सीधे मुख्य सामग्री पर जाएं

नमाजको अवस्थामा गर्न अनुमति भएका कार्यहरु

*अनुमति हुनुको अर्थ अनुसार नमाजको अवस्थामा यदि यी कार्यहरु मध्ये कुनैको अवश्यकता परेमा गर्न सकिन्छ र यसो गर्नाले नमाज नत मक्रुह हुन्छ र न अमान्य हुन्छ ।
*तर यदि रुनु अल्लाहको सजायँको डर वा कुनै रोगको कारणले होइन र रुनुको मात्रा दुई अक्षर वा सो भन्दा बढी छ भने नमाज अमान्य एवं भङ्ग हुनेछ । (अल्–फिक्ह अला अल्–मजाहिब् अल–अर्बआ) 

रुनु

१) अब्दुल्लाह बिन शिख्खीर (रजि.) को भनाई छ,“अल्लाहका रसूल (स.) लाई मैले नमाज पढेको देखें र उहाँ (स.) को छातीबाट रुवाईको आवाज यसरी आइरहेको थियो जस्तो पाकिरहेको भाडोबाट आवाज आउँछ ।” (अहमद, अबू दाऊद, नसई, तिर्मिजी)

२) अली (रजि.) को भनाई छ,“बदरको युद्धको दिन हामीमध्ये केवल मिक्दाद बिन अस्वद (रजि.) बाहेक अरु कोही सवार थिएन । र राती अल्लाहका रसूल (स.) बाहेक कोही रातमा कयाम गर्ने (रातभरि उपासना गर्न) कोही थिएन । उहाँ (स.) एउटा रुखमुनि नमाज पढिरहनु भएको थियो र रोईरहनु भएको थियो र विहान सम्म रोइरहनु भयो र नमाज पढिरहनु भयो ।” (इब्ने हिब्बान)

३) इब्ने उमर (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) को पीडा अति बढ्यो र उहाँ (स.) लाई नमाजको समय भएको सूचना दिइयो अनि उहाँ (स.) ले भन्नुभयो, “अबू बक्रलाई नमाज पढाउन भन ।” आइशा (रजि.) ले भने “अबू बक्र कोमल ह्रदयको हुनुहुन्छ । उहाँ कुरआनको वाचन गर्दा नरुने सामथ्र्य राख्नुहुन्न ।” उहाँ (स.) ले भन्नुभयो उनलाई नमाज पढाउनलाई भन ।” आइशा (रजि.) ले फेरी त्यही कुरा दोहो¥याए । उहाँ (स.)ले भन्नुभयो “उनलाई नमाज पढाउनलाई भन । तिमी स्त्रीहरु त यूसुस (अ.) को बेलाका स्त्रीहरु मध्येका हौ ।” (बुखारी)

घाँटी सफा गर्नु

 ४) अली (रजि.) को भनाई छ,“म एउटा विशेष समयमा अल्लाहका रसूल (स.) समक्ष उपस्थित हुने गर्थें । म भित्र प्रवेश पाउन अनुमति माग्थे । उहाँ (स.) नमाजमा भएकोबेला घाँटी सफा गर्नुहुन्थ्यो र म भित्र प्रवेश हुन्थे र उहाँ (स.) नमाजमा नभएको अवस्थामा भित्र प्रवेश हुने अनुमति दिनुहुन्थ्यो ।(अहमद, नसई)

*हनफी, शाफिई र हम्बली विद्वानहरुका अनुसार यदि घाँटी सफा गर्नु आवश्यकताले हो र दुई अक्षरहरु भन्दा कम छ भने यसले नमाज भङ्ग हुँदैन तर यदि बिना आवश्यकता हो वा आवश्यकताको कारणले त हो तर दुई अक्षरहरु वा सो भन्दा बढी हो भने घाँटी सफा गर्नाले नमाज अमान्य हुनेछ । मालिकी विद्वानहरुका अनुसार धाँटी सफा गर्नाले नमाज अमान्य हुँदैन चाहे त्यो थोरै होस् वा धेरै तर यदि बिना आवश्यकता हो भने नमाज अमान्य हुनेछ । (अल्–फिक्ह अला अल–मजाहिब अल्–अर्बआ)

