*सुत्रहको शाब्दिक अर्थ पर्दा वा साँध हो । यसको तात्पर्य नमाज पढ्दा आफ्नो अगाडि कुनै बस्तु राख्नु हो जसले गर्दा कोही पनि नमाजीको अगाडिबाट नजाओस् ।
सुत्रहको आदेश
१) अबू सइद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमीहरु मध्ये कसैले नमाज पढ्दा सुत्रहलाई आफ्नो नजिक राखेर नमाज पढोस् ।” (अबू दाऊद, इब्ने माजा)
२) इब्ने उमर (रजि.) को भनाई अनुसार ईदको दिन अल्लाहका रसूल (स.) ईदको नमाज पढाउन जाँदा एउटा भाला सँगै लिएर जाने आदेश दिनु हुन्थ्यो । त्यसलाई उहाँ (स.) को अगाडि गाडिन्थ्यो र उहाँ (स.) त्यस सुत्रह तर्फ फर्केर नमाज पढ्नु हुन्थ्यो । सबैजना उहाँ (स.) को पछाडि हुन्थे । उहाँ (स.) यात्राको बेला पनि यसै गर्नु हुन्थ्यो । (बुखारी र मुस्लिम)
*केही अवस्थाहरुमा अल्लाहका रसूल (स.) द्वारा सुत्रह बिना नै नमाज पढेको प्रमाण छ ।
३) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले खुला ठाउँमा सुत्रह बिना नै नमाज पढ्नुभयो । (अह्मद, अबू दाऊद, बैहकी)
सुत्रह बनाउने बस्तु
४) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो ,“यदि तिमीहरु मध्ये कोही नमाज पढ्छ भने उसले आफ्नो अगाडि कुनै बस्तु सुत्रह स्वरुप राखोस् । यदि कुनै पनि बस्तु छैन भने लौरोलाई नै गाडोस् । यदि उसँग लौरो पनि छैन भने ऊ एउटा धस्रो तानोस् । त्यसपछि यदि सुत्रहको अगाडिबाट केही (मनुष्य वा अरु जनावरहरु) हिँड्छ भने यसमा कुनै आपत्ति छैन । (अह्मद, अबू दाऊद, इब्ने माजा)
*इमाम अह्मद (रह.), सईद बिन जुबैर (रजि.), औजाई (रह.) र साधारण मुहद्दिसहरु धर्सोलाई सुत्रह मान्दछन् । इमाम अबू हनीफा (रह.), मालिक (रह.) र लैस बिन सअ्द (रह.) धर्सोलाई सुत्रह मान्दैनन् । इमाम शाफिई (रह.) इराकमा छँदा धर्सोलाई सुत्रह मान्नु हुन्थ्यो तर मिस्र (इजिप्ट) मा छँदा धर्सोलाई सुत्रह मान्नु भएन । उहाँ भन्नु हुन्थ्यो “नमाजीले सुत्रह स्वरुप राख्नको लागि धर्सो नतानोस् तर ऊ सुन्नतलाई पछ्याउन चाहन्छ भने उसले यसो गरे हुन्छ ।” (अल्–मुग्नी)
सुत्रहलाई नजिक र अलि दाहिने वा देव्रेतिर राख्ने
५) अबू सईद (रजि.) द्वारा उल्लेखित हदीसमा अल्लाहका रसूल (स.) को भनाई छ “नमाजी सुत्रहलाई आफ्नो नजिक राखेर नमाज पढोस् ।” (अबू दाऊद, इब्ने माजा)
६) बिलाल (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले नमाज पढ्नुभयो र पर्खाल र उहाँको बीच लगभग तीन हातको दुरी थियो । (बुखारी, अहमद, नसई)
७) मिक्दाद बिन अस्वद (रजि.) भन्नुहुन्छ, मैले जहिले पनि अल्लाहका रसूल (स.) लाई कुनै हाँगा वा खम्बा वा रुखतिर फर्केर (अर्थात ती वस्तुहरुलाई सुत्रह बनाएर) नमाज पढेको देखें । उहाँ (स.) ले ती बस्तुहरुलाई आफ्नो ठीक अगाडि होइन बरु अलिक दाहिने वा देब्रेतिर राखेको देखें ।” (अह्मद, अबू दाऊद)
इमामको सुत्रह सम्पूर्ण मुक्तदीहरुको सुत्रह हो
८) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, म एउटा गधामाथि चढेर आएँ र त्यतिबेला म वयस्क अवस्थामा पुग्न लागेको थिएँ । अल्लाहका रसूल (स.) मिना (अरबमा एउटा ठाउँको नाम) मा नमाज पढाइरहनु भएको थियो । म सफ (नमाजीको पंक्ति) को अलि अगाडिबाट गएँ र गधालाई चर्नलाई छोडिदिएँ अनि म सफमा सामेल भएँ । यसको लागि कसैले पनि म प्रति आपत्ति जनाएन । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
नमाजीको अगाडिबाट हिँडनु अवैध छ
