेरो उपास्य हौ , तिमी बाहेक अरु कोही उपास्य छैन ।
*सज्दाको अवस्थामा गरिएका दुआहरु चाँडै नै स्वीकार्य हुन्छन् । अल्लाहका रसूल (स.) ले भन्नुभएको छ, “तिमी आफ्नो पालनकर्तासँग सबभन्दा नजिक सज्दामा हुन्छौं, तसर्थ तिमी अवस्थामा दुआ गर्ने गर ।”
*सज्दा र रुकूको अवस्थामा कुरआन पढ्ने अनुमति छैन । अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मलाई रुकू र सज्दामा कुरआन पढ्नबाट मनाही गरिएको छ । (अह्मद, मुस्लिम)
दुई सज्दाको बीचमा बस्ने र दुआ पढ्ने
४९) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) देब्रे खुट्टालाई भूँइमा ओछ्याएर र दाहिने खुट्टालाई ठाडो राख्नु हुन्थ्यो ।” (बुखारी र मुस्लिम)
*दुबै सज्दाको बीचमा बस्ने उत्तम र सुन्नत तरिका यो हो कि देब्रे खुट्टालाई ओछ्याएर त्यसमाथि बस्ने र दाहिने खुट्टालाई ठाडो राख्ने । दाहिने खुट्टाका औंलाहरुलाई किब्लातिर फर्काउने ।
५०) इब्ने उमर (रजि.) भन्छन् “नमाजमा सुन्नत अनुसार दाहिने खुट्टालाई ठाडो राख्नुपर्छ त्यसका औलाहरुलाई किब्लातिर फर्काउनुपर्छ र देब्रे खुट्टालाई ओछ्याएर त्यसमाथि बस्नुपर्छ ।” (नसई)
*हनफी विद्वानहरुका अनुसार पुरुषले बस्ने तरिका त्यही हो तर स्त्रीले बस्ने तरिका अनुसार उसले जमिनमा बस्नुपर्छ र आफ्ना दुबै जाँघलाई मिलाएर देब्रे खुट्टालाई दाहिने खुट्टाको जाँघमुनि राख्नुपर्छ । मालिकी विद्वानहरुका अनुसार दाहिने खुट्टालाई भुईको सट्टा देब्रे खुट्टामाथि राख्नु मुस्तहब हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
५१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले (नमाज पढ्ने क्रममा) मलाई तीन कुराहरुबाट रोकेका छन् पहिलो कुखुराको जस्तो ठुङ्गनुबाट (अर्थात छिटो छिटो सज्दा गर्नबाट), दोस्रो कुकुरको जस्तो “इक्आ” गर्नबाट र तेस्रो स्यालको जस्तो यता उता हेर्नबाट । (अह्मद, बैहकी, तबरानी)
*इक्आका दुईवटा अवस्थाहरु रहेका छन्:
क) दुबै खुट्टालाई ठाडो राखेर भुईंमाथि वा कुर्कुच्चामाथि बस्ने।
ख) दुबै खुट्टालाई ओछ्याएर त्यसमाथि बस्ने।
*यी दुबै अवस्थाहरु सलफका अधिकतम् विद्वानहरु (जसमा चारैवटा इमामहरु सामेल छन्) का अनुसार मक्रूह हुन्।
*अह्ले हदीस विद्वानहरुका अनुसार यी दुबै अवस्थाहरु मध्ये पहिलो अवस्था मक्रुह हो किनभने कुकुरले बस्ने तरिका यही हो । तर दोस्रो अवस्थाको अनुमति रहेको छ किनभने, इब्ने अब्बास (रजि.) भन्छन्, “इक्आ अल्लाहका रसूल (स.) को सुन्नत हो ।” (मुस्लिम)
*ताऊस (रजि.) भन्छन्, “मैले अल्लाहका तीनवटै भक्त (अब्दुल्लाह बिन उमर (रजि.) अब्दुल्लह बिन अब्बास (रजि.) र अब्दुल्लाह बिन मस्ऊद (रजि.)) लाई इक्आ गरेको देखें ।