यताउता हेर्नु

फर्ज नमाजमा यताउता हेर्ने अनुमति छैन । फर्ज बाहेक अरु नमाजहरुमा अति आवश्यक परेको बेला मात्र यसको अनुमति रहेको छ। 

५) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “हे मानिसहरु हो ! नमाजमा यताउता नहेर किनभने जो यताउता हेर्छ उसको नमाज मान्य हुदैन । यदि फर्ज बाहेक अरु नमाजहरुमाहो भने अति आवश्यक भएको बेला मात्र यताउता हेर्ने अनुमति छ तर फर्ज नमाजमा कुनै पनि अवस्थामा यताउता नहेर ।” (मुस्नद इमाम अह्मद)

६) अनस (रजि.) को भनाई अनुसारअल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाजमा यताउता नहेर किनभने नमाजमा यताउता हेर्नु बरबाद हुनु हो । अति आवश्यक भएको बेला फर्ज नमाज बाहेकका नमाजहरुमा यताउता हेर, फर्जमा नहेर ।” (तिर्मिजी)। इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) दाहिने र देब्रे तिर हेरेर नमाज पढिरहनु भएको थियो तर पछाडि तीर आफ्नो घाँटिलाई फेर्नुहुन्नथ्यो । (मुस्नद इमाम अह्मद)

सर्प, विच्छी र अरु विशालु र हानीकारक जनावरहरुलाई मार्नु   

७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाजमा दुईवटा काला जनावरहरु, सर्प र विच्छीलाई मार ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

८) सम्पूर्ण हनफी विद्वानहरुका अनुसार नमाजको अवस्थामा सर्प र विच्छीलाई मार्ने अनुमति छ । तर नमाजको विषयमा मत भिन्नता रहेको छ । एउटा भनाई अनुसार यी जनावरहरुलाई मार्नाले नमाज अमान्य हुँदैन चाहे तिनीहरुलाई मार्नु अमले कसीर होस् । दोश्रो भनाई अनुसार यदि तिनीहरुलाई मार्नु अमले कसीर हो भने नमाज अमान्य हुनेछ । (अल्–उर्फ अल्–शज्जि शरहे तिर्मिजी)

अति आवश्यक भएको बेला अलिकति हिड्नु

९) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) घरमा नमाज पढिरहनुभएको थियो र भित्रबाट ढोकालाई बन्द गर्नुभएको थियो । म आएँ र ढोकालाई खोल्न लगाएँ । उहाँ (स.) हिड्नु भयो र ढोका खोलेर आफ्नो नमाजको ठाँउमा फर्कनुभयो । ढोका उहाँ (स.) को अगाडि थियो । (अह्मद, अबू दाऊद, नसई, तिर्मिजी)

१०) आइशा (रजि.) को भनाई छ,“अल्लाहका रसूल (स.) नमाज पढ्ने गर्नुहुन्थ्यो । कोही ढोका खोल्नको लागि भन्दा र ढोका अगाडि वा दाहिने वा देब्रेतिर भएको अवस्थामा ढोका खोल्नुहुन्थ्यो र उहाँ (स.) किब्लातिर पिठ्यूँ फर्काउनु हुन्नथ्यो (अर्थात ढोका उहाँ (स.) को पछाडि भएको अवस्थामा उहाँ (स.) ढोका खोल्नुहुन्नथ्यो) ।” (दार कुत्नी)

