मुस्लिम समुदायका बिशेषता
१) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मेरो लागि सम्पूर्ण धर्तीलाई पवित्र र मस्जिद बनाइएको छ । तसर्थ जसलाई नमाजले जहाँ जुन समय भेट्टाउँछ (नमाजको समय हुन्छ) उसले नमाज पढोस् ।” (बुखारी र मुस्लिम)
२) अबू जर (रजि.) भन्छन्, “मैले अल्लाहका रसूल (स.) सँग सोधें “हे अल्लाहका रसूल । धर्तीमा सर्व प्रथम कुन मस्जिद बनाइएको हो ? उहाँ (स.) ले भन्नुभयो “मस्जिदे हराम” । मैले सोधे “अनि?” उहाँ (स.) ले भन्नुभयो “मस्जिदे अक्सा” । मैले सोधें “दुबैको निर्माणको बीचको अवधि कति हो ?उहाँ (स.) ले भन्नुभयो “चालीस वर्ष” । उहाँ (स.) ले फेरी भन्नुभयो “जहाँ नमाजको समय हुन्छ नमाज पढ त्यहीँ मस्जिद हो ।” (बुखारी र मुस्लिम)
मस्जिद निर्माणको महत्व
३) उस्मान (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो अल्लाहको प्रसन्नता प्राप्तिको लागि मस्जिद निर्माण गर्छ, अल्लाहले उसको लागि स्वर्गमा एउटा घर बनाउनेछन् ।” (बुखारी र मुस्लिम)
मस्जिदतिर जानु र त्यहाँ बस्नुको महत्व
४) अबू हुरैरह (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जो मस्जिद गयो र फक्र्यो, जब ऊ मस्जिद गएर फक्र्यो अल्लाह तआलाले उसको लागि अतिथि सत्कार स्वरुप एउटा बगैंचा तयार पारे ।” (बुखारी र मुस्लिम)
५) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमी कसैलाई पटक पटक मस्जिद गएको देख्छौ भने उसको ईमानको साक्षि बस किनभने अल्लाह तआलाको भनाई छः अल्लाहका घर (मस्जिद) हरु त तिनीहरु आबाद राख्छन् जो अल्लाह तथा अन्तिम दिनमाथि ईमान राख्दछन् ।” (अहमद, इब्ने माजा, इब्ने खुजैमा, तिर्मिजी)
६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले आफ्नो घरमा वुजु गर्यो अनि अल्लाहद्वारा फर्ज गरिएको नमाजलाई पढ्नको लागि उसको कुनै पनि घर (मस्जिद) मा गयो भने उसका पाइलाहरु मध्ये पहिलो पाइलाले उसको पापलाई सखाप पार्छ र दोस्रो पाइलाले उसको पदमा बृद्धि गर्छ ।” (मुस्लिम)
मस्जिदमा प्रवेश गर्दा र मस्जिदबाट बाहिर निस्कदाको दुआ
७) अबी हुमैद (रजि.) र अबी उसैद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जब तिमी मस्जिद भित्र जान्छौ, तब यो दुआ पढः हे अल्लाह! मेरो लागि आफ्नो कृपाका ढोकाहरु खोलिदेऊ ।
८) फातिमा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मस्जिदमा प्रवेश गर्दा यो दुआ पढ्नु हुन्थ्योः म अल्लाहको नामले शुरु गर्दछु र शान्ति होस् अल्लाहका रसूलमाथि । हे अल्लाह ! मेरा पापहरुलाई क्षमा गरिदेऊ र आफ्ना अनुग्रहका ढोकाहरु खोलिदेऊ । (अह्मद, इब्ने माजा)
*मस्जिदमा प्रवेश गर्दा दाहिने खुट्टा र बाहिर निस्कदा देब्रे खुट्टालाई पहिले राख्नु मुस्तहब हो ।
मस्जिदमा प्रवेश गरेपछि दुई रकअत नमाज पढ्नु
९) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमीहरुमध्ये कोही मस्जिदमा प्रवेश गर्छ भने ऊ बस्नुभन्दा पहिले दुई रकअत नमाज पढोस् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
