सीधे मुख्य सामग्री पर जाएं

तहज्जुद

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सोधियो कि फर्ज नमाज पछि कुन नमाज सबैभन्दा उत्तम छ ? “उहाँ (स.) ले भन्नुभयो, “आधा रातको नमाज (अर्थात तहज्जुद) ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

२) अबू उमामा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरु रातमा कियाम गर (तहज्जुदको नमाज पढ) । किनकि तिमीहरु भन्दा पहिलेका असल भक्तहरुको यस्तो बानी थियो । (तहज्जुद पढ्नु) आफ्नो पालनकर्ताको निकटता प्राप्त गर्नु हो, यसले तिमीहरुको कुकर्मलाई मेटिदिन्छ र तिमीहरुलाई पापबाट बचाउँछ ।” (तिर्मिजी)

३) मुगीरा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले राती कियाम गर्नुभयो र (यति लामो नमाज पढ्नुभयो कि) उहाँ (स.) का दुबै खुट्टाहरु सुन्निए । सहाबीहरु (रजि.) ले उहाँ (स.) सँग सोधे “हे अल्लाहका रसूल ! तपाईको त पहिले र पछिका सम्पूर्ण पापहरु क्षमा गरिएका छन् फेरी पनि तपाई किन यसो गर्नु हुन्छ ?” उहाँ (स.) ले भन्नुभयो, “के म आफ्नो पालनकर्ताको आज्ञाकारी भक्त नबनुँ?” (बुखारी र मुस्लिम)

४) अबू दर्दा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जो राती बिउँझेर नमाज पढ्ने नियत गरेर सुत्छ तर बिहानसम्म सुतेको सुतै हुन्छ उसले त्यही पाउँनेछ जसको उसले नियत गर्यो र उसको निन्द्रा उसको लागि उसको पालनकर्ताको तर्फबाट दान हुनेछ ।” (नसई, इब्ने माजा)

५) इब्ने अब्बास (रजि.) भन्छन्, “एक रात म मेरी सानी आमाकोमा सुतें । त्यस रात अल्लाहका रसूल (स.) पनि उनकै घरमा हुनुहुन्थ्यो । उहाँ (स.) ले केही बेरसम्म आफ्ना घरका सदस्यहरुसँग कुराकानी गर्नुभयो र त्यसपछि सुत्नुभयो । रातको अन्तिम प्रहरमा उठ्नुभयो । उहाँ (स.) ले आकाश तिर हेर्नुभयो र पवित्र कुरआनका यी आयतहरुको बाचन गर्नुभयो “इन्न फी खल्किस् समावाति वल्अर्दि वख्तिलाफिल् लैलि वन्नहार......” उहाँ (स.) ले सूरह (आले इम्रान) को अन्तिमसम्म वाचन गर्नुभयो ।” (बुखारी र मुस्लिम)

६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यदि तिमीहरुमध्ये कोही राती तहज्जुद पढ्नको लागि बिउँझन्छ भने उसले छोटो दुई रकअतहरु पढेर सुरुआत गरोस् ।” (मुस्लिम)

७) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “यदि कोही आधा रातमा बिउँझेर आफ्नी पत्नीलाई पनि उठाउँछ अनि दुबैजना मिलेर नमाज पढ्छन् भने उनीहरुलाई “अज्जाकिरीन वज्जाकिरात” (अर्थातः अल्लाहलाई सम्झने पुरुष तथा महिलाहरु) को श्रेणीमा लेखिन्छ ।” (अबू दाऊद)

८) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये कोही राती उठेर कुरआन पढ्दा यदि कुरआन ठीकसँग पढ्न गाह्रो भइरहेको छ र उसलाई थाहा छैन कि ऊ के भन्दैछ भने ऊ सुतोस् ।” (मुस्लिम)

९) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) मस्जिदमा आउनुभयो र हेर्नुभयो कि दुईवटा खम्बाबीचमा डोरी बाँधिएको छ । उहाँ (स.) ले सोध्नुभयो, “यो के हो?” सहाबीहरु (रजि.) ले भन्नुभयो, “यो जैनब (रजि.) को डोरी हो । उनी नमाज पढ्दा यदि थाक्नु हुन्छ वा उनलाई सहन नसक्ने हुँदा उनी यसलाई समात्छिन ।” उहाँ (स.) ले भन्नुभयो, “यसलाई खोलिदेऊ । तिमीहरु पूmर्तिलो रहुन्जेलसम्म पढ यदि थकाई लाग्छ वा असहय हुन्छ भने सुत ।” (बुखारी र मुस्लिम)

