सीधे मुख्य सामग्री पर जाएं

सलातुल् इस्तिस्का (वर्षाको लागि पढिने नमाज)

१) इब्ने अब्बास (रजि.) को भनाई अनुसार गाँउको एक जना व्यक्ति अल्लाहका रसूल (स.)  समक्ष आयो र सोध्यो “हे अल्लाहका रसूल (स.) ! म तपाई समक्ष यस्ता मानिसहरुको तर्फबाट आएको छु जसका गोठालाहरु खडेरीको कारणले कुनै पनि पिउने चिज पाइरहेका छैनन् र न उनीहरुका जनावरहरु कमजोरीका कारणले आफ्नो पुच्छर हल्लाउन समेत सकिरहेका छैनन् । “अल्लाहका रसूल (स.) ले मिम्बरमा चढ्नुभयो र अल्लाह तआलाको प्रशंसा गरेपछि यो दुआ गर्नुभयोः 

اَللَّهُمَّ اسْقِنَا غَيْثاً مُغِيْثاً مَرِيْئاً مَرِيْعاً طَبَقاً غَدَقاً عَاجِلاً غَيْرَ رَائِثٍ

अर्थः हे अल्लाह ! हाम्रो लागि वर्षा गराऊ, प्रशस्त वर्षा, उत्तम परिणाम ल्याउने वर्षा, जमिनलाई हरियाली प्रदान गर्ने वर्षा, चाँडै आउने र ढिलो नगर्ने वर्षा ।

अनि उहाँ (स.) मिम्बरबाट ओर्लनुभयो । त्यसपछि जतातिरबाट जो आए पनि यही भन्थ्यो “हामीकहाँ धेरै पानी पर्यो ।” (इब्ने माजा, अबू अबाना)

२) शर्जील बिन सिम्त् (रजि.) को भनाई अनुसार उनले कअ्ब बिन मुर्रा (रजि.) लाई भने “हे कअ्ब ! हामीलाई अल्लाहका रसूल (स.) को कुनै हदीस सुनाउनुहोस् ।” उनले भने “मुजिर समुदायबाट अल्लाहका रसूल (स.) समक्ष एकजना आयो र भन्यो “हे अल्लाहका रसूल ! मुजिर समुदायको हितमा वर्षाको दुआ गरिदिनु होस् । “अल्लाहका रसूल (स.) ले भन्नुभयो “तिमी मुजिर समुदायको सबैभन्दा साहसी व्यक्ति हौ जस्तो लाग्छ ?” उनले भने “तपाईले अल्लाह तआलासँग मद्दत माग्नु भयो अनि उनले तपाईलाई मदत प्रदान गरे । तपाईले अल्लाह तआलासित दुआ गर्नुभयो अनि उनले तपाईको दुआलाई स्वीकार गरे । “अल्लाहका रसूल (स.) ले आफ्ना दुबै हातलाई उठाएर यो दुआ गर्नुभयोः

اَللَّهُمَّ اسْقِنَا غَيْثاً مُغِيْثاً مَرِيْئاً مَرِيْعاً طَبَقاً غَدَقاً عَاجِلاً غَيْرَ رَائِثٍ نَافِعاً غَيْرَ ضَارٍّ

अर्थः हे अल्लाह ! हाम्रो लागि वर्षा गराऊ, धेरै वर्षा, उत्तम परिणाम ल्याउने वर्षा, जमिनलाई हरियाली प्रदान गर्ने वर्षा , धेरै वर्षा, चाँडो आउने र ढिलो नगर्ने वर्षा, फाईदा दिने र हानी नगर्ने ।

दुआ स्वीकार गरियो र यति पानी पर्यो कि मानिसहरुले अत्यधिक वर्षाको गुनासो गरे अनि भने “घरहरुको क्षति भयो । “उहाँ (स.) ले आफ्ना दुबै हात उठाएर भन्नुभयोः