*यस मत भिन्नताको कारण अनुसार अहले हदीस विद्वानहरु इक्आ सम्बन्धि दुबै हदीसमा मध्य बाटोलाई अपनाउँछन् र चारवटै इमामहरु यसमा मध्य बाटो अपनाउनु सट्टा इक्आको अनुमति भएका हदीसहरुलाई अबू हुरैरह् (रजि.) द्वारा उल्लेखित हदीसले गर्दा मनसूख (रद्द गरिएको) ठहर गर्छन् । (तुहफत् अल्–अहवजी)
५२) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दुबै सज्दाको बीचमा यो दुआ पढ्ने गर्नुहुन्थ्यो: हे अल्लाह ! मलाई क्षमा गरिदेऊ, ममाथि दया गर, मलाई भलाई, हिदायत र जीविका प्रदान गर । (अबू दाऊद, इब्ने माजा, हाकिम, तिर्मिजी)
५३) हे अल्लाह मलाई क्षमा गरिदेऊ, हे अल्लाह मलाई क्षमा गरिदेऊ । (नसई इब्ने माजा)
जल्सए इस्तिराहत (आरामका साथ बस्नु)
*पहिलो र तेस्रो रकअतमा दुबै सज्दा पूरा गरेर दोस्रो र चौथो रकअतको लागि उठ्नु भन्दा पहिले केही बेर बस्नुलाई जल्सए इस्तिराहत भनिन्छः
५४) मालिक बिन हुवैरिस (रजि.) को भनाई छ,“मैले अल्लाहका रसूल (स.) लाई नमाज पढेको देखें, उहाँ (स.) बेजोर (१ र ३) रकअतमा हुँदा सीधा भएर नबसेसम्म (अर्को रकअतको लागि) उठ्नुहुन्नथ्यो ।” (बुखारी, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
*जल्सए इस्तिराहत सुन्नत हो कि होईन भन्ने बारे मत भिन्नता रहेको छ । इमाम शाफिई (रह.), अह्मद बिन हम्बल (रह.) र केही मुहद्दिसहरुका अनुसार यो सुन्नत हो । तर इमाम अबू हनीफा (र.), इमाम मालिक (रह.) र केही मुहद्दिसहरुका अनुसार यो सुन्नत होईन । यिनीहरुको प्रमाण के छ भने यदि जल्सए इस्तिराहत सुन्नत हुँदो हो त ती हदीसहरु जसमा अल्लाहका रसूल (स.) को नमाजको तरिका उल्लेख भएको छ त्यसमा यसको पनि उल्लेख हुनुपर्नेथ्यो । सम्भवत: अल्लाहका रसूल (स.) ले कुनै कारणले जल्सए इस्तिराहत गर्नु भएको होला । (नैल अल्– औतार)
तशह्हुदमा बस्ने र बुढी औंला संगैको औंलाले इशारा गर्ने तरिका
५५) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) तशह्हुदमा बस्दा दाहिने हातलाई दाहिने तिघ्रा र देब्रे हातलाई देब्रे तिघ्रामाथि राख्नुहुन्थ्यो । (दाहिने हातका) सम्पूर्ण औंलालाई जम्मा पारेर बुढी औंला संगैको औलाले इशारा गर्नुहुन्थ्यो । (मुस्लिम)
५६) वाइल बिन हजर (रजि.) को भनाई छ, “अनि उहाँ (स.) ले आफ्नो औंला उठाउनु भयो र उहाँ (स.) ले त्यस औंलालाई हल्लाई राख्नु भएको थियो र दुआ पढिरहनु भएको थियो।” (अबू दाऊद)
