१) खारिजा बिन हुजाफा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले भन्नुभयो “अल्लाह तआलाले तिमीहरुको सहयोग यस्तो नमाजले गरेका छन् जुन
तिमीहरुको निम्ति रातो उँटहरुभन्दा उत्तम रहेको छ । हामीले भन्यौं, “हे अल्लाहका रसूल ! त्यो नमाज कुन हो ?” उहाँ (स.) ले भन्नु भयो, “ वित्रको नमाज । यस नमाजको समय इशाको नमाजपछि देखि फज्रको
नमाजको समय हुन्जेलसम्म हो ।” (अबु दाऊद, तिर्मिजी, इब्ने माजा, अह्मद)
२) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “हे कुरआनवालाहरु हो ! वित्रको नमाज पढ किनकि अल्लाह तआला
वित्र (बिजोर) हुन् र वित्रलाई मन पराउँछन् ।” (अबू दाऊद, इब्ने माजा)
३) अली (रजि.) भन्छन्, “वित्रको नमाज फर्ज नमाजसरह अनिवार्य होइन तर यो नमाज त्यो
सुन्नत हो जसलाई अल्लाहका रसूल (स.) कायम गर्नु भएको हो ।” (अह्मद, नसई, तिर्मिजी)
४) तल्हा बिन अब्दुल्लाह (रजि.) को भनाई अनुसार नज्दका
बासिन्दाहरुमध्ये एक जना अल्लाहका रसूल(स.) को समक्ष आयो अनि सोध्यो, “दिन र रातमा पाँच नमाजहरु बाहेक ममाथि अरु कुनै नमाज
अनिवार्य छ ?” उहाँ
(स.) ले भन्नु भयो, “छैन तर तिमी आफ्नो मर्जिले (सुन्नत तथा नफ्ल नमाजहरु) पढ ।” (बुुखारी, मस्लिम)
५) बुरैदा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“वित्रको नमाज पढ्नु अधिकार हो, जसले वित्रको नमाज पढेन ऊ हामीमध्येको होइन ।” (हाकिम, अबू दाऊद)
६) अबू मस्ऊद अन्सारी (रजि.) को वर्णन अनुसार अल्लाहका रसूल
(स.) वित्रको नमाजलाई सुरु रातमा पनि पढ्नु हुन्थ्यो, आधारातमा पनि र रातको अन्तिम प्रहरमा पनि । (मुस्नद इमाम
अह्मद)
७) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “तिमीहरुमध्ये कसैलाई रातको अन्तिम प्रहरमा उठ्ने विषयमा आशंका छ, उसले सुरु रातमा नै वित्रको नमाज पढोस् । तर यदि रातको
अन्तिम प्रहरमा उठ्ने कुरा निश्चित छ भने उसले रातको अन्तिम प्रहरमा वित्रको नमाज
पढोस् किनकि रातको अन्तिम प्रहरमा पढिने नमाजमा फरिश्ताहरु आउँछन् र यो अफ्जल हो
।” (अह्मद, मुस्लिम, तिर्मिजी, इब्ने माजा)
८) इब्ने उमर (रजि.) र इब्ने अब्बास (रजि.) भन्छन्, हामीले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुन्यौं
“वित्रको नमाज रातको अन्तिम प्रहरमा एक रकअत हो ।” (अह्मद, मुस्लिम)
९) इब्ने उमर (रजि.) को भनाई अनुसार एकजना उभियो र सोध्यो, “हे अल्लाहका रसूल ! रातको नमाजलाई कसरी पढ्ने?” उहाँ (स.) ले भन्नुभयो “दुई दुई रकअत गरेर पढ र तिमीलाई
बिहान हुन लागेको आशंका भएपछि एक रकअत वित्रको नमाज पढ ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा)
१०) अब्दुल्लाह बिन अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले वित्रको नमाजका तीन रकअतहरु पढ्नु भयो । उहाँ (स.) ले पहिलो रकअतमा सूरह
“सब्बिहिस्म रब्बिकल् अअ्ला दोस्रो रकअतमा “कुल् या अैयुहल् काफिरुन्” र तेस्रो
रकअतमा “कुल् हुवल्लाहु अहद्” पढ्नुभयो । (मुस्नद इमाम अहमद, नसई, दार कुत्नी, हाकिम)
११) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) वित्रको
नमाजमा तीन रकअतहरु पढ्नुहुन्थ्यो र केवल अन्तिम रकअतमा बस्नुहुन्थ्यो । अर्को
हदीसमा यो वाक्य प्रयोग भएको छ “र दोस्रो
रकअतमा उहाँ (स.) सलाम फेर्नुहुन्थ्यो ।” (हाकिम)
१२) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) वित्रको
नमाजका तीन रकअतहरु पढ्ने गर्नु हुन्थ्यो ।” (मुस्नद इमाम अहमद)
१३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रातमा तेह्र
रकअत नमाज पढ्नु हुन्थ्यो । ती रकअतहरु मध्ये वित्रको नमाजका पाँच रकअतहरु हुने
गथ्र्यो र वित्रको नमाजका ती रकअतहरुमा उहाँ (स.) अन्तिम रकअतभन्दा पहिले बस्नु
हुन्नथ्यो ।” (बुखारी र मुस्लिम)
१४) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रातमा
(वित्रको नमाजमा) नौ रकअतहरु पढ्ने गर्नुहुन्थ्यो । ती रकअतहरु मध्ये उहाँ (स.)