اَللَّهُمَّ حَوَالَيْنَا لَا عَلَيْنَا

अर्थः हे अल्लाह ! हामीहरुमाथि वर्षा न बर्साऊ बरु हाम्रा वरिपरीका ठाउँहरुमा वर्षाको आवश्यकता छ त्यहाँ बर्साऊ ।” 

यस दुआ पश्चात बादलहरु दाहिने र देब्रेतिर जान थाले । (अह्मद, इब्ने माजा, बैहकी, हाकिम, इब्ने अबी शैबा)

३) शअबी (रह.) को वर्णन अनुसार एक पटक उमर (रजि.) ले अल्लाह तआलासित पानी पार्नको लागि शहरबाट बाहिर निस्केर केवल क्षमा याचना मात्र गर्नुभयो । यस बाहेक अरु कुनै दुआ गर्नु भएन र नमाज पनि पढ्नु भएन । सबैजनाले सोधे, “तपाईले त अल्लाह तआलासित पानी पार्नको लागि कुनै दुआ नै गर्नु भएन ।” उनले भने “मैले अल्लाह तआलसित आकाशका ती ताराहरुको माध्यमले (अर्थात क्षमा याचना गरेर) दुआ गरेको छु जसको उपस्थितिमा अवश्य वर्षा हुनेछ । अनि उनले पवित्र कुरआनको यी दुई आयतहरुको वाचन गरेः

(क) “आफ्ना रबसित क्षमायाचना गर । निस्सन्देह उनी अत्यान्त क्षमाशील छन् । उनी तिमीहरु माथि आकाशबाट खुबै पानी बर्साउनेछन् ।” (सूरह नूहः १०–११)

(ख) “तिमीहरु आफ्ना पालनकर्तासित क्षमायाचना गर र उनैतिर फर्क ।” (सूरह हूदः ५२)

४) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) एक पटक शुक्रबारको दिन मिम्बरमाथि चढेर खुत्वा दिइरहनु भएको थियो । यतिकैमा एक जना मस्जिदमा आयो र भन्यो “हे अल्लाहका रसूल ! धनसम्पत्ति तथा जनावरहरुको क्षति भयो र बाटो बन्द भयो (अर्थात) निर्धनता छायो र कुनै यस्तो वस्तु छैन जसलाई किन्नको निम्ति बजार जाऔं) अल्लाह तआलासित वर्षाको लागि दुआ गरिदिनु होस् ।” अल्लाहका रसूल (स.) ले आफ्ना दुबै हात उठाउनुभयो अनि दुआ गर्नुभयोः

اَللَّهُمَّ اَغِثْنَا اَللَّهُمَّ اَغِثْنَا

अर्थः हे अल्लाह ! हाम्रो लागि पानी पराईदेऊ, हे अल्लाह ! हाम्रो लागि पानी पारिदेऊ। 

अल्लाहको कसम त्यतिबेला आकाशमा कतै पनि बादल थिएन अनि हाम्रो घर र “सलअ” पहाडको बीचका कुनै पनि घर थिएन (अर्थात खुल्ला थियो बादललाई छेख्ने कुनै घर थिएन) यत्तिकैमा हामीले देख्यौं कि पहाडको पछाडिबाट बादल ढाल सहर आइरहेको थियो । त्यो बादल हामीहरुमाथि आएपछि फैलियो अनि पानी पर्न थाल्यो । अल्लाहको कसम ! यस पछि हामीले एक हप्तासम्म सूर्यलाई देखेनौं । अनि अर्को शुक्रबारको दिन अल्लाहका रसूल (स.) मिम्बरमा चढेर खुत्बा दिइरहनु भएको थियो । फेरी त्यही व्यक्ति मस्जिदमा त्यही ढोकाबाट प्रवेश ग¥यो र भन्यो “हे अल्लाहका रसूल ! धनसम्पत्ति र जनावरहरुको क्षति भयो र बाटो बन्द भयो, अल्लाह तआलासित पानी रोक्नको निम्ति दुआ गरिदिनुहोस् ।” अल्लाहका रसूल (स.) ले आफ्ना दुबै हात उठाउनुभयो अनि दुआ गर्नुभयोः 