*यस नमाजलाई “तहियतुल् मस्जिद” भनिन्छ ।
मस्जिदलाई सादा निर्माण गर्नु र सादा राख्ने आदेश
१०) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “महाप्रलय घटित हुने छैन जबसम्म मानिसहरु एक अर्कासँग मस्जिदको विषयमा प्रतिस्पर्धा गर्ने छैनन् ।(अह्मद, अबू दाऊद, नसई, इब्ने माजा, इब्ने हिब्बान)
११) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मलाई अग्ला र उँचा मस्जिद बनाउने आदेश दिइएको छैन ।” (अबू दाऊद, इब्ने हिब्बान) ।
*अबू दाऊदमा यो वाक्य प्रयोग भएको छः इब्ने अब्बास (रजि.) ले भन्नुभयो “तिमीहरु, अवश्य नै, यहुदि र इसाइहरुले जस्तै मस्जिदहरुलाई सिंगार्ने छौ ।”
१२) उमर (रजि.) ले मस्जिद निर्माणको आदेश दिनुभयो र भन्नुभयो, “मस्जिदहरुलाई वर्षाद्वारा मानिसहरुलाई बचाउने खालका बनाऊ । रातो र पहेंलो सजावटबाट बच किनभने यसले मानिसहरुको ध्यानलाई भंग गर्छ ।” (इब्ने खुजैमा, तअ्लीकात बुखारी)
मस्जिदलाई सफा सुग्घर र सुगन्धित राख्ने आदेश
१३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले आवासहरुमा मस्जिद निर्माण गर्ने र मस्जिदहरुलाई सफा सुग्घर र सुगन्धित राख्ने आदेश दिनुभयो । (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, इब्ने हिब्बान)
मस्जिदमा मनाही गरिएका चीजहरु
१४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “ यी मस्जिदहरुमा पिसाब गर्नु र अपवित्रता फैलाउनु सही हैन । यो केवल अल्लाहको गुणगान गर्ने र कुरआनको बाचन गर्नको लागि हो ।” (मुस्लिम)
१५) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले प्याज, लसुन वा कर्रास (याज र लसुन जस्तै एउटा गन्हाउने तरकारी) खाएको छ, ऊ हाम्रो मस्जिदको नजिक नआओस् किनभने जसले मानिसहरुलाई कठिनाइ हुन्छ त्यसले फरिश्ताहरुलाई पनि कठिनाइ हुन्छ ।” (बुखारी र मुस्लिम)
१६) उमर (रजि.) ले शुक्रबारको दिन खुत्बा दिए र भने, “हे मानिसहरु हो !तिमीहरु दुईथरीको तरकारी खान्छौ जसलाई म नराम्रो ठहर गर्छु । एउटा प्याज र अर्को लसुन । मैले अल्लाहका रसूल (स.) लाई देखेको छु कि यदि कसैबाट यी दुईको गन्ध पाउनु हुन्थ्यो भने उसलाई बकीअ् तर्फ जाने आदेश दिनुहुन्थ्यो । तसर्थ जो त्यसलाई खान्छ उसले त्यसको गन्धलाई पकाएर खाओस् ।” (मुस्लिम, अह्मद, नसई)
१७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीले कसैलाई मस्जिदमा आफ्नो हराएको बस्तुको विषयमा घोषणा गरेको सुन्यौ भने उसलाई भन “अल्लाह तिम्रो सामान भेट्नमा तिम्रो सहयोग नगरुन् किनभने मस्जिदहरु यस कामको लागि निर्माण गरिएका होइनन् । (मुस्लिम)
१८) अबू हुरैरह (रजि.)को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “यदि तिमी मस्जिदमा कसैलाई किनबेच गरेको देख्यौ भने उसलाई भन “अल्लाह तिम्रो व्यापारमा फाइदा नदिउन् । (तिर्मिजी, नसई)
