सीधे मुख्य सामग्री पर जाएं

कस्रको नमाज (यात्राको नमाज)

१) यअ्ला बिन उमैया (रजि.) भन्नु हुन्छ, मैले उमर बिन खत्ताब (रजि.) लाई भनें “किन यस्तो हो कि सबैजना अहिले सम्म यात्राको बेलामा कस्र गरि रहेका छन् जबकि अल्लाह भन्छन् ‘र तिमीहरु यात्रामा निस्कँदा यदि काफिरहरुद्वारा सताइने भय हुन्छ भने तिमीहरुले “नमाजे कस्र” पढ्दा कुनै दोष छैन’ तर आज भयको अवस्था बाँकी रहेको छैन?” उमर (रजि.) ले भन्नुभयो “जुन कुराले तिमीलाई आश्चर्य चकित तुल्याएकोे छ सोही कुराले मलाई पनि अचम्मित पारेको थियो अनि मैले अल्लाहका रसूल (स.) लाई यस विषयमा सोधें । उहाँ (स.) ले भन्नुभयो “यो एउटा सदका (दान) हो जुन अल्लाहले तिमीलाई दिएका छन् । तसर्थ तिमी यस सदकालाई स्वीकार गर ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

२) आइशा (रजि.) को भनाई छ, “मक्का मुअज्जमामा दुई रकअत नमाज अनिवार्य गरिएको थियो । अनि अल्लाहका रसूल (स.) मदीना मुनव्वरा आएपछि उहाँ (स.) ले प्रत्येक दुईरकअतहरु सँग दुई रकअतहरु बढाई दिनुभयो । तर मग्रिब नमाजमा कुनै रकअत थप्नु भएन किनकि यो दिनका नमाजहरुको वित्र हो र बिहानको नमाज पनि थप्नु भएन किनकि यस नमाजको किराअत लामो हुन्छ । तर अल्लाहका रसूल (स.) यात्रामा जानेबेला उहाँ (स.) सुरुको नमाज (अर्थात दुई दुई रकअतहरु जुन मक्का मुअज्जमामा अनिवार्य गरिएका थिए) पढ्नु हुन्थ्यो ।” (अह्मद, बैहकी, इब्ने हिब्बान, इब्ने खुजैमा)

३) इब्ने उमर (रजि.) भन्छन्, “मैले अल्लाहका रसूल (स.) अबू बक्र (रजि.), उमर (रजि.) र उस्मान (रजि.) हरुसँग यात्रा गरेको छु । कहिले पनि उनीहरुले दुई रकअतहरु भन्दा बढी नमाज पढेको देखेको छैन । (बुखारी र मुस्लिम)

***हनफी विद्वानहरुका अनुसार यात्रामा कस्र गर्नु वाजिब हो । मालिकी विद्वानहरुका अनुसार यात्रामा कस्र गर्नु नमाजलाई जमाअतका साथ पढ्नु भन्दा बढी सुन्नते मुअक्कदा हुनुको हैसियत राख्दछ । यदि कुनै बटुवाले बटुवा इमाम भेटेन भने उसले एक्लै कस्र गरेर नमाज पढ्नुपर्छ । यात्रामा नरहेको व्यक्तिको पछाडि नमाज पढ्नु उसको लागि मक्रुह हो । शाफिई र हम्बली विद्वानहरुका अनुसार यात्राको बेला कस्र  गर्ने अनुमति रहेको छ तर कस्र गर्नु पुरै नमाज पढ्नुभन्दा अफ्जल हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ) । फज्र र मग्रिबको नमाजमा कस्र नगर्ने विषयमा सबैको सहमति रहेको छ ।

***यात्राको कम से कम दुरी कति हो जसमा कस्र गर्न सकिन्छ भन्ने कुरा न त कुरआनको आयत “र, तिमीहरु यात्रामा निस्कँदा.......” मा र न अल्लाहका रसूल (स.) को कुनै सही हदीसमा यसलाई निश्चित गरिएको छ । अल्लाहका रसूल (स.) को विषयमा बिना शंका प्रमाणित भएको कुरा उहाँ (स.) ले प्रत्येक यात्रामा कस्र गर्नु हो । कुनै पनि यात्रामा उहाँ (स.) ले जसले यस भन्दा कम दुरीको यात्रा गर्छ, उसले कस्र गर्नुहुदैन भन्नु भएको छैन ।