१०) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स) ले भन्नुभयो, “तिमीहरु आफ्नो कार्य क्षमता अनुसार निरन्तर कार्य गर । अल्लाहको कसम ! अल्लाह तआला प्रतिदान दिन थाक्दैनन् जबसम्म तिमीहरु थाकेर निरन्तर कार्य गर्न छोड्छौ । (बुखारी र मुस्लिम)

११) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सँग सोधियो, “अल्लाह तआलाको नजरमा सबैभन्दा उत्तम कार्य कुन हो?” अल्लाहका रसूल (स.) ले जवाफ दिनुभयो, “थोरै भएता पनि निरन्तर रुपले गरिने कार्य ।” (बुखारी र मस्लिम) । अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले उनलाई भन्नुभयो, “हे अब्दुल्लाह ! तिमी त्यस व्यक्ति सरह नहुनु जो रातमा नमाज पढ्ने गथ्र्याे तर पछि उसले रातमा नमाज पढ्न छुटायो ।” (बुखारी र मुस्लिम)

१२) अनस (रजि.) भन्छन् “हामी राती जति बेला चाहन्थ्यौं अल्लाहका रसूल (स.) लाई नमाज पढिरहेको देख्थ्यौं । हामी जुनबेला चाहन्थ्यौं उहाँ (स.) लाई नमाजमा उभिएको देख्थ्यौं । अल्लाहका रसूल (स.) (कुनै) महिनामा रोजा राख्नुहुन्थ्यो (उहाँ (स.) ले निरन्तर रोजा राखेको देखेर) हामी भन्थ्यौं कि अब उहाँ (स.) यस महिनाको कुनै पनि दिन रोजा राख्न छोड्नु हुन्न । अनि उहाँ (स.) ले रोजा नराखेको देख्दा हामी भन्थ्यौं कि अब उहाँ (स.) यस महिनामा कुनै दिन रोजा राख्नु हुन्न ।” (बुखारी, अहमद, नसई)

१३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नु भयो, “रातको अन्तिम एक तिहाई भाग बाँकी रहँदा हाम्रा पालनकर्ता पहिलो आकाशमा ओर्लिन्छन् र भन्छन्, “छ कोही मसँग दुआ गर्ने ताकि म उसको दुआलाई स्वीकार गरुँ ? छ कोही मसँग माग्ने ताकि म उसलाई दिउँ? छ कोही मसति क्षमा याचना गर्ने ताकि म उसलाई क्षमा गरुँ?” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मीजी, नसई इब्ने माजा)

१४) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स) ले भन्नुभयो, “मेरो नजरमा सबैभन्दा प्रिय रोजा (राख्ने तरिका) दऊद (अ.) को रोजा (राख्ने तरिका) हो र मेरो नजरमा सबैभन्दा प्रिय नमाज (पढ्ने तरिका) दाऊद (अ.) को नमाज (पढ्ने तरिका) हो । दाऊद (अ) आधा रातसम्म सुत्नु हुन्थ्यो र एक तिहाई रात नमाज पढ्नु हुन्थ्यो र फेरी रातको छैठौं भाग सुत्नु हुन्थ्यो । यसरी नै उहाँ (अ.) एक दिन रोजा राख्नु हुन्थ्यो र एक दिन रोजा राख्नुहुन्नथ्यो ।” (बुखारी, मुस्लिम, अबू दऊद, नसई, इब्ने माजा)

१५) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले रातमा पढिने नमाजको आदेश दिनु भयो र त्यसको लागि प्रोत्साहित गर्दै हामीहरुलाई भन्नुभयो, “तिमीहरु रातको नमाज पढ चाहे एकै रकअत किन नहोस् ।” (तबरानी)

१६) समुरह बिन जुन्दुब् (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले हामीलाई राती नमाज पढ्ने आदेश दिनुभयो चाहे थोरै होस् वा धेरै र अन्तिममा वित्रको नमाज पढ्ने पनि ।” (तबरानी, बज्जार)

१७) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इशाको नमाज र फज्रको नमाजको अन्तरालमा एघार रकअतहरु पढ्ने गर्नुहुन्थ्यो । प्रत्येक दुई रकअतहरु पछि सलाम फेर्नुहुन्थ्यो र अन्तिममा एक रकअत नमाज पढ्नु हुन्थ्यो ।” (बुखारी, मुस्लिम)