*हनफी विद्वानहरुका अनुसार शहादतको औंला (चोर औंला) लाई “ला इलाह” भन्दा उठाउनुपर्छ र “इल्लल्लाह” भन्दा तल झार्नुपर्छ । शाफिई विद्वानहरुका अनुसार “इल्लल्लाह” भन्दा उठाउनुपर्छ र तुरुन्तै राख्नुपर्छ । मालिकी विद्वानहरुका अनुसार सलाम फेर्ने समयसम्म औंला उठाइराख्नुपर्छ र त्यस औंलाले दाहिने, देब्रे, तल र माथि इशारा गर्नु सुन्नत हो । हम्बली विद्वानहरुका अनुसार अल्लाहको नाम उच्चारण हुने बेला औंलालाई नहल्लाइकन उठाइराख्नु सुन्नत हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
**पहिलो तशह्हूद (दास्रो रकअत) मा बस्ने तरिका दुई सज्दाको बीचमा बस्ने तरिका सरह नै हो । तर दोस्रो तशह्हुद (अन्तिम रकअतको) मा बस्ने तरिका के छ भने दाहिने खुट्टालाई ठाडो राख्नुपर्छ, देब्रे खुट्टालाई दाहिने खुट्टा मुनि राख्नुपर्छ अनि भूईमा बस्ने । यसरी बस्ने तरिकाको नाम “तवरुक” भनिन्छ ।
५७) अबू हुमैद (रजि.) अल्लाहका रसूल (स.) को नमाजको तरिका उल्लेख गर्दै भन्छन् “अनि उहाँ (स.) दोश्रो रकअतमा बस्दा आफ्नो देब्रे खुट्टालाई ओछ्याएर त्यसमाथि बस्नुभयो र दाहिने खुट्टालाई ठाडो राख्नुभयो र अन्तिम रकअतमा वस्दा आफ्नो देव्रे खुट्टालाई (दाहिने खुट्टा मुनि राखेर) दाहिने खुट्टालाई ठाडो राख्नुभयो र भुंइमा बस्नुभयो ।” (बुखारी)
*इमाम अबू हनीफा (रह.) र उनका शिष्यहरुका अनुसार कुनै पनि अवस्थामा बस्ने तरिका एउटा मात्रै मुस्तहब हो अर्थात देब्रे खुट्टालाई ओछ्याएर त्यसमाथि बस्नुपर्छ र दाहिने खुट्टालाई ठाडो राख्नुपर्छ । इमाम मालिक (रह.) र इमाम शाफिई (रह.) का अनुसार अन्तिम रकअतमा “तवरुक” गर्नु सन्नत हो । इमाम अहमद (रह.) का अनुसार “तवरुक” गर्नु दुईवटा तशह्हुद भएको नमाजमा मात्र सुन्नत हो । (नैल अल्–औतार) । हनफी विद्वानहरुका अनुसार स्त्रीहरुको लागि नमाजमा प्रत्येक समय (तशह्हुदको बेला) “तवरुक” गर्नु सुन्नत हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
दरुद
*नमाजको अन्तिम रकअतमा तशह्हुद पढेपछि अल्लाहका रसूल (स.) माथि दरुद पढ्नु सुन्नत हो । सही हदीसहरुमा उल्लेख भएका विभिन्न दरुदहरुलाई यसरी एकत्रित पार्न सकिन्छ ।
*शाफिई र हम्बली विद्धानहरुका अनुसार अन्तिम रकअतमा तशह्हुद पढेपछि दरुद् पढ्नु नमाजका फर्ज कार्यहरुमा समावेश छ । उमर (रजि.), अब्दुल्लाह बिन उमर (रजि.), अब्दुल्लाह बिन मस्ऊद (रजि.), जाबिर बिन जैद (रजि.) र अरु विद्वानहरुको मस्लक पनि यही रहेको छ । तर प्रायजसो मुहद्दिसहरु र फकीहहरुका अनुसार दरुद पढ्नु नमाजको सुन्नतमा समावेश छ । (नैल अल्–औतार, अल्–फिक्ह अला अल् मजाहिब् अल्–अबैआ)