११) अर्जक बिन कैस (रजि.) को भनाई अनुसार अबू बर्जा अस्लमी (रजि.) अह्वाज (इराकको एउटा शहरको नाम) को एउटा नहरको किनारामा बसिरहनुभएको थियो र आफ्नो घोडाको लगाम समाति राखेका थिए । उनले नमाज पढ्न सुरु गर्दा घोडा पछाडितिर सर्न थाले । अबू बर्जा (रजि.) पनि घोडासँग पछाडी सर्न थाले । खवारिज मध्येको एक जनाले भन्यो, “हे अल्लाह ! यस बूढोलाई अपमानित तुल्याऊ, यो कसरी नमाज पढिरहेको छ ?” उनले नमाज पढिसकेपछि भने : “मैले तिम्रो कुरा सुनें । म अल्लाहका रसूल (स.) सँग ६,७ वा ८ युद्धहरुमा सहभागी थिएँ, यस कारणले मैले उहाँ (स.) लाई राम्रोसँग देखेको छु र इस्लामको मामीलामा सहजता प्रदान गर्नु भएको पनि मैले राम्ररी बुझेको छु । घोडालाई नमाजको आस्थामा छाडिदिनु र पछि त्यसलाई समात्नु र फर्काएर ल्याउनु भन्दा सजिलो मेरो लागि यो हो कि मँ उसँग पछाडि सरुँ । र, अबू बर्जा (रजि.) ले अस्रको नमाजको दुई रकअत पढे (अर्थात उनी फर्ज नमाज पढिरहनु भएको थियो) । (अह्मद, बुखारी, बैहकी)

*आवश्यकता अनुसार नमाजको अवस्थामा हिड्ने अनुमति प्रत्येक नमाजमा रहेको छ तर फर्ज नमाजमा बढी हिड्दा नमाज अमान्य र भङ्ग हुनेछ ।
*यस विषयमा सम्पूर्ण बिद्वानहरुको सहमति रहेको पाइन्छ । तसर्थ अबू बर्जा (रजि) द्वारा उल्लेखित हदीसलाई “थोरै हिँड्ने” अर्थमा लिनुपर्छ । (फत्ह अल्–बारी)

बाल बालिकालाई बोक्नु

१२) अबू कतादह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले आफ्नो नातिनी उमामा बिन्त जैनब (रजि.) लाई काँधमा बसाएर नमाज पढ्नुभयो । उहाँ (स.) रुकुमा जाँदा उनलाई राखिदिनु भयो र सज्दा र सज्दा पछि उभिंदा पुन उनलाई काँधमा बसाउनु भयो । अम्र बिन सुलैम (रजि.) भन्नुहुन्छ “यस्तो बिहानको नमाजको समयमा भएको हो ।” (मुस्लिम, अह्मद, नसई) 

१३) शद्दाद (रजि.) को भनाई अनुसार एक दिन जोहर वा अस्रको नमाजको समयमा अल्लाहका रसूल (स.)  बाहिर आउनुभयो र उहाँ (स.) ले हसन (रजि.) वा हुुसैन (रजि.) लाई बोकिराख्नु भएको थियो । अल्लाहका रसूल (स.) अगाडि आउनुभयो र नमाज पढाउनको लागि अल्लाहु अकबर भन्नुभयो । नमाजको अवस्थामा एउटा सज्दामा उहाँ (स.) ले धेरै बेरसम्म टाउको भुइँमै राख्नुभयो । मैले आफ्नो टाउको उठाँए र हेरें कि अल्लाहका रसूल (स.) सज्दामा हुनुहुन्छ र बच्चा उहाँ (स.) को पिठ्यूँमा बसिरहेको थियो । म फेरी सज्दाको अवस्थामा गएँ । नमाज समाप्त भए पछि सबै जनाले अल्लाहका रसूल (स.) सँग सोधे “हे अल्लाहका रसूल ! आज नमाज पढ्दा तपाईले एउटा निकै लामो सज्दा गर्नुभयो । सज्दाको अवस्था लामो भएको देखेर लाग्यो कि त तपाईलाई केही भयो वा तपाईमाथि वह्य अवतरित हुन सुरु भयो ।” उहाँ (स.) ले भन्नुभयो “यी दुईमध्ये कुनै पनि कुरा भएको होइन । मेरो छोरा ममाथि बसिरहेको थियो र मलाई मन लागेन कि म उसलाई उसको बस्ने इच्छा हुँदा हुँदा पनि भुँइमा राखुँ ।” (अह्मद, नसई, हाकिम)