१९) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले मस्जिदमा किनबेच गर्न, कविता पढ्न, हराएको समानको विषयमा घोषण गर्न र शुक्रबारको दिन नमाजभन्दा पहिले घेरा बनाएर बस्नबाट मनाही गर्नुभएको छ । (अबू दाऊद, अह्मद, तिर्मिजी, नसई, इब्ने माजा)
*यस हदीसमा कविताको अर्थ नराम्रा र बेकार कविताहरु हुन् किनभने जुन कवितामा इस्लामको प्रशंसा उल्लेख भएको छ र मानिसहरुलाई राम्रो कामको लागि निम्तो दिइएको छ त्यस्ता कविताहरुलाई मस्जिदमा पढ्ने अनुमति छ ।
२०) अबू हुरैरह् (रजि.) को भनाई अनुसार उमर (रजि.) हस्सान (रजि.) को नजिकबाट जाँदै थिए जबकि उनी (हस्सान (रजि.)) कविताहरु पढ्दै थिए । उमर (रजि.) ले उनलाई छड्के आँखाले हेरे । हस्सान (रजि.) ले भने “म मस्जिदमा कवितारु पढ्ने गर्दथें र त्यहाँ तपाईभन्दा उत्तम व्यक्ति उपस्थित थिए । अनि उनले अबू हुरैरह (रजि.) तिर फर्केर भन्नुभयो, “म तपाईलाई अल्लाहको कसम दिएर भन्छु कि तपाई भनिदिनु उल्लाहका रसूल (स.) ले भनेको तपाईले सुन्नुभयो: “ती वहुदेवबादीहरुलाई मेरो तर्फबाट जवाफ देऊ । हे अल्लाह जिब्रईल (आ.) को माध्यमले सहयोग गर । “अबू हुरैरह (रजि.) ले जवाफ दिए “हो (मैले सुनेको थिएँ) ।” (बुखारी र मुस्लिम)
२१) इब्ने उमर (रजि.) को भनाई अनुसार एक दिन अल्लाहका रसूल (स.) ले मस्जिदमा प्रवेश गर्नुभयो । उहाँ (स.) ले देख्नुभयो कि केही व्यक्तिहरु ठूलो स्वरले कुरआन पढिरहेका थिए । उहाँ (स.) ले भन्नुभयो“नमाज पढ्ने व्यक्ति आफ्नो पालनकर्तासँग गोप्य कुराकानी गर्दछ । तसर्थ उसलाई यस कुराको ज्ञान होस् कि ऊ के कुरा गर्दैछ । तिमीहरु मध्ये कसैले अरुलाई कठिनाई हुने गरी कुरआन नपढोस् । (मुस्नद इमाम अह्मद)
२२) हकीम बिन हजाम (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मस्जिदमा हुदूद लागु नगर्ने र अमीर (इस्लमी राष्ट्रको राष्ट्रपति) लाई कुनै हत्याराको हत्या गर्नलाई नभन्ने । (अबू दाऊद, दार कुत्नी)
मस्जिदमा गर्न हुने कार्यहरु
*यसको अर्थ ती कार्यहरु हुन् जसको विषयमा शंका हुन सक्छ कि मस्जिदमा यी कार्यहरुको अनुमति छ वा छैन, जबकि वास्तवमा ती कार्यहरुको अनुमति रहेको छ।
२३) जाबिर (रजि.) को भनाई अनुसार बिहानको नमाज सकेपछि सूर्योदयसम्म (अल्लाहका रसूल (स.) आफ्नो ठाउँबाट उठ्नु हुन्नथ्ए । सूर्योदय पछि उहाँ (स.) उठ्नुहुन्थ्यो । यस अवधिमा सबैजना अज्ञानताको समयको कुरा गर्थे र हाँस्थे । अल्लाहका रसूल (स.) मुस्कुराउनु हुन्थ्यो ।” (मुस्लिम)
२४) अब्दुल्लाह बिन हारिस (रजि.) को भनाई छ, अल्लाहका रसूल (स.) को समयमा हामी मस्जिदमा रोटी र मासु खाने गर्थ्यौं । (इब्ने माजा)
२५) ईबाद बिन तमीम (रजि.) आफ्नो काकाद्वारा उल्लेख गर्नुहुन्छ कि उनीहरुले अल्लाहका रसूल (स.) लाई मस्जिदमा एउटा खुट्टालाई अर्को खुट्टामाथि राखेर पल्टेको देखे । (बुखारी र मुस्लिम)
२६) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) को मस्जिदमा पल्टिने गर्थे जबकि उनी अविवाहित र वयस्क थिए र उनका पत्नी र सन्तान थिएनन् । (बुखारी, नसई, अह्मद, अबू दाऊद)