*हनफी बिद्वानहरुका अनुसार दरुदमा यी वाक्यहरु पढ्नु उत्तम होः हे अल्लाह ! सलाम तथा कृपा गर मुहम्मद तथा मुहम्मद्का परिवार एवं सन्तानमाथि त्यस्तो सलाम तथा कृपा जस्तो तिमीले इब्रहीम तथा इब्राहीमका परिवार तथा सन्तानमाथि ग¥यौ । हे अल्लाह ! बरकत तथा उन्नती तिमीले इब्राहीम तथा इब्राहीमका परिवार एवं सन्तानमाथि ग¥यौ र निस्सन्देह तिमी प्रशंसित एवं सम्मानित छौ ।
शाफिई विद्वानहरु मध्ये पछिल्ला बिद्वानहरुले दरुदमा अल्लाहका रसूल (स.) को नामको अगाडि “सैयिदिना” थपेका छन् । (अल्– फिक्ह अला अल्–मजाहिब अल–अर्बआ)
५८) हे अल्लाह ! सलाम तथा कृपा गर आफ्नो भक्त र रसूल मुहम्मद माथि जो लेख्न र पढ्न नजान्ने नबी हुन् र सलाम तथा कृपा गर मुहम्मदका सन्तान र उहाँका पत्नीहरुमाथि जो मुस्लिमहरुकी आमा हुन् र सलाम तथा कृपा गर उहाँ (स.) का सन्तान र उहाँका घरका सम्पूर्ण सदस्यहरुमाथि जस्तो तिमीले इब्राहीम र उहाँ (स.) का सन्तानमाथि गर्यौ । निसन्देह तिमी प्रशंसित एवं सम्मानित छौ । हे अल्लाह ! बरकत तथा उन्नती गर लेख्न तथा पढ्न नजान्ने नबी मुहम्मदमाथि, मुहम्मदका परिवारमाथि र उहाँ (स.) का पत्नीहरु र सन्तानमाथि जस्तो बरकत तथा उन्नती तिमीले इब्राहीम तथा इब्राहीमका परिवार एवं सन्तानमाथि गर्यौ । निसन्देह तिमी प्रशंसित एवं सम्मानित छौ । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)
सलाम फेर्नु भन्दा पहिलेका दुआहरु
*दरुद पढेपछि र सलाम फेर्नु अघि दुआ पढ्नु सुन्नत हो । यस अवसरमा पढ्नको लागि हदीसहरुमा केही दुआहरु उल्लेख भएका छन् ।
५९) अबू सिद्दीका (रजि.) को भनाई छ, “अल्लाहका रसूल (स.) ले मलाई नमाजमा पढ्न यो दुआ सिकाउनु भयो: हे अल्लाह ! मैले स्वयंमाथि अति अत्याचार गरेको छु र तिमी बाहेक अरु कोही पापहरु क्षमा गर्न सक्दैन तसर्थ तिमी आफ्नो तर्फबाट मलाई क्षमा गरिदेऊ र ममाथि दया गर । निस्सन्देह तिमी क्षमा गर्ने एवं दयावान छौ । (बुखारी, मुस्लिम)
६०) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो,“तिमीहरु मध्ये कोही तशह्हुद पढ्छ भने चारवटा चिजहरुबाट अल्लाहको शरण मागोस् र यो दुआ पढोस्: हे अल्लाह ! म तिम्रो शरण चाहन्छु नरकको यातनाबाट, चिहानको यातनाबाट जीवन तथा मरणको उत्पिडनबाट र दज्जालको उप्पिडनबाट ।
*अल्लाहका रसूल (स.) को यस आदेशलाई तर्क स्वरुप लिएर जाहिरी विद्वानहरुको मस्लक यो हो कि पहिलो र दोस्रो दुबै तशह्हुद पछि यी चार चिजहरुबाट अल्लाह तआलाको शरण चाहनु अनिवार्य छ, अन्यथा नमाज मान्य हुँदैन । तर अधिकतम् मुहद्दिसहरु र फकीहहरुले यस आदेशलाई मुस्तहब भएको अर्थ दिएका छन् र यस दुआलाई केवल अन्तिम तशह्हुद पढेपछि पढ्ने भनेका छन् । (नैल अल्–औतार)