***सहाबीहरु (रजि.) पनि यस विषयमा एक मत छैनन् । विभिन्न सहाबीहरु (रजि.) ले अल्लाहका रसूल (स.) का विभिन्न यात्राहरुको प्रकाशमा छुट्टा छुट्टै सोंच बनाएका छन् । इमाम इब्ने मुन्जिर (रह.) र अरु विद्वानहरुले यस विषयमा सलफका २० भन्दा बढी मसलकको जिकिर गरेकाछन् ।

***अनस (रजि.) को विषयमा उल्लेख भए अनुसार उनी पन्ध्र (१५) मिलको यात्रामा कस्र गर्ने गर्दथे । अली (रजि.) को विषयमा उल्लेख भए अनुसार उनी नख्लिस्तान (शाद्वल ठाउँ) गए र त्यहाँ सबैजनालाई जोहरमा दुई रकअतहरु मात्र पढाए । अनि त्यसै दिन मदीना मुनव्वरा फर्के । जाबिर (रजि.) भन्नुहुन्छ “म (मक्काबाट) अरफात जाँदा कस्र गर्छु ।” (मआलिम् अल्–सुनन्) । 

***इब्ने अब्बास (रजि.) र इब्ने उमर (रजि.) ४८ मिलको यात्रामा कस्र गर्नुहुन्थ्यो र रोजा राख्नु हुन्थ्यो । (बुखारी)

***जाहिरी विद्वानहरुका अनुसार कस्र गर्न सकिने यात्राको कम से कम दूरी निश्चित छैन । प्रत्येक यात्रा जसलाई शब्दकोष (लोगत) वा उर्फ अनुसार यात्रा भनिन्छ त्यस यात्रामा कस्र गर्न सकिन्छ चाहे त्यो यात्राको दुरी लामो होस् वा छोटो । पहिलेका र समकालिन अनुसन्धान गर्ने विद्वानहरुले यसै मसलकलाई अपनाएका छन् । इमाम इब्ने कैयुम (रह.) ले पनि यसै मसलकलाई प्राथमिकता दिएका छन् । (जाद अल्–मीआद)

***मालिकी, शाफिई र हम्बली विद्वानहरुका अनुसार ४८ मिल वा एक दिन र रातको यात्रामा कस्र गर्न सकिन्छ । हनफी विद्वानहरुका अनुसार त्यो यात्रा जसमा पैदल वा उँटमा चढेर तीन दिन लाग्छ (अर्थात ५४ मिल) त्यस यात्रामा कस्र गर्न सकिन्छ । (अल्–फिक्ह अला अल–मजाहिब अल्–अर्बआ)

४) अनस (रजि.) को भनाई अनुसार “अल्लाहका रसूल (स.) सँग मैले मदीनामा जोहरको चार रकअतहरु पढें र जुल् हलीफा (जुन मदीना मुनव्वराबाट ६ मिलको दुरीमा मक्का मुअज्जमा जाँदा अल्लाहका रसूल (स.) को बाटोमा परेको थियो) मा अस्रको नमाजका दुई रकअतहरु पढें ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई) । इमाम इब्ने मुन्जिर (रह.) लेख्नुहुन्छ, “अल्लाहका रसूल (स.) ले यात्राको लागि निस्कनु भन्दा पहिले कस्र गर्नु भएको मेरो जानकारीमा छैन ।”

५) इब्ने अब्बास (रजि.) को भनाई छ, “अल्लाहका रसूल (स.) यात्राका १९ दिन थिए जसमा उहाँ (स.) ले कस्र गरिरहनुभयो । तसर्थ यदि हामी कुनै ठाउँमा १९ दिनसम्म रहन्छौं भने कस्र गरेर नमाज पढ्नेछौं र यदि यसभन्दा बढी दिन रहन्छौं भने पूरा नमाज पढ्नेछौं । (बुखारी)