اَللَّهُمَّ حَوَالَيْنَا لَا عَلَيْنَا اَللَّهُمَّ عَلَى الْآكَامِ وَالظِّرَابِ وَبُطُونِ الْأَوْدِيَةِ وَمَنَابِتِ الشَّجَرِ

अर्थः हे अल्लाह ! हामीहरुमाथि पानी नपराऊ बरु वरिपरीका ठाउँहरुमा पानी पराऊ । हे अल्लाह! घाँटीमा र रुखहरु भएका ठाउँहरुमा पानी पारिदेऊ ।

त्यसैबेला पानी पर्न रोकियो । हामीहरु मस्जिदबाट बाहिर आउँदा घाम चर्किरहेको थियो । (बुखारी र मुस्लिम)

५) अबू हुरैरह (रजि) को भनाई अनुसार एक दिन अल्लाहका रसूल (स) अल्लाह तआलासित वर्षा माग्नको निम्ति सहरबाट बाहिर जानुभयो र बिना कुनै आजान र इकामत उहाँ (स) ले हामीहरुलाई दुई रकअत नमाज पढाउनु भयो । अनि खुत्बा दिनु भयो र अल्लाह समक्ष दुआ गर्नुभयो । आफ्ना दुबै हातलाई उठाएर किब्लातिर फर्कनु भयो । अनि आफ्नो ओढ्नीको दाहिने किनारालाई आफ्नो देब्रेतिर गर्नुभयो र देब्रे किनारालाई दाहिने तिर गर्नुभयो । (अह्मद, इब्ने माजा, बैहकी)

६) अब्दुल्लाह बिन जैद माजनी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) वर्षा माग्नको लागि मानिसहरुसँग शहरभन्दा बाहिर जानुभयो र उनीहरुलाई दुई रकअत नमाज पढाउनु भयो । यस नमाजमा ठूलो स्वरले कुरआन पाठ गर्नुभयो । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद तिर्मिजी, नसई, इब्ने माजा)

७) आइशा (रजि.) को भनाई अनुसार मानिसहरुले अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएर पानी नपरेको गुनासो गरे । यो सुनेर अल्लाहका रसूल (स.) ले मिम्बरलाई मस्जिदमा राख्ने आदेश दिनुभयो । मिम्बरलाई मस्जिदमा राखियो अनि अल्लाहका रसूल (स.) ले मानिसहरुलाई एक दिन शहरभन्दा बाहिर जाने बाचा गर्नुभयो ।

तसर्थ  जुनबेला घाम फैलियो (सूर्योदय भएको केही बेर पछि) अल्लाहका रसूल (स.) बाहिर जानुभयो । उहाँ (स.) मिम्बरमा बस्नुभयो । अल्लाह तआलाको गुणगान गर्नुभयो र “अल्लाहु अक्बर”, “अल्लाहु अक्बर” भनिराख्नुभयो । अनि अल्लाहका रसूल (स.) ले मानिसहरुलाई संबोधन गरेर भन्नुभयो, “तिमीहरु खडेरीको गुनासो गरिरहेका छौ । जबकि अल्लाह तआलाले तिमीहरुलाई दुआ गर्ने आदेश दिएका छन्  तिमीहरुको त्यस दुआलाई स्वीकार्ने बाचा गरेका छन् । अनि उहाँ (स.) ले यो दुआ गर्नुभयोः