१८) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसुल (स.) रमजान महिनामा होस् वा रमजान बाहेकका महिनाहरुमा कहिले पनि एघार रकअतहरुभन्दा बढी नमाज पढ्नु हुन्नथ्यो । (बुखारी र मुस्लिम) 

१९) मश्रुक (रजि.) भन्छन्, “मैले आइशा (रजि.)सँग अल्लाहका रसूल (स.) को रातको नमाजको विषयमा सोधें अनि उनले भनिन्, “फज्र नमाजका सुन्नतहरु बाहेक सात रकअतहरु, नौ रकअतहरु र एघार रकअतहरु ।” (बुखारी)

२०) आइशा (रजि) को भनाई अनुसार एकजना उभियो र उसले अल्लाहका रसूल (स.) सँग सोध्यो “रातको नमाज कसरी पढ्ने ?” उहाँ(स.) ले भन्नुभयो “रातको नमाज दुई दुई रकअत गरेर पढ्ने । यदि तिमीलाई बिहान हुनलागेको आशंका भयो भने एक रकअत वित्रको नमाज पढ. ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई, मुअत्ता)

२१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रमजानको महिनामा पनि र रमजानको महिना बाहेक पनि एघार रकअतहरु भन्दा बढी पढ्नु हुन्नथ्यो । सुरुमा उहाँ (स.) चार रकअतहरु पढ्नु हुन्थ्यो जुन धेरै राम्रो र लामा हुन्थे । अनि फेरी उहाँ (स.) चार रकअतहरु पढ्नुहुन्थ्यो जुन धेरै राम्रो र लामा हुन्थे । अनि उहाँ (स.) वित्रको नमाजको तीन रकअतहरु पढ्नु हुन्थ्यो । (बुखारी र मुस्लिम)

२२) आइशा (रजि.) सित अल्लाहका रसूल (स.) को रातको नमाजमा किराअत कस्तो हुन्थ्यो भन्ने विषयमा सोधियो। उनले जवाफ दिइन् “अल्लाहका रसूल (स.) को किराअत सबै थरीको हुन्थ्यो । कहिले उहाँ (स.) को स्वर ठूलो हुन्थ्यो । कहिले सानो ।” (अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद)

२३) अबू कतादा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले अबू बक्र (रजि.) लाई भन्नुभयो “म तिम्रो नजिकबाट गएँ र देखें कि तिमी सानो स्वरले कुरआनको बाचन गरिरहेका थियौ । अबू बक्र (रजि) ले जवाफ दिए “जससँग म कुरा गरिरहेको थिएँ उसलाई मैले सुनाएँ ।” उहाँ (स.) ले भन्नुभयो “आफ्नो स्वरलाई अझै ठूलो पार ।” अनि उहाँ (स.) ले उमर (रजि.) लाई भन्नुभयो “म तिम्रो नजिकबाट गएँ र देखें कि तिमी ठूलो स्वरले कुरआन पढिरहेका थियौ ।” उमर (रजि.) ले जवाफ दिए “म उंघ लागेको व्यक्तिलाई उठाउँछु र शैतानलाई भगाउँछु ।” उहाँ (स.) ले भन्नुभयो “आफ्नो स्वरलाई अलि सानो पार ।” (अबू दाऊद, तिर्मिजी)

२४) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) को स्वर यति हुन्थ्यो कि तपाई यदि घरमा नमाज पढिरहनु भएको छ भने कोठामा उपस्थितहरुले सुन्न सक्थे । (अबू दाऊद)

२५) आइशा (रजि.) को भनाई अनुसार यदि कहिले अल्लाहका रसूल (स.) का रातको नमाज बाँकी रहन्थ्यो भने उहाँ (स.) दिनमा बारह रकअतहरु पढ्नु हुन्थ्यो । (मुस्लिम)

२६) उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले भन्नुभयो “जो आफूले तोकेको वजीफा (आफूमाथि सधैं उपासना  गर्न अनिवार्य गरेका नफ्ल उपासना जस्तै तहज्जुदको नमाज आदि) वा त्यसको केही भाग नपढी सुतिरह्यो र त्यस छुटेको भागलाई फज्र अथवा जोहरको नमाजहरुको अन्तरालमा पढ्यो भने उसले राती नै आफ्नो वजिफालाई पूरा पढेको भनी लेखिनेछ ।” (मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...