१) अबू हूरैरह (रजि.) भन्छन्, मेरा प्रिय रसूल (स.) ले मलाई तीनवटा काम गर्ने उपदेश दिनुभएको
छः १) प्रत्येक महिना तीन दिन
रोजा (ब्रत) राख्ने २) चाश्तको नमाजका २ रकअतहरु पढ्ने ३) सुत्नुभन्दा पहिले
वित्रको नमाज पढ्ने (बुखारी, मुस्लिम)
२) अबू जर गिफारी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“प्रत्येक स्वस्थ जोर्नी वा हाडको
बदलामा प्रत्येक दिन बिहान तिमीहरुमथि सदका अनिवार्य हुन्छ । तसर्थ तिमीहरुले
प्रत्येक पटक “सुब्हान अल्लाह” भन्नु सदका हो, प्रत्येक पटक “अल्हम्दु लिल्लाह” भन्नु सदका हो, प्रत्येक पटक “अल्लाहु अक्बर” भन्नु सदका हो । प्रत्येक पटक
“ला इलाह इल्लल्लाह” भन्नु सदका हो, प्रत्येक सत्कर्मको आदेश दिनु सदका हो, प्रत्येक कुकर्मबाट रोक्नु सदका हो । र यसको लािग चाश्तको
समयमा पढिने दुई रकअतहरु पर्याप्त छन् ।” (अह्मद, मुस्लिम, अबू दाऊद)
३) नवास बिन् सम्आन (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.)
ले भन्नु भयो “अल्लाह अज्ज व जल्” भन्छन् “हे आदमका सन्तानहरु हो ! तिमी दिनको
सुरुको भागमा चार रकअतहरु पढ्न अल्छी नगर (अर्थात ती चार रकअतहरुलाई पढिराख) । म
दिनको अन्तिम प्रहरमा तिम्रो लागि पर्याप्त हुनेछु (अर्थात तिम्रो राम्रो नराम्रो
कामहरुको हेरविचार म आफ्नो जिम्मामा लिनेछु) ।” (हाकिम, तबरानी, अह्मद, तिर्मिजी, अबू दाऊद, नसई)
४) अबू सईद खुदरी (रजि.) भन्छन्, “अल्लाहका रसूल (स.) (निरन्तर रुपले) चाश्तको नमाज पढ्ने
गर्नुहुन्थ्यो । (यो देखेर) हामीहरु भन्थ्यौं कि अब उहाँ (स.) ले यसलाई छुटाउनु
हुन्न । अनि फेरी उहाँ (स.) यसलाई (यो नमाज पढ्ने क्रमलाई) छुटाउनु हुन्थ्यो (धेरै
दिनसम्म पढ्नु हुन्नथ्यो) । (यो देखेर) हामीहरु भन्थ्यौं कि अब उहाँ (स.) ले यस
नमाजलाई पढ्नु हुनेछैन ।” तिर्मिजी)
५) जैद बिन अर्कम (रजि.) को भनाई अनुसार एक दिन अल्लाहका रसूल
(स.) कुबाका बासिन्दाहरु कहाँ जानुभयो । मानिसहरु चाश्तको नमाज पढिरहेको उहाँ (स.)
ले देख्नुभयो । उहाँ (स.) ले भन्नुभयो “अल्लाहतर्फ फर्कनेहरुको नमाज (अर्थात
चाश्तको नमाज पढ्नेहरुको नमाज) त्यसबेला सुरु हुन्छ जबकि उनका बच्चाहरुका
खुट्टाहरु तातो हुन्छन् । (अह्मद, मुस्लिम, तिर्मिजी)
***चाश्तको नमाजको समय सूर्योदय पछि सूर्य एक भाला बराबर
(अर्थात ३ मिटर जति) माथि भएपछि सुरु हुन्छ र यसको समय मध्यान्ह पछि समाप्त हुन्छ
। तर सूर्योदय पछि सूर्यलाई अझै माथि हुन्जेलसम्म ढिलो गर्नु र घाममा न्यानोपन
आएपछि यस नमाजलाई पढ्नु उत्तम हो ।
***हनफी, शाफिई र हम्बली विद्वानहरुका अनुसार चाश्तको नमाजलाई दिनको
एक चौथाई भाग बितिसकेपछि पढ्न सुरु गर्नु अफ्जल् हो । मालिकी विद्वानहरुका अनुसार
अस्र र मग्रिबको नमाजका बीचमा रहने समय जति समय सूर्योदय पश्चात बितिसकेपछि
चाश्तको नमाज पढ्न सुरु गर्नु अफ्जल् हो । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ)
६) उम्मे हानी (रजि.) को भनाई अनुसार “मक्का विजय भएको दिन
अल्लाहका रसूल (स.) मेरो घरमा आउनु भयो । उहाँ (स.) ले गुस्ल गर्नुभयो अनि आठ
रकअत नमाज पढ्नुभयो । मैले यति छोटो नमाज अरु कुनै देखिन तर उहाँ (स.) रुकू र
सज्दाहरुलाई पूर्ण रुपले गर्नुहुन्थ्यो ।” अर्को हदीसमा यो वाक्यांश उल्लेख भएको छ
“र यो नमाज चाश्तको नमाज थियो ।” (बुखारी र मुस्लिम)
७) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) चाश्तको
नमाजमा चार रकअतहरु पढ्ने गर्नुहुन्थ्यो र (कहिले) यसभन्दा बढी जति इच्छा हुन्थ्यो
पढ्नुहुन्थ्यो । (मुस्लिम)
८) अनस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “जसले चाश्तको नमाजमा बाह्र रकअतहरु पढ्नेछ अल्लाह तआला उसको
लागि स्वर्गमा सुनको एउटा घर बनाउने छन् । (तिर्मिजी, इब्ने माजा)
***इमाम तिर्मिजीले यस हदिसलाई गरीब (अपरिचित)
ठहर गरेका छन् अर्थात यस हदीसका उल्लेखकर्ताहरुको प्रत्येक श्रेणीमा वा केही
श्रेणीहरुमा थोरै उल्लेखकर्ताहरुले उल्लेख गरेका छन् ।
टिप्पणियाँ