१) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीमध्ये कोही मस्जिदमा नमाज पढ्दा उसले केही नमाज आफ्नो घरको लागि पनि बाँकी राखोस् किनभने अल्लाह तआला उसको नमाजको माध्यमले उसको घरमा बर्कत प्रदान गर्नेछन् ।” (अह्मद, मुस्लिम)
२) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “केही नमाजहरु घरमा पढ र घरलाई कब्र नबनाऊ ।” (मुस्नद इमाम अह्मद)
३) जैद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “घरमा नमाज पढ्नु मेरो यो मस्जिद ( मस्जिदे नबवी) मा नमाज पढ्नुभन्दा उत्तम हो । तर फर्ज नमाज बाहेकको नमाज ।” (अबू दाऊद)
*इमाम मालिक (रह.) र इमाम सौरी (रह.) का अनुसार रातमा पढिने नफ्लहरुलाई घरमा र दिनमा पढिने नफ्लहरुलाई मस्जिदमा पढ्नु अफ्जल हो । (नैल अल्–औतार)
४) मुगीरा बिन शुअ्बा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) राती नफ्ल नमाज पढ्दा यति लामो कियाम गर्नु हुन्थ्यो कि उहाँ (स.) को खुट्टा सुनिन्थ्यो । सहाबीहरु (रजि.) उहाँ (स.) लाई सोध्दा उहाँ (स.) भन्नु हुन्थ्यो “के म अल्लाहको कृतज्ञ भक्त नबनुँ ?” (बुखारी, मुस्लिम, अह्मद, तिर्मिजी, नसई, इब्ने माजा)
५) अब्दुल्लाह बिन हब्शी खस्अमी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सबै भन्दा उत्तम कार्यको विषयमा सोधियो । उहाँ (स.) ले भन्नुभयो, “नमाजमा कियामलाई लम्ब्याउनु हो ।” (अबू दाऊद)
६) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई छ, मलाई यो हदीस उल्लेख गरिएको छ कि अल्लाहका रसूल (स.) ले भन्नुभयो, “बसेर नमाज पढ्नुको पुण्य आधा नमाज समान हो । “(बुखारी)
*सुन्नत र नफ्ल नमाजको केही भाग उभिएर र केही भाग बसेर पढ्ने अनुमति पनि छ । बरु एक रकअतलाई केहीबेर उभिएर र केही बेर बसेर पनि पढ्ने अनुमति छ चाहे सुरुमा बसियोस् वा पछि ।
७) अल्कमा (रजि.) भन्छन्, मैले आइशा (रजि.) सँग सोधे “अल्लाहका रसूल (स.) बसेर दुई रकअत नमाज पढ्दा के गर्नुहुन्थ्यो ? उनले भनिन् “उहाँ (स.) बसेर कुरआन पाठ गर्नुहुन्थ्यो । अनि रुकू गर्नको लागि उभिनु हुन्थ्यो र रुकू गर्नु हुन्थ्यो ।” (मुस्लिम)
८) आइशा (रजि.) भन्छिन्, “मैले राती पढिने नफ्ल नमाजमा अल्लाहका रसूल (स.) लाई कहिले पनि बसेर कुरआन पाठ गर्नु भएको देखेको छैन, यहाँसम्म कि उहाँ (स.) बुढो हुनुभयो । बुढेसकालमा उहाँ (स.) ३० वा ४० आयतहरु बाँकी रहुन्जेलसम्म बसेर कुरआन पढ्नु हुन्थ्यो । अनि उभिएर ती बाँकी आयतहरुलाई पढ्नुहुन्थ्यो अनि सज्दा गर्नुहुन्थ्यो । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*हनफी विद्वानहरुका अनुसार वित्र नमाजहरु, फज्रको समयका सुन्नतहरु र भाकल मानेका नमाजहरुमा पनि उभिनु फर्ज हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
टिप्पणियाँ