नमाज पढ्दा नमाजका क्रियाकलापहरु मध्ये कुनै क्रिया
गर्न छुटेको खण्डमा गरिने सज्दाहरुलाई सज्दा सह्व भनिन्छ । यी सज्दाहरुको संख्या
दुई रहेको छ । अल्लाहका रसूल (स.) पनि कहिलेकाहीँ बिर्सनु हुन्थ्यो । उहाँ (स.) ले
भन्नुभयो, “म पनि एउटा मनुष्य नै हुँ । जसरी तिमीहरु बिर्सने गर्छौ म पनि
बिर्सिन्छु । तसर्थ मैले बिर्सेको बेला मलाई सम्झाउनु ।” (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, नसई, इब्ने माजा)
१) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “यदि कोही आफ्नो नमाजमा बिर्सेर कमि वा बढी गर्छ भने उसले दुईवटा सज्दा
गर्नुपर्छ ।” (मुस्लिम)
२) अबू सईद खुदरी (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “तिमीहरु मध्ये कसैले नमाजमा बिर्सन्छ र यो याद हुँदैन कि उसले तीन रकअतहरु
पढिसक्यो वा चार भने उसले आफ्नो शंकालाई हटाएर विश्वस्त हुने अनि सलाम फेर्नु
भन्दा पहिले दुई सज्दा गर्ने। यसरी यदि उसले पाँच रकअतहरु पढ्न पुग्यो भने (ती
दुई सज्दाहरुले) उसको नमाज जोर संख्यामा परिणत हुनेछ र यदि चार रकअतहरु नै पढेको छ
भने उसको नमाज सम्पन्न हुनेछ र (ती दुई सज्दाहरु गर्नाले) शैतान अपमानित हुनेछ ।”
(अह्मद,
मुस्लिम, अबू दाऊद)
३) मुहम्मद सीरीन (रह.) र अबू हुरैरह (रजि.) ले उल्लेख गरे
अनुसार एक दिन अल्लाहका रसूल (स.) ले हामीहरुलाई जोहर वा अस्रको नमाज पढाउनुभयो र
दुई रकअतहरु पछि सलाम फेर्नु भयो । अनि उहाँ (स.) मस्जिदमा राखिएको एउटा काठको
नजिक आउनु भयो । उहाँ (स.) को अनुहारमा रीसको प्रभाव थियो र उहाँ (स.) ले आफ्नो
दाहिने हातलाई देब्रो हातमा राख्नुभएको थियो । औलाहरुलाई मिलाएर राख्नु भएको थियो
। अनि उहाँ (स.) ले आफ्नो अनुहारलाई देब्रे हातको (हत्केलाको) पछाडि राख्नु भयो ।
यतिकैमा मानिसहरु चाँडै चाँडै उहाँ (स.) समक्ष गए र भने “के नमाजलाई छोटो पारिएको
छ ?”
त्यतिबेला मानिसहरुमा अबू हुरैरह (रजि.), उमर (रजि.) र अरु प्रतिष्ठित सहाबीहरु (रजि.) पनि उपस्थित
थिए तर कसैले पनि उहाँ (स.) सँग कुरा गर्ने साहस गरेनन् । मानिसहरुमा एक जना लामो
हात भएको थियो । उसले भन्यो “हे अल्लाहका रसूल ! के तपाईले बिर्सनु भएको हो वा
नमाज छोटो पारिएको छ ?” उहाँ (स.) ले भन्नुभयो “न त मैले बिर्सेको हुँ र न नमाजलाई छोटो पारिएको छ ।”
अनि उहाँ (स.) ले अरु मानिसहरुसँग सोध्नु भयो “के यो साँचो बोलिरहेको छ ? “सबै जनाले भने “हो” । यो सुनेपछि अल्लाहका रसूल (स.) अगाडि
जानु भयो र बाँकी रहेका नमाजका रकअतहरुलाई पूरा गर्नुभयो । अनि सलाम फेर्नु भयो
“अल्लाहु अकबर” भनेर नमाजमा गरिएको सज्दा जति नै वा त्यो भन्दा लामो सज्दा गर्नु
भयो । फेरी “अल्लाहु अकबर” भनेर टाउको उठाउनु भयो । फेरी “अल्लाहु अकबर” भनेर
सज्दा गर्नुभयो । अनि “अल्लाहु अकबर” भनेर टाउको उठाउनु भयो । यसपछि मुहम्मद बिन