*हनफी विद्वानहरुका अनुसार यात्री र मुअ्तकिफ (इअ्तिकाफमा बसेको व्यक्ति) को लागि मस्जिदमा सुत्ने अनुमति छ । अरुहरुको लागि यसो गर्नु मक्रुह को । हम्बली बिद्वानहरुका अनुसार दिनमा सुत्ने अनुमति रहेको छ तर रातमा गाँउको मस्जिदमा सुत्ने अनुमति छ । शहरका मस्जिदहरुमा यसो गर्नु मक्रुह हो । (अल्–फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)
२७) अब्दुर्रह्मान बिन अबी बक्र (रजि.) को भनाई अनुसार एक दिन अल्लाहका रसूल (स.) ले सहाबीहरु (रजि.) सँग सोध्नुभयो “के आज तिमीहरु मध्ये कसैले गरीब गुरुवालाई खाना खुवायौ?” अबू बक्र (रजि.) ले भने “म मस्जिदमा जादाँ एक जना माग्नेले मागिरहेको देखें । मैले अब्दुर्रह्मान (उनका सुपुत्र) को हातमा रोटीको एउटा टुक्रा देखें जुन मैले उबाट लिएर माग्नेलाई दिएँ ।” (अबू दाऊद)
नमाज पढ्न मक्रुह भएका स्थानहरु
२८) आइशा (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “अल्लाह यहुदी र ईसाईहरुलाई धिकारुन्, उनीहरुले आफ्ना नबीहरुको कब्रहरुलाई मस्जिद बनाएका छन् ।” (बुखारी, मुस्लिम, अहमद, नसई) । अबू मर्सद गनवी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “कब्रतिर अनुहार गरेर नमाज नपढ र कब्रहरुमाथि नबस ।” (अह्मद, मुस्लिम)
*हम्बली विद्वानहरुका अनुसार मस्जिमा माग्नु र माग्नेलाई दान दिनु मक्रुह हो । तर उसले नमागिकन वा इमामले भन्नाले उसलाई दान दिने अनुमति छ । शाफिई विद्वानहरुका अनुसार मस्जिदमा माग्नु मक्रुह हो र यदि माग्नाले नमाजीहरुको नमाजमा बाधा उत्पन्न हुन्छ भने यो हराम (अबैध) हो । मालिकी विद्वानहरुका अनुसार माग्नेलाई माग्नबाट रोक्नुपर्छ र उसलाई दान दिनु हुदैन । मस्जिदमा दान दिने अनुमति छ । हनफी विद्वानहरुका अनुसार मस्जिदमा माग्नु हराम हो र माग्नेलाई दान दिनु मक्रुह हो । (अल्– फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)
*माथिको हदीसको विषयमा हनफी विद्वानहरुको भनाई अनुसार यस हदीसमा स्पष्ट उल्लेख भएको छैन कि माग्नेले मस्जिदभित्र मागेको थियो बरु यसको सम्भावना मात्र रहेको छ ।
*हनफी विद्वानहका अनुसार यदि कब्र अगाडि र नजिकमा छ भने कब्रिस्तानमा नमाज पढ्नु मक्रुह हो तर कब्र तल, माथि वा पछाडि छ भने त्यहाँ नमाज पढ्नु मक्रुह होइन । मक्रुह त्यति बेला हुन्छ यदि कब्रिस्तानमा नमाजको लागि सफा सुग्घर ठाउँ बनाइएको छैन तर यदि यस्तो ठाउँ छ भने त्यहाँ नमाज पढ्नु मक्रुह होइन । नबीहरुको कब्रमा नमाज पढ्नु नितान्त मक्रुह होइन ।
*हम्बली विद्वानहरुका अनुसार यदि कब्रिस्तानमा ३ वा सो भन्दा बढी कब्रहरु छन् भने त्यहाँ नमाज पढ्नु मक्रुह हो तर यदि त्यहाँ एउट वा दुईवटा कब्रहरु छन् भने त्यहाँ नमाज पढ्ने अनुमति छ तर कब्र अगाडि हुनु हुँदैन । यदि कब्र अगाडि छ भने नमाज पढ्नु मक्रुह हुनेछ, जनाजहको नमाजको अनुमति छ । शाफिई विद्वानहरुका अनुसार यदि कब्रिस्तान सफा छ भने त्यहाँ नमाज पढ्नु मक्रुह हो चाहे कब्र अगाडि छ वा पछाडि, दाहिने तिर वा देब्रेतिर, माथि छ वा तल । यदि कब्रिस्तान फोहोर छ भने त्यहाँ नमाज पढ्ने अनुमति छैन । शहीदहरु र नबीहरुको कब्रहरुको नजिक नमाज पढ्नु मक्रुह होइन यदि उनीहरुको सम्मानको नियतले नमाज पढिएको छैन भने । मालिकी विद्वानहरुका अनुसार यदि कब्रिस्तानमा अपवित्रता छैन भने त्यहाँ नमाज पढ्ने अनुमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