६१) अली (रजि.) को भनाई छ अनुसार सलाम फेर्नु र तशह्हुद पढ्नुको बीचमा अल्लाहका रसूल (स.) यो दुआ पढ्नु हुन्थ्यो: हे अल्लाह ! मेरा सम्पूर्ण पापहरु जुन मेरा अतीतका र पछिका, जसलाई मैले लुकेर गरेको र सार्वजनिक रुपले गरेको होस् सबैलाई क्षमा गरिदेऊ । मैले व्यर्थ रुपले गरेको कार्यहरुलाई क्षमा गरिदेऊ र मेरो विषयमा जसको ज्ञान तिमीलाई म भन्दा बढी छ त्यसलाई क्षमा गरिदेऊ । तिमी नै अघि बढाउछौ र तिमी नै पछि हटाउछौ, तिमी बाहेक अरु कोही उपास्थ छैन । (मुस्लिम)
६२) शद्दाद बिन औस ( रजिं) को भनाई छ अनुसार अल्लाहका रसूल (स.) आफ्नो नमाजमा यो दुआ पढ्ने गर्नु हुन्थ्यो: हे अल्लाह ! म तिमीसित दृढता र पुण्यकर्म गर्नको लागि स्थिर चाहना र इच्छा माग्दछु । म तिमीसित तिमीले प्रदान गरेका अनुग्रहहरु प्रति कृतज्ञ हुन र उत्तम तरिकाले उपासनामा लीन रहनमा सहयोग माग्दछु, म तिमीसित निश्चल ह्रदय र सच्चा जिब्रो माग्दछु, म तिमीसित तिम्रो ज्ञान अनुसार जे राम्रो हो त्यो माग्दछु र तिम्रो ज्ञान अनुसार जे नराम्रो र हानिकर हो त्यसबाट तिम्रो शरण चाहन्छु र म आफ्नो त्यस पापको क्षमा प्रार्थि छु जसको ज्ञान तिमीलाई छ । (नसई)
६३) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले उनलाई यो दुआ पढ्न सिकाउनु भयो: हे अल्लाह ! हाम्रा ह्रदयमा प्रेम उत्पन्न गरिदेऊ र हामीहरु बीचको सम्बन्धलाई प्रगाढ बनाइदेऊ । हामीलाई शान्तिको मार्गको निर्देशन गरिदेऊ । हामीलाई अन्धकारबाट निकालेर प्रकाशतिर लिएर जाऊ । हामीलाई सम्पूर्ण दृश्य र अदृश्य पापहरुबाट बचाऊ र हाम्रो लागि हाम्रा कान, ह्रदय, पत्नीहरु र सन्तानहरुलाई बरकत युक्त र उन्नतीको साधन बनाइदेऊ । हामीमाथि कृपा गर । निसन्देह तिमी नै प्रायश्चित स्वीकार कर्ता र दयालु छौ । हामीलाई तिम्रो अनुग्रहहरु प्रति कृतज्ञ बनाइदेऊ, ती अनुग्रहहरुको प्रशंसा गर्ने बनाइदेऊ,ती अनुग्रहरुलाई स्वीकार गर्ने बनाइदेऊ र तिनीहरुलाई हाम्रो लागि प्रदान गर । (अबू दाऊद)
६४) अम्मार बिन यासिर (रजि.) को भनई छ अनुसार अल्लाहका रसूल (स.) नमाजमा यो दुआ पढ्ने गर्नुहुन्थ्यो: हे अल्लाह ! तिमी परोक्षको ज्ञान र सृष्टिमाथि आफ्नो प्रभुत्वको माध्यमले मलाई जीवित रहन लाभदायक रहेको उमेरसम्म जीवित राख र मलाई मृत्यु प्रदान गर जब तिम्रो अनुसार मृत्यु मेरो लागि लाभदयक हुन्छ । हे अल्लाह ! म तिमीबाट गोप्य र सार्वजनिक रुपले भय राख्न रीस र प्रसन्नता दुवै अवस्थमा नितान्त सत्य कुरा गर्न निर्धनता र धनवानको अवस्थमा मध्यस्थता अपनाउन, तिम्रो अनुहारलाई हेर्ने आनन्द र तिमीसँगको साक्षात्कार चाहन्छु । म तिम्रो शरण चाहन्छु हानी पु¥याउने चिजको हानीबाट र पथभ्रष्ट गर्ने परीक्षाबाट । हे अल्लाह ! मलाई आस्थको सुन्दरताले सिंगार र हामीलाई मार्ग निर्देशन गर्ने र सत्य मार्गमा रहने बनाऊ । (अह्मद, नसई)