९) अबू जुहैम अब्दुल्लाह बिन हारिस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जो नमाजीको आगाडिबाट हिड्छ यदि उसलाई यसो गर्नुको पाप कति छ भन्ने बारे ज्ञात भए ऊ नमाजीको अगाडिबाट हिड्नुको सट्टा चालीस वर्ष वा चालीस महिना वा चालीस दिनसम्म नमाजीको अगाडि प्रतिक्षा गर्ने थियो ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
१०) मुतलिब बिन अबी बिदाआ (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) हजरे अस्वद (कालो पत्थर) तिर फर्केर नमाज पढिरहनु भएको थियो र पुरुष तथा स्त्रीहरु उहाँ (स.) को अगाडिबाट हिँडिरहेका थिए जबकि उहाँ (स.) र ती पुरुष तथा स्त्रीहरुको बीचमा सुत्रह नै थिएन ।” (अहमद, अबू दाऊद) ।
*नमाजीको अगाडिबाट हिँड्न मनाही गरिएको चेतावनी कति दुरीबाट हिँडनेहरुको लागि हो भन्ने विषयबारे हदीसहरुमा प्रष्टसँग उल्लेख भएको छैन । हदीसहरुमा केवल “अगाडि” शब्द प्रयोग भएको छ ।
*यस हदीसको आधारमा शाफिई विद्वानहरुको मस्लक यो पनि छ कि नमाजीको अगाडिबाट (अर्थात नमाजी र सुत्रहको बीचबाट) हिँड्ने अवैधता त्यस समय हो जब उसले आफ्नो अगाडि सुत्रह राखेको हुन्छ । यदि ऊ सुत्रह बिना नै नमाज पढिरहेको छ भने उसको अगाडिबाट हिंड्नु अवैध वा मक्रुह होईन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
*हनफी विद्वानहरुका अनुसार यदि कोही ठूलो मस्जिद वा खुला मैदानमा नमाज पढिरहेको छ भने उसको खुट्टा र सज्दा गर्ने ठाउँको बीचबाट हिड्नु हराम हो र यदि सानो मस्जिदमा नमाज पढिरहेको छ भने उसको खुट्टा देखि मस्जिदको पर्खालको बीचबाट हिड्नु हराम हो र यो दुरी चालीस हात हो ।
*मालिकी विद्वानहरुको अनुसार यदि उसले सुत्रह राखेको छैन भने यो दुरी उसको रुकू र सज्दा गर्ने ठाउँसम्म हो र सुत्रह राखेको अवस्थामा सुत्रह सम्म हो । शाफिई बिद्वानहरुका अनुसार यो दुरी उसको खुट्टादेखि तीन हातसम्म हो । यो दुरी सुत्रह राखेको अवस्थामा हो र यदि उसले सुत्रह राखेको छैन भने उसको अगाडिबाट हिड्नुमा कुनै आपत्ति छैन । हम्बली विद्वानहरुका अनुसार यदि उसले सुत्रह राखेको छैन भने यो दुरी तीन हातको हो अन्यथा सुत्रहसम्म (अर्थात सुत्रह राखेको अवस्थामा सुत्रहसम्म) । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
नमाजको अवस्थामा कसैलाई आफ्नो अगाडि हिड्नबाट रोक्नु
११) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरु मध्ये कोही आफ्नो अगाडि कुनै बस्तुलाई सुत्रह राखेर नमाज पढिरहेको छ र कोही उसको अगाडिबाट जान खोज्छ भने उसले उसलाई रोकोस् । यदि ऊ मान्दैन भने उसँग लडोस् (अर्थात हातले रोकोस्) किनभने ऊ शैतान हो ।” (बुखारी र मुस्लिम)
*इमाम नववी (रह.) लेख्नुहुन्छ “कसैलाई आफ्नो अगाडिबाट हिड्न रोक्ने अनुमति त्यस व्यक्तिको लागि छ जसले आफ्नो अगाडि सुत्रह राखेर नमाज पढिरहेको छ वा यस्तो ठाउँमा नमाज पढिरहेको छ जहाँ ऊ निश्चिन्त होस् कि उसको अगाडिबाट कोही पनि हिड्ने छैन । यस विषयमा सबैको सहमति रहेको छ ।” (नैल् अल्–औतार)
*हनफी, शाफिई र हम्बली विद्वानहरुका अनुसार रोक्ने अनुमति छ तर अनिवार्य होइन । मालिकी विद्वानहरुका अनुसार मुस्तहब हो । हनफी विद्वानहरुका अनुसार नमाजीले इशाराले वा टाउको हल्लाएर वा “सुब्हानल्लाह” भनेर र महिलाले ताली बजाएर रोक्ने अनुमति छ, हात बढाएर रोक्ने अनुमति छैन । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
टिप्पणियाँ