१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“सूर्योदय भएका दिनहरुमध्ये सबैभन्दा
उत्तम दिन शुक्रबारको दिन हो । यस दिन आदम (अ.) (संसारको पहिलो मनुष्य र नबी तथा
रसूल) को जन्म भयो, यसै दिन उनले स्वर्गमा प्रवेश पाए र यसै दिन स्वर्गबाट निकालिए र कयामत पनि
यसै दिन आउने छ ।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई)
२) अबू सईद (रजि.) र अबू हुरैरह (रजि.) को भनाई अनुसार
अल्लाहका रसूल (स.) ले भन्नुभयो, “शुक्रबारको दिन एउटा यस्तो विशेष समय रहेको छ जसमा यदि एउटा
मुस्लिम भक्त दुआ गर्छ र अल्लाहसित भलाई माग्दछ भने अल्लाह तआला उसलाई त्यो भलाई
प्रदान गर्नेछन् र त्यो विशेष समय अस्रको नमाज (पढे) पछि को समय हो । (मुस्नद इमाम
अहमद,
(रह.)
३) जाबिर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“शुक्रबारको दिनमा बाह्र घण्टा
(बाह्रवटा छोटा अवधिहरु) छन् जस मध्ये एक घण्टा यस्तो छ जसमा कुनै मुस्लिम भक्त
यदि अल्लाह तआलासित माग्छ भने अल्लाह तआला उसको आवश्यकतालाई पूरा गरिदिन्छन् ।
तिमीहरु त्यस घण्टालाई अस्रको नमाजपछिको घण्टामा खोज ।” (नसई, अबू दाऊद, हाकिम)
४) अबू सल्मा बिन् अब्दुर्रहमान (रजि.) को भनाई अनुसार सहाबीहरु
(रजि.) मध्ये केही एक ठाँउमा भेला भए अनि
शुक्रबारको दिन दुआ स्वीकार हुने समयको जिकिर गरे । त्यसपछि उनीहरु यसरी
छुट्टिए कि उनीहरु शुक्रबारको दिनको अन्तिम समय त्यो समय नै हो भन्ने विषयमा सहमत
देखिन्थे । (सुनन् इमाम सईद (रह.))
*मुस्लिम र अबू दाऊदमा उल्लेखित मुसा (रजि.) को भनाई अनुसार
अल्लाहका रसूल (स.) ले भन्नुभयो, “यो विशेष घण्टा इमामले मिम्बरमा बस्नु र नमाज समाप्त हुनुको
बीचको समयमा हो ।” तर मुहद्दिसहरुले यस हदीसको सनदलाई दोषयुक्त घोषित गरेका छन् ।
इमाम अह्मद बिन हम्बल (रह.) भन्नुहुन्छ, “अधिकतर हदीसहरुको अनुसार यो विशेष घण्टा अस्रको नमाज पछिको
समयमा हो र यो विशेष घण्टा मध्यान्ह पछि पनि हुन सक्छ ।” इमाम शौकानी (रह.)
भन्नुहुन्छ, “यो
विशेष घण्टा अस्रको नमाज पछिको समय हो भन्ने मत नै उत्तम मत हो । सहाबीहरु (रजि.), ताबिईहरु र इमामहरुले यसैलाई अपनाएका छन् । (नैल अल्–औतार)
५) औस बिन औस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)ले
भन्नुभयो,
“तिमीहरुको दिनहरुमध्ये सबैभन्दा
उत्तम दिन शुक्रबारको दिन हो । यसै दिन आदम (अ.) ले जन्म लिएका थिए र यसै दिन उनको
मृत्यु भएको थियो । यसै दिन कयामत आउने छ । तसर्थ यस दिन तिमीहरु ममाथि धेरै भन्दा
धेरै दरुद पठाऊ किनकी तिमीहरुको दरुदलाई ममा पेश गरिनेछ ।” सहाबीहरु (रजि.) ले भने, “हे अल्लाहका रसूल ! तपाईलाई हाम्रा दरुद कसरी पेश गरिनेछन्
जबकि तपाईको शरीर सडे–गलेको हुनेछ ?” उहाँ (स) ले भन्नुभयो “अल्लाह तआलाले नबीहरुको शरीरलाई खान
जमिनलाई हराम गरिदिएका छन् ।” (अबू दाऊद, नसई, इब्ने माजा, अह्मद)
६) सफ्वान बिन सलीम (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
ले भन्नुभयो, “शुक्रबारको
दिन र शुक्रबारको रातमा ममाथि धेरै भन्दा धेरै दरुद पठाऊ ।” (मुस्नद इमाम शाफिई)
७) अबू सईद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“प्रत्येक मुस्लिम शुक्रबारको दिन
नुहाओस्,
आफूसँग
रहेका लुगाहरुमध्येबाट राम्रो लुगा लगाओस् र यदि उसँग अत्तर छ भने प्रयोग गरोस् ।”
(बुखारी,
मुस्लिम, अहमद)
८) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
कुनै शुक्रबारको दिन भन्नुभयो, “हे मुस्लिमहरु हो ! यस दिनलाई अल्लाह तआलाले तिमीहरुको लागि
ईद बनाइदिएका छन् । तसर्थ तिमीहरु यस दिन नुहाऊ र मिस्वाक गर ।” (तबरानी)