शीरीन (रह.) सँग मानिसहरुले सोधे “के त्यसपछि फेरी अल्लाहका रसूल (स.) ले सलाम
फेर्नु भयो ?” उनले
जवाफ दिए “मलाई इम्रान बिन हुसैन (रजि.) द्वारा जानकारी प्राप्त भयो कि अल्लाहका
रसूल (स.) ले त्यसपछि पनि सलाम फेर्नुभयो ।” (बुखारी, मुस्लिम)
***सज्दा सह्वलाई सलाम भन्दा पहिले गर्ने पनि
अनुमति छ र पछि पनि । कुन अफ्जल् हो भन्ने विषयमा मात्र मत भिन्नता रहेको पाइन्छ
।
यस विषयमा सलफका विभिन्न मस्लकहरू रहेका छन्, जसमध्ये पाँच निम्न लिखित रहेका छन् ः
१) सलाम फेरेपछि सज्दा सह्व गर्नुः यो मस्लक सहाबीहरु
(रजि) मध्ये अली (रजि.), सअ्द बिन अबी वकास (रजि.), अम्मार बिन यासिर (रजि.), अब्दुल्लाह बिन मस्ऊद (रजि.), इमरान बिन हुसैन (रजि.), अनस बिन मालिक (रजि.), मुगीरा बिन शुअ्बा (रजि.) र ताबिईहरुमध्ये अबू सलमा बिन
अब्दुर्रहमान (रह.), हसन बसरी (रह.), इब्राहीम नखई (रह.) , इमरान बिन अब्दुल् अजीज (रह.) अब्दुर्रहमान बिन अबी लैला (रह.) र साइब (रह.)
को हो । यसै मस्लकलाई इमाम सुफयान् सौरी (रह.), इमाम अबू हनीफा (रह.) र उनका (इमाम अबू हनीफा (रह.) का)
शिष्यहरुले अपनाएका छन् ।
२) सलाम फेर्नु भन्दा पहिले सज्दा सह्व गर्नुः यो मस्लक
सहाबीहरु (रजि) मध्ये अबू सईद खुदरी (रह.) र एउटा भनाई अनुसार अबू हुरैरह (रजि.), इब्ने अब्बास (रजि.), मुआविया (रजि.) र अब्दुल्लाह बिन जुबैर (रजि.) को हो र यही
मस्लक इमाम जुह्री (रह.) मक्हूल (रह.), इब्ने अबी जिअ्ब (रह.), औजाई (रह.), लैस बिन सअ्द (रह.) र शाफिई (रह.) को हो ।
३) नमाज पढ्दा
नमाजका क्रियाकलापहरुमा कमी भएको कारणले सज्दा सह्व गर्ने अवस्थामा सलाम
फेर्नुभन्दा पहिले गर्ने र नमाजका क्रियाकलापहरुमा वृद्धि भएको कारणले सज्दा सह्ब
गर्ने अवस्थामा सलाम फेरेपछि गर्ने । यो मसलक इमाम मुज्नी (रह.), अबू सौर (रह.), इमाम मालिक (रह.) र उनका (इमाम मालिक (रह.) का) शिष्यहरुको
हो ।
४) जुन समयमा सलाम फेर्नु भन्दा पहिले वा सलाम फेरेपछि
सज्दा सह्व गर्ने उल्लेख हदीसमा भएको छ ती समयहरुमा त्यसरी नै सज्दा सह्व गर्ने र
यदि हदीसमा उल्लेख नभएको समयमा सज्दा सह्व गर्नु पर्ने भयो भने त्यहाँ सलाम
फेर्नूभन्दा पहिले सज्दा सह्व गर्ने । यो मसलक इमाम अह्मद बिन हम्बल (रह.) को हो ।
५) जुन समयमा सलाम फेर्नुभन्दा पहिले वा सलाम फेरेपछि सज्दा
सह्व गर्ने उल्लेख हदीसमा भएको छ ती समयहरुमा त्यसरी नै सज्दा सह्व गर्ने र यदि
हदीसमा उल्लेख नभएको समयमा सज्दा सह्व गर्नु पर्ने भयो भने त्यहाँ नमाजका
क्रियाकलापहरुमा कमी भएको खण्डमा सलाम फेर्नु भन्दा पहिले सज्दा सह्व गर्ने र
नमाजका क्रियाकलापहरुमा वृद्धि भएको खण्डमा सलाम फेरेपछि सज्दा सह्व गर्ने । यो
मस्लक इमाम इस्हाक बिन राहविया (रह.) को हो । (नैल् अल्–औतार)