اَلْحَمْدُ لِلَّه رَبِّ الْعَالَمِيْنَ الرَّحْمَانِ الرَّحِيْمِ مَالِكِ يَوْمِ الدِّيْنِ لَا اِلَهَ اِلَّا اللَّهُ يَفْعَلُ مَا يُرِيْدُ, اَللَّهُمَّ لَا اِلَهَ اِلَّا اَنْتَ, اَنْتَ الْغَنِيُّ وَنَحْنُ الْفُقَرَاءُ, اَنْزِلْ عَلَيْنَا الغَيْثَ, وَاجْعَلْ مَا اَنْزَلْتَ قُوَّةً وَبَلَاغَاً اِلَى حِيْنٍ

अर्थः सारा प्रशंसा एवं आभार केवल अल्लाहका लागि हुन् जो समस्त संसारका पालनकर्ता हुन् । जो परम दयालु एवं अत्यन्त करुणामय छन् । जो बदला दिइने दिनको मालिक हुन् । अल्लाह बाहेक कोही उपास्य छैन, उनी जे चाहन्छन् गर्छन् । हे अल्लाह ! तिमीबाहेक कोही उपास्य छैन । तिमी पूर्ण आत्मनिर्भर तथा सबैका आश्रयदाता छौ र हामीलाई तिम्रो नितान्त आवश्यकता छ । हामीहरुको लागि पानी बर्साऊ र जे बर्साउँछौ त्यसलाई हामीहरुको शक्तिको कारण बनाऊ र त्यसलाई हामीहरुलाई आवश्यकता पर्ने समयसम्म लम्ब्याऊ ।

अनि फेरि उहाँ (स.) ले आफ्ना दुबै हातहरुलाई यति उठाउनु भयो कि हामीहरुले उहाँ (स.) का काखीको सेतोपना देख्यौं । अनि आफ्नो पिठ्ँयू मानिसहरु तिर फर्काउनुभयो (अर्थात किब्लातिर फर्कनुभयो) र हात उठाएकै अवस्थामा आफ्नो ओढ्नीको दाहिने किनारालाई देब्रेतिर र देब्रे किनारालाई दाहिनेतिर गर्नुभयो । अनि मानिसहरुतिर फर्किएर मिम्बरबाट ओर्लेर दुई रकअत नमाज पढाउनुभयो । उहाँ (स.) मस्जिद नपुग्दै मेघ गर्जनका साथ पानी पर्यो र वादी आयो । अल्लाहका रसूल (स.) ले मानिसहरु  फटाफट आफ्नो घरतिर दौडेको देखेर हाँस्नुभयो यहाँसम्म कि उहाँ (स.) का बङ्गारा देखियो अनि भन्नुभयो, “म गवाही दिन्छु कि अल्लाह तआला प्रत्येक कुराको क्षमता राख्दछन् र म उनको भक्त र सन्देष्टा हुँ ।” (हाकिम, अबू दाऊद, अबू अवाना, इब्ने हिब्बान)

८) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) निकै बिनम्रता एवं एकाग्रताका साथ सधैं लगाउने कपडा लगाएर शहर भन्दा बाहिर जानु भयो र ईदको नमाज सरह नै उहाँ (स.) ले दुई रकअतहरु पढाउनु भयो। तिमीहरुको यो खुत्वा (अर्थात जुमअ्को खुत्वा जुन नमाजभन्दा पहिले दिइन्छ) दिनु भएन।” (मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

९) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) वर्षाको लागि यो दुआ गर्ने गर्नुहुन्थ्योः