औंला, हात वा टाउको हल्लाएर सलामको जवाफ दिनु

१४) जाबिर (रजि.) को भनाई छ,“अल्लाहका रसूल (स.) ले मलाई बनी मुस्तलक समुदायतिर केही कामले पठाउनु भयो । म फर्केर आउँदा उहाँ (स.) उँटमाथि बसेर नमाज पढिरहनुभएको थियो । मैले उहाँ (स.) सँग कुरा गर्दा उहाँ (स.) ले आफ्नो हात हल्लाउनु भयो  मैले फेरि कुरा गरें र उहाँ (स)ले फेरि आफ्नो हात हल्लाउनु भयो (अर्थात हात हल्लाएर इशारा गर्नु भएको) । म उहाँ (स) ले कुरआन पढेको सुनिरहेको थिएँ र उहाँ(स.) आफ्नो टाउकोले इशारा गरिरहनु भएको थियो। नमाज सकेपछि उहाँ (स.) ले भन्नुभयो “जुन कामले मैले तिमीलाई पठाएको थिएँ त्यो काम के भयो ? म नमाज पढिरहेको हुनाले मैले तिम्रो कुराको जवाफ दिइन ।” (अहमद, मुस्लिम)

१५)  सुहैब (रजि.) को भनाई छ “अल्लाहका रसूल (स.) नमाज पढिरहनु भएको थियो, म नजिकबाट गईरहेको थिएँ र उहाँ (स.) लाई मैले सलाम गरें अनि उहाँ (स.) ले औंलाले इशारा गर्नुभयो ।” (अह्मद, तिर्मिजी)

१६) अब्दुल्लाह बिन उमर (रजि.) ले बिलाल (रजि.) सँग सोधे “अल्लाहका रसूल (स.) लाईनमाज पढिरहेको बेलामा कसैले सलाम गर्दा उहाँ (स.) कसरी जवाफ दिनु हुन्थ्यो ?” उनले जवाफ दिए “उहाँ (स.) हातले इशारा गर्नुहुन्थ्यो ।” (अहमद, अबू दाऊद, इब्ने खुजैमा)

*हनफी विद्वानहरुका अनुसार सलामको जवाफ दिनको निम्ति हातले इशारा गर्नु मक्रुह हो । (अल–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

“सुब्हान अल्लाह” भन्नु र ताली बजाउनु

१७) सहल बिन सअ्दी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि कसैलाई नमाजमा कुनै कुराको आवश्यकता भयो (अर्थात इमामले गरेको गल्तीलाई सच्याउन आवश्यक पर्यो) भने उसले “सुब्हान अल्लाह” भन्नुपर्छ । केवल महिलाहरुले ताली बजाएर सचेत गर्नुपर्छ र पुरुषहरुले “सुब्हान अल्लाह” भन्नुपर्छ ।” (अह्मद, अबू दाऊद, नसई)

इमामले किराअत बिर्सदा लुक्मा दिनु

१८) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक दिन नमाज पढाउनुभयो । कुरआन वाचन गर्दा उहाँ (स.) लाई (कुनै आयतको विषयमा) शंका भयो । नमाज सकाएर उहाँ (स.) ले उबै बिन कअ्ब (रजि.) सँग सोध्नुभयो, “के तिमी पनि हामीसँगै नमाज पढिरहेका थियौ ?” उनले भने “हजुर” । उहाँ (स.) ले भन्नुभयो “त्यसो भए तिमीले मलाई किन नसम्झाएको ?” (अबू दाऊद)