***इब्ने अब्बास (रजि.) द्वारा र हदीसका अरु संग्रहहरुमा पनि यही हदीस उल्लेख भएको छ । त्यसमा १९ को सट्टा १७, १८ र १५ दिनको जिकिर भएको छ । तर सही बुखारीको यो हदीस सबैभन्दा सही हदीस हो । यस मत भिन्नताको कारण अनुसार केही हदीस उल्लेखकर्ताहरुले पुग्ने र फर्कने दिनलाई गनेका छन् भने केही उल्लेखकर्ताहरुले गनेका छैनन् ।

***अली (रजि.) को भनाई अनुसार यदि कोही १० दिन यात्रामा रहन्छ भने उसले पूरा नमाज पढ्नुपर्छ । (तिर्मिजी) । इब्ने उमर (रजि.) द्वारा दुईवटा हदीसहरु उल्लेख भएका छन् । एउटा हदीसमा उनले भनेका छन् “जो १५ दिन यात्रामा बस्ने छ उसले पूरा नमाज पढ्नुपर्नेछ ।” दोस्रो हदीसमा भनेका छन् “जो यात्रामा १२ दिन बस्नेछ उसले पूरा नमाज पढ्नुपर्नेछ ।” (तिर्मिजी) । उमर (रजि.) ले पनि १५ दिन उल्लेख गरेका छन् । उसमान (रजि.) र अनस (रजि.) ले ४ दिन उल्लेख गरेका छन् । (सुबुल् अल्–सलाम, नैल अल्–औतार)

***हनफी विद्वानहरुका अनुसार यदि कसैले कुनै ठाउँमा १५ दिन वा सो भन्दा वढी बस्ने नियत गर्छ भने त्यस ठाउँमा उसले पूरा नमाज पढ्नेछ । शाफिई र मालिकी विद्वानहरुका अनुसार यदि कसैले कुनै ठाउँमा चार दिन बस्ने नियत गर्छ र उसमाथि त्यस ठाउँमा २० भन्दा बढी नमाजहरु पढ्नु अनिवार्य हुनेछ भने त्यस ठाउँमा उसले पूरा नमाज पढ्ने । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

***यदि कुनै ठाउँमा कोही बाध्यता पूर्वक बसेको छ र हर समय बाध्यता समाप्त हुने बितिकै आफ्नो देश फर्कने बिचारमा छ भने यस्तो ठाउँमा उसले कुनै अवधि निश्चित नगरिकन निरन्तर रुपले कस्र गर्नसक्छ भन्ने कुरामा सारा विद्वानहरुको सहमति रहेको छ । प्रतिष्ठित सहाबीहरु (रजि.) को यस विषयमा केही उदाहरणहरु पाइन्छन् । 

***अनस (रजि.) शाम (सिरिया) मा दुई वर्षसम्म बसिरहनुभयो र कस्र नमाज पढिराख्नु भयो । नाफिअ (रजि.) को भनाई अनुसार इब्ने उमर (रजि.) “आजरबाइजान” मा ६ महिनासम्म बाटोमा बरफको कारणले बसिरहनुभयो र कस्र गरेर नमाज पढिरहनु भयो । अनस (रजि.) को भनाई अनुसार प्रतिष्ठित सहाबीहरु (रजि.) “रामहर्मुज” मा सात महिनासम्म बसे र कस्र गरेर नमाज पढे ।

***हनफी, मालिकी र हम्बली विद्वानहरुको यस विषयमा सहमति रहेको छ । शाफिई विद्वानहरुका अनुसार यस अवस्थामा पनि १८ दिन भन्दा बढी कस्र नगर्ने आदेश छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)