اَللَّهُمَّ اسْقِنَا غَيْثاً مُغِيْثاً هَنِيْئاً مَرِيْئاً مَرِيْعاً غَدَقاً مُجَلِّلاً عَامًّا طبقاً سَحَباً دائماً، اَللَّهُمَّ اسْقِنَا الْغَيْثَ، وَلَا تَجْعَلْنَا مِنَ الْقَانِطِيْنَ اَللَّهُمَّ اِنَّ بِالْعِبَادِ وَالْبِلَادِ وَ الْبَهَائِمِ وَالْخَلْقِ مِنَ الْلاَوَاءِ وَالْجَهْدِ وَالضَّنْكِ مَا لَا نَشْكُوْهُ اِلَّا اِلَيْكَ، اَللَّهُمَّ اَنْبِتْ لَنَا الزَّرْعَ وَاَدِرَّ لَنَا الضَّرْعُ وَاسْقِنَا مِنْ بَرَكَاتِ السَّمَاءِ وَ اَنْبِتْ لَنَا مِنْ بَرَكَاتِ الْاَرْضِ، اَللَّهُمَّ ارْفَعْ عَنَّا الْجُهْدَ وَالْجُوْعَ وَالْعُرَى، وَاكْشِفْ عَنَّا مِنَ الْبَلَاءِ مَا لَا يَكْشِفُهُ غَيْرُكَ، اَللَّهُمَّ اِنَّا نَسْتَغْفِرُكَ اِنَّكَ كَنْتَ غَفَّاراً، فَاَرْسِلِ السَّمَاءَ عَلَيْنَا مِدْرَاراً

अर्थः हे अल्लाह ! हामीहरुको लागि वर्षा गर। प्रसस्त वर्षा, जमिनलाई हरियाली प्रदान गर्ने वर्षा, पर्याप्त वर्षा, फैलिएको र एकपछि अर्को गरेर सधैं आउने वर्षा। हे अल्लाह ! हामीहरुमाथि वर्षा अवतरित गर र हामीहरुलाई निराश नपार । हे अल्लाह ! भक्तहरुलाई, जमिनलाई, बोल्न नजान्ने जनावरहरुलाई र तिम्रो सारा सृष्टिलाई यति सास्ती र कष्ट छ जसको गुनासो हामी केवल तिम्रो अगाडि गर्दछौं। हे अल्लाह ! हाम्रो लागि हाम्रा फसललाई उब्जाऊ र हाम्रो लागि हाम्रो जनावरहरुको थुनहरुलाई दुधले भरिदेऊ। हामीहरुलाई आकाशबाट बरकत देऊ, जमिनको बरकतलाई फसलको रुपमा उब्जाऊ। हे अल्लाह ! हाम्रा कष्ट, सास्ती, अनाधार र बाँझोपनलाई हटाई देऊ र हाम्रो कष्टहरुलाई हरिदेऊ किनकि तिमीबाहेक कोही कष्ट हर्न सक्षम छैन। हे अल्लाह ! हामी क्षमा याचना गर्छौं। निस्सन्देह तिमी अत्यन्त क्षमाशील छौ। तसर्थ हामीहरु माथि आकाशबाट खुबै पानी बर्साऊ। (मुस्नद इमाम शाफिई)

१०) अम्र बिन शुअ‍ैब (रजि.) का बुबाले उनको हजुरबाले गरेको उल्लेख अनुसार अल्लाहका रसूल (स.) वर्षाको लागि यो दुआ गर्नु हुन्थ्योः

اَللَّهُمَّ اسْقِ بِلَادَكَ وَبَهَائِمَكَ وَانْشُرْ رَحْمَتَكَ وَاَحْيِ بَلَدَكَ الْمَيِّتَ

अर्थः हे अल्लाह ! आफ्ना भक्त तथा गाईवस्तुहरुलाई पानी प्रदान गर । आफ्नो दया प्रदर्शन गर र आफ्नो मृत धर्तीलाई जीवित तुल्याऊ । (अबू दाऊद)

***वर्षा हुन थाले पछि आफ्नो शरीरको कुनै भागलाई खोल्नु र “अल्लाहुम्म सैयिबन् नफिआ” (हे अल्लाह ! यस वर्षालाई फाइदाजनक तुल्याऊ) भन्नु मुस्तहब हो । जुन कुरा आइशा (रजि.) र अनस (रजि.) द्वारा उल्लेख भएको छ । (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, नसई)

टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...