१९) मिस्वर बिन यजीद मालिकी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले नमाज पढाउनु भयो र बिर्सेर एउटा आयत छुटाउनुभयो । उहाँ (स.) लाई पछि एउटा व्यक्तिले यो कुरा बतायो अनि अल्लाहका रसूल (स.) ले भन्नुभयोः “त्यसो भए तिमीले मलाई त्यो आयत (नमाजमा नै) किन न सम्झाएको ?” (अबू दाऊद, इब्ने माजा)

२०) अली (रजि.) भन्छन् “यदि इमामले लुक्मा खोज्छ भने उसलाई लुक्मा देऊ ।” (फत्ह अल्–बारी)

*हनफी विद्वानहरुका अनुसार यदि इमाम बिर्सन्छ वा अलमलिन्छ भने पछाडि नमाज पढ्नेहरुले इमामलाई लुक्मा दिने अनुमति छ तर केवल लुक्मा दिने नियतले मात्र कुरआन पढ्ने नियत हुनु हुँदैन किनभने इमामको पछाडि नमाज पढ्दा कुरआन पढ्नु मक्रूह तहरीमी हो । इमामले पनि पछाडि नमाज पढ्नेहरुलाई लुक्मा दिनको लागि बाध्य पर्नु हुँदैन बरु उसले अर्को आयत वा सूरह पढ्न सुरु गर्नुपर्दछ वा यदि उसले साना तीन आयतको बाचन गरिसकेको छ भने रुकूमा जानुपर्छ । तर यदि इमामले पछाडि नमाज पढ्नेहरु बाहेक अरुको लुक्मालाई लिन्छ भने सबै जनाको नमाज अमान्य र भङ्ग हुनेछ । हम्बली, शाफिई र मालिकी बिद्वानहरुका अनुसार इमामको पछाडि नमाज पढ्नेहरुले इमामलाई लुक्मा दिने अनुमति छ यदि इमाम पढ्दा पढ्दा रोकिन्छ र उसलाई लुक्माको आवश्यकता छ भने । (अल्–फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)

कुनै कारणबश लुगा वा फेटामाथि सज्दा गर्नु

२१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एउटा लुगामा नमाज पढ्नुहुन्थ्यो र अतिरिक्त लुगाले गर्मी र चिसोबाट आफूलाई बचाउनुहुन्थ्यो । (मुस्नद इमाम अह्मद)

जुत्ता लगाएर नमाज पढ्नु

*आवश्यकता परेको बेला जुत्ता लगाएर नमाज पढ्ने अनुमति छ (यदि जुत्तामा अपवित्रता लागेको छैन भने) । 

२२) सईद बिन जुबैर (रजि.) भन्छन्,“मैले अनस (रजि.) लाई सोधें के अल्लाहका रसूल (स.) जुत्ता लगाएर नमाज पढ्ने गर्नु हुन्थ्यो ?” उनले जवाफ दिए “हो” । (मुस्लिम)

मनमा यताउताको कुरा खेल्नु


*नमाज पढ्दा यदि मनमा यताउताको कुरा खेल्छ भने यसले गर्दा नमाज अमान्य हुँदैन । 

२३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “नमाजको लागि अजान दिंदा शैतान पिठ्यूँ फर्काएर भाग्छ र उसको हावा निस्केको आवाज आउँछ (अर्थात ऊ तिरमिराएर भाग्छ) किनभने ऊ अजान सु्न्न चाहँदैन । अजान समाप्त भएपछि ऊ फर्केर आउँछ । मान्छेको मनमा यताउताका र बेकारका कुराहरु उत्पन्न गर्न थाल्छ । उसलाई भन्न थाल्छ त्यो चीज याद गर, त्यो कुरालाई याद गर । यतिकैमा उसले बिर्सन्छ कि उसले कति नमाज पढ्यो । यदि तिमीमध्ये कसैलाई यो याद रहँदैन कि उसले ३ रकअत पढ्यो वा ४ रकअत भने उसले बसेर दुई सज्दा गर्नुपर्छ ।” (बुखारी र मुस्लिम) । उमर (रजि.) भन्छन् “म आफ्नो सेनालाई पठाउँथे जबकि म नमाजको अवस्थामा हुन्थें अर्थात कहिले काँही नमाजको अवस्थामा मेरो मन सेनालाई तयार गर्नेतिर लाग्थ्यो ।” (बुखारी)