६५) अनस (रजि.) भन्छन्, “म अल्लाहका रसूल (स.) सँग उभिरहेको थिएँ र एकजना नमाज पढिरहेको थियो । रुकू र ताशह्हुद गर्दा उसले यो दुआ पढयो: हे अल्लाह ! म तिमीसित माग्दछु किनभने सम्पूर्ण प्रशंसा केवल तिम्रै निम्ति हो । तिमी बाहेक अरु कोही उपास्था छैन । तिमी नै दाता हौ र तिमी नै आकाशहरु र धर्तीका सृष्टिकर्ता हौ । हे प्रतिष्ठित एवं गौरवमय । हे सदा जीवित रहेन र कायम रहने ! म तिमीसित माग्दछु ।
अल्लाहका रसूल (स.) ले सहाबीहरु (रजि.) लाई भन्नुभयो ‘के तिमीलाई थाहा छ कि उसले कुन माध्यमले दुआ गरेको हो ?’ उनीहरुले भने ‘अल्लाह र उनका रसूल नै राम्ररी जान्दछन् ।’ उहाँ (स.) ले भन्नुभयो ‘उसको कसम जसको हातमा मुहम्मदको प्राण रहेको छ उसले अल्लाह तआलाको इस्मे अअ्जम (सबैभन्दा ठूलो नाम) को माध्यमले दुआ गरेको छ, जसको माध्यमले यदि अल्लाहसित दुआ गरिन्छ भने उनी आवश्यनै स्वीकार गर्दछन् र उनीसँग माग्दा उनी दिन्छन् ।’” (नसई)
६६) उमैर बिन सअ्द (रजि.) भन्नु हुन्छ कि इब्ने मस्ऊद (रजि.) हामीलाई तशह्हुद सिकाउनु हुन्थ्यो । अनि भन्नु हुन्थ्यो “तिमीहरु मध्ये कोही तशह्हुद पढेर सकाउँछ उसले यो दुआ पढोस्: हे अल्लाह ! म तिमीसित सबै किसिमको भलाई चाहन्छु जसको ज्ञान मसित छ वा छैन । हे अल्लाह ! म तिमीसित त्यो प्रत्येक भलाई चाहन्छु जसलाई तिम्रा असल भक्तहरुले चाहेका थिए र ती सम्पूर्ण अनिष्टताबाट तिम्रो शरण चाहन्छु जसबाट तिम्रो शरण चाहेका थिए तिम्रो असल भक्तहरुले । हे हाम्रा पालनकर्ता ! हामीलाई संसारमा भलाई प्रदान गर र परलोकमा पनि भलाई प्रदान गर र हामीलाई नरकको यातनाबाट बचाऊ ।
यस पछि इब्ने मस्ऊद भन्नुहुन्छ: कुनै पनि नबी वा असल भक्तले गरेको दुआ यस्तो छैन जुन यसमा समावेश छैन । (इब्ने अबी शैबा)
सलाम फेरेपछि पढिने जिक्र र दुआहरु
*सलाम फेरेपछि अल्लाहलाई सम्झनु र दुआ गर्नु सुन्नत हो । नमाज सकेपछि दुआ गर्नको लागि हात उठाउनु अल्लाहका रसूल (स.) र सहाबीहरु (रजि.) द्वारा केही अवसरहरुमा प्रमाणित छ तर यसलाई अनिवार्य सम्झनु र यसलाई सधैं नछुटाई गर्नु उचित होइन । (तुह्फत् अल्–अह्वजी)
*हदीसहरुमा यस अवसरमा पढ्नको निम्ति दुआहरु उल्लेख छन् :
