१) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “अस्रको (फर्ज) नमाज पढेपछि सूर्यास्तसम्म अरु कुनै नमाज छैन र फज्रको (फर्ज) नमाज पढेपछि सूर्योदयसम्म अरु कुनै नमाज छैन ।” (बुखारी, मुस्लिम)
२) उक्बा बिन आमिर (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) ले हामीलाई तीन समयमा नमाज पढ्न र पार्थिव शरीरलाई चिहानमा राख्नबाट मनाही गरेका छन् । पहिलो समय सूर्य उदाएर माथि नआएसम्म । दोस्रो समय मध्यान्हको बेला र तेस्रो समय सूर्यास्तको बेला पूर्ण रुपले सूर्यास्त नभएसम्म । (मुस्लिम, अह्मद, अबू दाऊद, नसई, इब्ने माजा)
३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कसैले सूर्यास्त भन्दा पहिले अस्रको नमाजको एक सज्दा (रकअत) पुरा गर्यो भने उसले आफ्नो नमाजलाई पूरा गर्दा हुन्छ । र यदि कसैले सूर्योदय भन्दा पहिले फज्रको नमाजको एक सज्दा (रकअत) पुरा गर्यो भने उसले आफ्नो नमाज पूरा गर्दा हुन्छ ।” (बुखारी, तिर्मिजी)
*विद्वानहरुमध्ये अधिकत्मका अनुसार यदि कसैले सूर्योदय भन्दा पहिले फज्रको नमाज र सूर्यास्त भन्दा पहिले अस्रको नमाजको एक रक्अत् (त्यस रकअतको रुकु र सज्दासँगै) पुरा गर्यो भने उसले त्यो नमाजको समय पायो । उसले अब त्यो नमाज पूरा गर्दा हुन्छ ।
४) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “निद्रामा हुनु हेलचक्रयाइँ गर्नु होईन । हेलचक्रयाइँ गर्नु भनेको त व्युँझेको अवस्थामा (नमाज नपढ्नु) हो । तसर्थ जब तिमीमध्ये कसैले नमाज पढ्न बिर्सियो वा सुत्यो भने नमाज सम्झने बितिकै नामाज पढ्नुपर्छ । (तिर्मिजी, नसई)
५) अबू सईद (रजि.) को भनाई छ कि अल्लाहका रसूल (स.) ले हामीलाई शक्रबारको दिन बाहेक अरु दिनहरुमा मध्यान्हको समयमा नमाज पढ्नबाट मनाही गर्नुहुन्थ्यो । (बैहकी)
*हदीसको संग्रह अबू दाऊदमा अबू कतादा (रजि.) द्वारा पनि यही विषयमा एउटा हदीस उल्लेख भएको छ । यी हदीसहरुमा यद्यपि कमि कमजोरी छन् तर सहाबीहरु (रजि.) को अमलले यी हदीसहरुलाई सहयोग गर्दछ किनभने उनीहरु शुक्रबारको दिन मध्यान्हको समयमा नफ्ल नमाजहरु पढ्ने गर्थे ।
हनफी विद्वानहरुको अनुसार यदि जनाजह (पार्थिव शरीर) त्यसै समय त्यहाँ पुगेको छ भने यी पाँच समयहरुमा जनाजहको नमाज पढ्न सकिन्छ । पवित्र कुरआनको तिलावत (वाचन) गर्दा यदि तिलावतको सज्दाको आयत आयो भने यी समयहरुमा सज्दा गर्न सकिन्छ ।
टिप्पणियाँ