*तर मानिसले यस प्रकारका सोँच र यताउताका कुराहरु सकभर मनमा नखेलाउनु नै उचित हुन्छ । आफ्नो नमाजमा बढी भन्दा बढी ध्यानमग्न हुनुपर्दछ किनभने नमाजमा उसको ध्यान जति कम हुन्छ त्यति कम पुण्य उसले प्राप्त गर्नेछ । 

२४) अम्मार बिन यासिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिस नमाज पढेर सकाउँछ र उसको नमाजको पुण्यको केवल दसौँ भाग, नवौं भाग, आठौं भाग, सातौं भाग, छैठौं भाग, पाँचौं भाग, चौथो भाग, तेस्रो भाग वा आधा भाग उसको लागि लेखिन्छ ।”  (अबू दाऊद, नसई, इब्ने हिब्बान)

सज्दा गर्दा भुँइ सफा गर्नको लागि फुक्नु

२५) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले सूर्य ग्रहणको नमाजमा सज्दा गर्ने बेला भुँईलाई सफा गर्नको लागि फुक्नु भयो । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, बुखारी)

*तर नफुक्नु उत्तम हो । 

२६) उम्मे सलमा (रजि.) को भनाई अनुसार एउटा केटा, जसको नाम यसार थियो, ले नमाजमा फुक्यो । उसलाई अल्लाहका रसूल  (स.) ले भन्नुभयो, “अल्लाहको लागि, आफ्नो अनुहारलाई धूलोले दूषित नगर (आफ्नो पुण्यलाई बरबाद नगर) ।” (मुस्नद, इमाम अहमद)

*इमाम अबू हनीफा (रह.) का अनुसार यदि फुक्दा आवाज उत्पन्न हुन्छ भने यसले नमाज अमान्य एवं भङ्ग हुनेछ । अरु विद्वानहरुका अनुसार यदि फुक्दा दुई अक्षर बराबरको आवाज उत्पन्न हुन्छ भने नमाज भङ्ग हुनेछ तर यदि एक अक्षर बराबरको आवाज (जस्तैः उफ्) उत्पन्न हुन्छ भने नमाज अमान्य हुनेछैन । (अल् मुग्नी)

आँखा बन्द गर्नु

*नमाज पढ्दा आँखा बन्द गर्ने अनुमति रहेको छ । यसो गर्नु मक्रुह रहेको छ भन्ने अर्थ बोकेको हदीस सही होइन ।

*इमाम इब्ने कैयिम भन्नुहुन्छ “यदि आँखा बन्द गर्नाले एकाग्रतामा बिध्न आउँदैन भने आँखा बन्द गर्नु उत्तम कार्य हो । यदि मनुष्यको अगाडि उसको ध्यानलाई भड्काउने कुनै चीज छ भने यस अवस्थामा उसले आँखा बन्द गर्नु मक्रुह होइन बरु यस अवस्थामा आखाँ बन्द गर्नुलाई अफ्ज़ल भन्नु मक्रुह् भन्ने तुलनामा इस्लामी कानुनको बढी नजिक हो । 

टोपी नलगाई नमाज पढ्नु

*टोपी नलगाई नमाज पढ्ने अनुमति छ । 

२७) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) कहिले काँही टोपी नलगाई नमाज पढ्नुहुन्थ्यो । (इब्ने असाकिर)

*हनफी विद्वानहरुका अनुसार आलस्यको कारणले टोपी नलागई नमाज पढ्नु मक्रुह हो । तर यदि ध्यानमग्न हुनको लागि हो भने यसको अनुमति छ, यसमा कुनै आपत्ति छैन । (अल्–फिक्ह अला अल्– मजाहिब अल् अर्बआ)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...