केवल आठौं रकअतमा बस्नु हुन्थ्यो । अल्लाह तआलाको गुणगान र दुआ गर्नुहुन्थ्यो अनि
सलाम नफेरिकन उठ्नुहुन्थ्यो । अनि नवौं रकअत पढ्नुहुन्थ्यो र त्यसमा बसेर तशह्हुद
पढ्नुहुन्थ्यो र सलाम फेर्नुहुन्थ्यो । अनि उहाँ (स.) को उमेर बढी भएपछि र
बुढेसकालको आगमन पछि उहाँ (स.) वित्रको नमाजमा सात रकअतहरु पढ्न थाल्नुभयो । र यसरी
नै गर्नुहुन्थ्यो जसरी उहाँ (स.) पहिला गर्नुहुन्थ्यो ।” अर्को हदीसमा उल्लेख छ ।
“उहाँ (स.) वित्रको नमाजमा सात रकअतहरु पढ्नुहुन्थ्यो र छैठौं र सातौं रकअतहरु
बाहेक उहाँ (स.) अरु कुनै रकअतमा बस्नुहुन्नथ्यो र सातौं रकअतमा सलाम फेर्नु
हुन्थ्यो ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, नसई, इब्ने माजा)
१५) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“वित्रमा तीन रकअतहरु नपढ । वित्रलाई
मग्रिबको नमाजसरह नबनाऊ बरु वित्रको नमाजमा पाँच, सात, नौ,
एघार वा सो भन्दा बढी रकअतहरु पढ ।” (मुहम्मद बिन नस्र)
१६) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
वित्रको नमाजमा “सब्बिहिस्म रब्बिकल् अअ्ला”, “कुल् या अैयुहल् काफिरुन” र “कुल् हुवल्लाहु अहद्” पढ्ने
गर्नुहुन्थ्यो । (अबू दाऊद, अह्मद, नसई)
१७) आइशा (रजि.) भन्छिन्, “अल्लाहका रसूल (स.) वित्रको नमाज सकाएर सलाम फेरेपछि बसेर
दुई रकअत नमाज पढ्नुहुन्थ्यो ।” (अह्मद, मुस्लिम, अबू दाऊद, नसई)
१८) अली (रजि.) भन्छन्, “मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें “एक रातमा
दुई पटक वित्रको नमाज (पढ्ने अनुमति) छैन ।” (अबू दाऊद, नसई, तिर्मिजी)
१९) अबू सईद खुद्री (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
ले भन्नुभयो “यदि तिमीहरुमध्ये कोही बिहान वित्रको नमाज नपढेको वा पढ्न बिर्सेको
अवस्थामा बिहान उठ्यो भने याद आउने बित्तिकै उसले वित्रको नमाज पढोस् ।” (अबू
दाऊद)
२०) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“यदि तिमीहरुमध्ये कोही वित्रको नमाज
नपढेको अवस्थामा बिहान उठ्यो भने उसले त्यसबेला वित्र नमाज पढोस् ।” (हाकिम)
२१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
एक महिनासम्म निरन्तर रुपले बिहान, जोहर, अस्र, मग्रिब र इशाका नमाजहरुको अन्तिम रकअतमा रुकूअ् गरेपछि दुआए
कुनूत पढ्नुभयो । उहाँ (स.) बनी सुलैमको बस्तीका रअल, जक्वान र उसिया जातिका मानिसहरुलाई सराप्नु हुन्थ्यो र उहाँ
(स.) को पछाडि नमाज पढ्नेहरु आमीन (हे अल्लाह ! यसलाई स्वीकार गर) भन्थे । (अबू
दाऊद,
मुस्नद इमाम अह्मद)
टिप्पणियाँ