९) अबू हुरैरह (रजि) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“जसले शुक्रबारको दिन आपवित्रतामा
गरिने गुस्ल सरह गुस्ल गर्यो अनि मस्जिद गयो, मानौं उसले एउटा उँटको बलिदान दियो । र जो यसपछिको समयमा
गयो मानौं उसले एउटा गाईको बलिदान दियो । र जो यसपछिको समयमा गयो मानौं उसले सीङ्ग
भएको भेंडाको बलिदान दियो । अनि जो यस पछिको समयमा गयो मानौं उसले एउटा कुखुराको
बलिदान दियो । अनि जो यसपछिको समयमा मस्जिद गयो मानौं उसले अण्डा दानमा दियो ।
यसपछि इमाम आउँदा (अर्थात खुत्बा सुरु भएपछि) फरिश्ताहरु खुत्बा सुन्न थाल्छन्
।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई)
१०) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“जसले शुक्रबारको दिन गुस्ल गर्यो अनि
जुमअ्को नमाजको लागि आयो र जति नफ्ल नमाजहरु पढ्न सक्यो पढ्यो अनि इमामले (खुत्बा
सुरु गरेपछि देखि) खुत्बा नसकिउन्जेलसम्म मौन बस्यो र ध्यानले खुत्बा सुन्यो अनि
उसको (इमामको) पछाडि नमाज पढ्यो, उसको त्यस शुक्रबारको दिन र आउने शुक्रबारको बीचमा हुने
पापहरु र थप तीन दिनका पापहरुलाई क्षमा गरियो ।” (मुस्लिम)
११) इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“यदि तिमीहरु मध्ये कोही मस्जिदमा
त्यसबेला प्रवेश हुन्छ जब इमाम मिम्बरमा (उभिएर खुत्बा दिइरहेको) हुन्छन् भने खुत्बा नसकेसम्म कुनै प्रकारको नमाज पढ्नु वा कुराकानी गर्नु उचित हुँदैन
।” (तबरानी)
१२) अल्लाहका रसूल (स.) ले भन्नुभयो, “तिमीहरुमध्ये कोही मस्जिदमा प्रवेश गर्दा यदि इमाम खुत्बा
दिइरहेका छन् भने उसले छोटो दुई रकअतहरु पढोस् ।” (अह्मद, मुस्लिम् अबू दाऊद)
१३) इब्ने अब्बास (रजि.) को भनाई अनुसार शुक्रबार बिहानको
नमाजमा अल्लाहका रसूल (स.) “अलिफ लाम मीम तन्जील” र “हल् अता अलल् इन्सान” र
जुमअ्को नमाजमा सूरह “जुमुअह्” र सूरह “मुनाफिकून” पढ्ने गर्नुहुन्थ्यो । (अह्मद, मुस्लिम, अबू दाऊद, नसई)
१४) अबू हुरैरह (रजि.) को भनाई अनुसार शुक्रबारको दिन बिहानको
नमाजमा अल्लाहका रसूल (स.) “अलिफ लाम मीम तन्जील” र “हल् अता अलल् इन्सान” पढ्ने
गर्नु हुन्थ्यो । (बुखारी, मुस्लिम, अह्मद, नसई, इब्ने माजा)
१५) यजीद बिन साबित (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
ले ईदको नमाज पढाउनु भयो र जुमअको नमाजको छुट दिनुभयो “जसले जुमअ्को नमाज पढ्न
चाहन्छ पढ ।” (अबू दाऊद, हाकिम, नसई, इब्ने माजा, अह्मद)
१६) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“आज दुईवटा ईदहरु (ईद र जुमअ्)
एकत्रित भएका छन् । तसर्थ तिमीहरु मध्ये कोही जुमअको नमाज पढ्न चाहँदैन भने उसलाई
छुट छ (किनकी) उसको लागि यो (ईदको) नमाज पर्याप्त छ । तर हामी त जुमअ्को नमाज
पढ्नेछौं । ” (अबू दाऊद)
१७) अता बिन अबी रिबाह (रह.) को अनुसार ईद र जुमअका
नमाजहरु एकैदिन एकत्रित हुनाले ईदको नमाज पढिसकेपछि त्यस दिन कसैको लागि पनि न त
जुमअ्को नमाज अनिवार्य रहन्छ र न जोहरको नमाज । यसै मस्लकको उल्लेख सहाबीहरु
(रजि.) मध्येबाट अली (रजि), अब्दुल्लाह बिन जुबैर (रजि) र अब्दुल्लाह बिन अब्बास (रजि) द्वारा भएको पाइन्छ
। अता (रजि) भन्छन्, अब्दुल्लाह बिन जुबैर (रजि.) ले शुक्रबारको दिन ईदको नमाज पढाउनु भयो अनि जब
हामी जुमअ्को नमाजको लागि गयौं उनी आएनन् । हामीहरुले छुट्टाछुट्टै नमाज पढ्यौं ।
अब्दुल्लाह बिन अब्बास (रजि.) “ताइफ” मा थिए । उनी फर्केर आएपछि हामीहरुले उनलाई
यस बारेमा भन्यौं र उनले भनें “उनले (अर्थात अब्दुल्लाह बनि जुबैर (रजि.) ले)
सुन्नत अनुसार अमल गरे ।” (अबू दाऊद)
टिप्पणियाँ