***अल्लाहका रसूल (स.) ले कुनै यात्रामा फर्ज नमाज भन्दा पहिले वा पछि नफ्ल नमाज पढ्नुभएको छ भन्ने कुरा कुनै सही हदीसमा उल्लेख छैन । तर राती वित्रको नमाज र बिहानको सुन्नत नमाजलाई उहाँ (स.) प्रत्येक यात्रामा पढ्ने गर्नुहुन्थ्यो र ती नमाजहरुलाई कहिल्यै छुटाउनु हुन्नथ्यो । (जाद अल्–मिआद)

***यस विषयमा इब्ने उमर (रजि.) र केही अरु सहाबीहरु (रजि.)का मसलक अनुसार यात्रामा सुन्नत नमाजहरु पढ्नु उचित होइन । इब्ने उमर (रजि.) ले एक पटक यात्रामा अरुहरुलाई फर्ज नमाज पछि नमाज पढेको देखे अनि भने “यदि मलाई सुन्नत नमाजहरु पढ्नु नै थियो भने म आफ्ना फर्ज नमाजलाई पूरा पढ्ने थिएँ । हे मेरो भतिज ! म अल्लाहका रसूल (स.) सँग यात्रामा उपस्थित थिएँ । उहाँ (स.) दुई रकअतहरु भन्दा बढी नमाज पढ्नु हुन्नथ्यो । जब अल्लाहका रसूल (स.) बित्नुभयो म अबू बक्र (रजि.) सँग पनि यात्रामा साथ लागेँ । उनीपनि दुई रकअतहरु भन्दा बढी नमाज पढ्नु हुन्नथ्यो । उमर (रजि.) र उसमान (रजि.) को जिकिर भएपछि भन्नुभयो “निश्चय नै अल्लाहका रसूल (मुहम्मद) मा तिमीहरुको लागि उत्तम आदर्श रहेको छ ।” (बुखारी)

***तर हसन बसरी (रह.) भन्नुहुन्छ, “प्रतिष्ठित सहाबीहरु (रजि.) यात्रा गर्दा फर्ज नमाज भन्दा पहिले र पछि सुन्नतहरु र नफ्ल पढ्ने गर्नुहुन्थ्यो ।” यी दुबै थरीका हदीसहरुलाई एकत्रित पारेपछि ज्ञात हुन्छ कि यात्राको बेला सुन्नतहरु र अन्य नफ्ल नमाजहरुलाई छुटाउने अनुमति पनि छ र पढ्ने पनि । नत उनीहरुलाई छुटाउनुमा कुनै आपत्ति छ र न पढ्नुमा नै । तर वित्रको नमाज र बिहानका सुन्नतहरुलाई छुटाउनु उचित होइन ।

६) उमर (रजि.) ले एउटा मान्छेलाई देखे जसमाथि यात्राको अवस्था हावी थियो र ऊ भन्दै थियोः “यदि आज शुक्रबार नभएको भए म हिडिंसक्थें ।” उमर (रजि.) ले भन्नुभयो “जाऊ किनकि शुत्राबारले यात्रा रोक्दैन ।” (मुस्नद इमाम शाफिई (रह.))

***यदि यात्री यात्रामा नरहेको व्यक्तिको पछाडि नमाज पढ्नेछ भने उसले कस्र गर्नुहुदैन पूरै नमाज पढ्नुपर्छ चाहे जमाअतका साथ एक वा त्यसभन्दा पनि कम रकअत पाओस् । इब्ने अब्बास (रजि.) लाई सोधियो “यस्तो किन हुन्छ कि यदि यात्री एक्लै नमाज पढ्छ भने दुई रकअतहरु मात्र पढ्छ र यदि यात्रामा नरहेको व्यक्तिको पछाडि नमाज पढ्छ भने पूरै चार रकअतहरु पढ्छ ?” उनले भने, “यो सुन्नत हो ।” अर्को हदीसमा छ “यो अबुल् कासिम (स.) को सुन्नत हो ।” (अबुल् कासिम अल्लाहका रसूल (स.) को बोलाउने नाम हो । जुन नामले पहिलो बच्चा भएपछि मात्र बोलाइन्छ । यसको अर्थ हुन्छ कासिमको बुबा ।) (मुस्नद इमाम अह्मद)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...