६७) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई छ, म अल्लाहका रसूल (स.) को नमाज समाप्त भएको उहाँ (स.) को तक्बीर (अल्लाहु अकबर) बाट चाल पाउँथे । (बुखारी र मुस्लिम)
६८) सौबान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) आफ्नो नमाज समाप्त भएपछि तीन पटक “अस्तग्फिरुल्लाह” भन्नु हुन्थ्यो अनि भन्नु हुन्थ्यो ः हे अल्लाह ! तिमी शान्ति हौ र शान्तिका मूल श्रोत हौ । तिमी बरकत मुक्त छौ । हे प्रतिष्ठित एवं गौरवमय । (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
६९) मआज बिन जबल (रजि.) को भनाई अनुसार एक दिन अल्लाहका रसूल (स.) ले उनको हात समातेर भन्नुभयो, “हे मआज ! मलाई तिमीसित प्रेम छ ।” मआज (रजि.) ले भने “हे अल्लाहका रसूल ! मेरा बुबाआमा तपाईमाथि समर्पित छ र म पनि तपाईलाई प्रेम गर्दछु ।” यस पछि उहाँ (स.) ले भन्नुभयो “हे मआज ! कुनै पनि (फर्ज नमाज पछि यो जिक्र नछुटाउने म तिमीलाई उपदेश दिन्छु ः हे अल्लाह ! मलाई सहयोग गर कि म तिम्रो सम्झनामा लीरहुँ, तिमीप्रति कृतज्ञ बनुँ र उत्तम तरिकाले तिम्रो उपासना गरुँ । (अबू दाऊद, अह्मद, नसई, इब्ने खुजैमा, हाकिम)
७०) अब्दुल्ला बिन जुबैर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) नमाज सकाएर भन्नुहुन्थ्यो ः अल्लाह बाहेक अरु कोही उपास्य छैन । उनी एक्लै छन् । उनको कोही साझेदार छैन । उनकै लागि प्रभुत्व रहेको छ र उनकै लागि प्रशंसा रहेको छ । र उनी प्रत्येक कुराको सामथ्र्य राख्दछन् । अल्लाहकै सम्पूर्ण शक्ति एवं साहस छन् (अर्थात शक्ति र साहसको मूल स्रोत अल्लाह नै हुन्) । हामी अल्लाह बाहेक अरुको उपासना गर्दैनौं । उनी अनुग्रह, कृपा र उत्तम प्रशंसाका मालिक हुन् । अल्लाह बाहेक अरु कोही उपास्य छैन । हामी एकाग्रताका साथ उनको आज्ञाकारी हौं चाहे काफिरहरुलाई नराम्रो लागोस् । (अह्मद मुस्लिम, अबू–दाउद, नसई)
७१) मुगीरा बिन शुअ्बा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) प्रत्येक फर्ज नमाज पछि यो भन्नुहुन्थ्यो ः अल्लाह बाहेक अरु कोही उपास्य छैन, उनी एक्ला छन् । उनको कोही साझेदार छैन । उनकै लागि प्रभुत्व र सम्पूर्ण प्रशंसाहरु रहेका छन् र उनी सम्पूर्ण कुराको सामथ्र्य राख्दछन् । हे अल्लाह ! जे तिमी प्रदान गर्छौ त्यसलाई रोक्ने कसैमा सामथ्र्य छैन र जे तिमी रोक्छौ त्यसलाई प्रदान गर्ने कसैमा सामथ्र्य छैन । कुनै महानताको मालिकलाई पनि तिम्रो अगाडि उसको महानताले केही फाइदा पु¥याउने छैन । (अह्मद, बुखारी, मुस्लिम)
७२) उक्बा बिन आमिर (रजि.) भन्छन्, “अल्लाहका रसूल (स.) ले मलाई प्रत्येक नमाज पछि सूरह “कुल् हुवल्लाह, सूरह “कुल् अऊजु बिरब्बिल् फलक” र सूरह “कुल् अऊजु बिरब्बिन् नास” पढ्ने आदेश दिनुभयो ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