२९) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले सात ठाँउहरुमा नमाज पढ्नबाट मनाही गर्नुभएको छ, जनावरहरुले गोब्रयाउने ठाउँ, हिडडुल गर्ने बाटो, उँटहरुलाई बाँध्ने ठाउँ, गुस्ल गर्ने ठाउँ, कब्रिस्तान र कअ्बाको छत ।” (इब्ने माजा, अब्द बिन हमीद, तिर्मिजी)
*कअ्बाको भित्र नमाज पढ्ने अनुमति छ ।
३०) इब्ने उमर (रजि.) को भनाई अनुसार कअ्बाको भित्र अल्लाहका रसूल (स.) र उहाँ (स.) सँग उसामा बिन जैद (रजि.), बिलाल (रजि.) र उसमान बिन तल्हा (रजि.) प्रवेश गरे र ढोका बन्द गरे । जब उनीहरुले ढोका खोले सबै भन्दा पहिले म भित्र गएँ । मेरो भेट बिलालसँग भयो । मैले सोधें “के अल्लाहका रसूल (स.) ले नमाज पढ्नु भएको छ?” उनले भने “हो, दुईवटै यमनको खम्बाको बीचमा ।” (बुखारी, मुस्लिम, अहमद)
*हनफी र शाफिई विद्वानहरुका अनुसार जनावरहरुले गोब्रयाउने ठाउँ, जनावरहरुलाई जबह गर्ने ठाँऊ, हिडडुल गर्ने बाटो, उँटहरुलाई बाँधेर राख्ने ठाउँ र गुस्ल गर्ने ठाँउमा नमाज पढ्नु मक्रुह हो । मालिकी विद्वानहरुका अनुसार यी स्थानहरुमा नमाज पढ्ने अनुमति छ तर पवित्र भएको अवस्थामा । यदि अपवित्र छ भने नमाज पढ्ने अनुमति छैन । हम्बली विद्वानहरुका अनुसार यी स्थानहरुमा नमाज पढ्ने अनुमति छैन । अँ, यदि कुनै कारण छ भने नमाज पढ्ने अनुमति छ । (अल्–फिक्ह अला अल्– मजाहिब अल्–अर्बआ)
*इमाम अबू हनीफा (रह.) का अनुसार कअ्बाको छतमा नमाज पढ्नु मक्रुह हो । अरु इमामहरुका अनुसार यसको अनुमति छैन । (दुर्रे मुख्तार, नैल अल्–औतार)
३१) इब्ने अब्बास (रजि.) ले गिर्जाघरमा नमाज पढ्न मन पराउनु भएको छैन । यदि त्यहाँ फोटोहरु छन् भने । (इब्ने अबी शैबा)
*इमाम बुखारी (रह.) लेख्नुहुन्छ “हामी उनीहरुको उपासना स्थलमा मूर्तिभएको कारणले प्रवेश गर्दैनौं । इब्ने अब्बास (रजि.) यहुदीहरुको उपासना स्थलमा नमाज पढ्नुहुन्थ्यो तर जहाँ मूर्तिहरु हुन्थे त्यहाँ नमाज पढ्नुहुन्नथ्यो ।”
*अबू मूसा अश्अरी (रजि.) र उमर बिन अब्दुल् अजीज (रह.) ले गिर्जाघरमा नमाज पढेका छन् । (नैल अल्–औतार)
३२) उमर (रजि.) को लागि नजरानवासीहरुको तर्फबाट चिठ्ठी आयो । त्यसमा लेखिएको थियो “हामीले यहूदीहरुको उपासना स्थल भन्दा सफा सुग्घर अरु ठाँउ भेटेनौं ।” उनले जवाफ दिनुभयो “त्यसलाई पानी र पातहरुले धोऊ र त्यहाँ नमाज पढ् ।”
*शाफिई विद्वानहरुका अनुसार यहूदी र ईसाईहरुका उपासना घरमा नमाज पढ्नु नितान्त मक्रुह हो । हम्बली विद्वानहरुका अनुसार यदि ती स्थानहरुमा अगाडि नै फोटोहरु छन् भने त्यहाँ नमाज पढ्नु केवल मक्रुह हो । (अल्– फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
टिप्पणियाँ