७३) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जो फर्ज नमाजपछि आयतुल् कुर्सी पढ्छ ऊ अर्को नमाजको समयसम्म अल्लाहको सुरक्षामा रहन्छ ।” (तबरानी)
७४) अबू हुरैरह (रजि.) को भनाई अनुसा अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले नमाज पछि ३३ पटक “सुब्हान अल्लाह” (अल्लाह पवित्र छन्), ३३ पटक “अल्–हम्दु लिल्लाह” (सारा प्रशंसा केवल अल्लाहाका लागि हुन्), ३३ पटक “अल्लाहु अकबर” (अल्लाह महान् छन्) र यसरी यो ९९ पटक हुन्छ र अन्तिममा एक पटक “ला इलाह इल्लल्लाहु वह्दहु ला शरीक लहु, लहुल् मुल्कु वलहुल् हम्दु व हुव अला कुल्लि शैइन् कदीर” (अर्थ: अल्लाह बाहेक अरु कोही उपास्य छैन , उनी एक्लै छन्, उनको कोही साझेदार छैन । उनकै लागि प्रभुत्व र सारा प्रशंसा हुन् र उनी सम्पूर्ण कुराको सामथ्र्य राख्दछन् ।) भन्यो उसका पापहरुलाई क्षमा गरिनेछन् चाहे त्यो समुद्रको फिँज बराबरको होस् । (बुखारी, अह्मद, मुस्लिम, अबू दाऊद)
७५) कअ्ब बिन अज्रा (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाज पछि पढिने केहि दुआहरु छन् जसलाई पढ्ने व्यक्ति कहिले असफल हुँदैन : ३३ पटक “सुब्हान अल्लाह”, ३३ पटक “अल्–हम्दु लिल्लाह” र ३४ पटक “अल्लाहु अकबर” । (मुस्लिम)
७६) अली (रजि.) को भनाई अनुसार एक पटक उनी र फातिमा (रजि.) अल्लाहका रसूल (स.) समक्ष यस आसामा उपस्थित भए कि उहाँ (स.) बाट एउटी दासी माग्न सकियोस् जसले घरको काममा सहयोग पुर्याउने छ । अल्लाहका रसूल (स.) ले मनाही गर्नुभयो र भन्नुभयो “के तिमीलाई म त्यस भन्दा उत्तम चीज दिउँ जुन तिमी मबाट माग्न आएकी छौ ?” ती दुबै जनाले भने “अवश्य नै ।” उहाँ (स.) ले भन्नुभयो, “केही शब्दहरु छन् जुन मलाई जिब्रईल (अ.) ले सिकाएको हो । तिमी दुबै जना प्रत्येक नमाज पछि दस पटक “सुब्हान अल्लाह”, दस पटक “अल्–हम्दु लिल्लाह”, र दस पटक “अल्लाहु अकबर” भन । र सुत्नु भन्दा अगाडी ३३ पटक “सुब्हान अल्लाह” ३३ पटक “अल्–हम्दु लिल्लाह” र ३४ पटक “अल्लाहु अकबर” भन ।
७७) सअ्द बिन अबी वकास (रजि.) आफ्ना सन्तानहरुलाई यो शब्दहरु सिकाउँथे जस्तै एउटा गुरु शिष्यलाई लेख्न सिकाउँछ । अनि भन्थे, अल्लाहका रसूल (स.) नमाजपछि यी शब्दहरुको माध्यमले अल्लाहको शरण चाहनुहुन्थ्यो : हे अल्लाह ! म कन्जुस्याँइबाट, कायरताबाट, वृद्धत्वबाट, सांसारिक परीक्षाबाट र चिहानको यातनाबाट तिम्रो शरण चाहन्छु । (बुखारी र तिर्मिजी)
टिप्पणियाँ