***हनफी विद्वानहरुका अनुसार अन्तिम रकअतको तशह्हुद पढेपछि
(साबधानीको निम्ति तशह्हुद, दरुद र दुआ पढेपछि) दाहिने तर्फ एक पटक सलाम फेर्ने अनि दुई सज्दाहरु गर्ने
अनि फेरी बसेर तशह्हुद, दरुद र दुआ पढ्ने अनि दुबैतिर सलाम फेर्ने । शाफिई विद्वानहरुका अनुसार सलाम
फेर्नुभन्दा पहिले दुई सज्दाहरु गर्ने र यसको तरिका माथि अबू सईद (रजि.) द्वारा
उल्लेखित हदीसमा वर्णन भए अनुसार नै हो ।
***हम्बली विद्वानहरुका अनुसार यी दुईवटै सज्दाहरुलाई सलाम
फेर्नुभन्दा पहिले पनि गर्न सकिन्छ र सलाम फेरेपछि पनि । यदि सलाम फेर्नुभन्दा
पहिले गर्ने हो भने यसको तरिका माथि हदीसमा वर्णन भए अनुसार नै हो र यदि सलाम
फेरेपछि हो भने ती दुई सज्दाहरुपछि तशह्हुद पढ्ने अनि दुबैतिर सलाम फेर्ने ।
मालिकी विद्वानहरुका अनुसार यदि यी दुबै सज्दाहरुलाई सलाम फेर्नुभन्दा पहिले गर्ने
हो भने दुई सज्दाहरु गरेपछि (दरुद र दुआ बाहेक) केवल तशह्हुद पढेपछि दुई सज्दाहरु
गर्ने अनि दुबैतिर सलाम फेर्ने । यदि यी दुई सज्दाहरुलाई सलाम फेरेपछि गर्ने हो
भने पहिले दुई सज्दाहरु गर्ने अनि बसेर (दरुद र दुआ बाहेक) तशह्हुद पढेपछि दुबैतिर
सलाम फेर्ने । (अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ)
४) इब्ने मस्ऊद (रजि.) को भनाई अनुसार एक दिन अल्लाहका रसूल
(स.) ले हामीहरुलाई जोहरको नमाजमा पाँच रकअतहरु पढाउनुभयो । उहाँ (स.) लाई
सहाबीहरु (रजि.) ले भने “के नमाजमा वृद्धि भएको छ ?” उहाँ (स.) ले भन्नुभयो “यो किन सोधेको ?” सहाबीहरु (रजि.) ले भने “तपाईले पाँच रकअतहरु पढाउनु भएको छ
।” अनि उहाँ (स.) ले सलाम फेरेपछि दुई सज्दाहरु गर्नुभयो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
***यस हदीसबाट यो पनि ज्ञात हुन्छ कि यदि कोही चौथो रकअतमा नबसिकन
पाँचौ रकअतको लागि उभिइन्छ भने उसको नमाज मान्य हुनेछ ।
***हनफी विद्वानहरुका अनुसार अन्तिम रकअतमा तशह्हुद पढ्नको
लागि बस्नु फर्ज (अनिवार्य) हो । यस कारणले यदि कोही चौथो रकअतमा नबसिकन उभियो भने
जबसम्म उसले पाँचौ रकअतको सज्दा गरेको हुँदैन उसले चौथो रकअतको कअ्दा (तशह्हुद
पढ्नको लागि बस्ने अवस्था) तिर फर्कनुपर्छ र तशह्हुद पढेर सज्दा सह्व गर्नुपर्छ ।
उसको नमाज मान्य हुनेछ । तर यदि उसले पाँचौ रकअतको सज्दा गर्यो भने एउटा अझै रकअत थप्ने । यसो गर्नाले ६ रकअतको नफ्ल
नमाज हुनेछ र अन्तिममा सज्दा सह्व गर्नुपर्छ । यस अवस्थामा फर्ज नमाज अन्तिम
रकअतमा तशह्हुदमा नबसेको कारणले गर्दा अमान्य हुनेछ (अर्थात फर्ज नमाजलाई दोहोर्याउनु पर्नेछ) । (तन्वीर अल्–अब्सार, दुर्रे मुख्तार)
५) इब्ने बुजैमा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
नमाज पढाउनुभयो । दोस्रो रकअतमा तशह्हुद नपढिकन उठ्नुभयो । मुक्तदीहरुले “सुब्हान
अल्लाह” भने तर उहाँ (स.) उभिइ नै रहनुभयो । अनि नमाज सम्पन्न भएपछि दुई सज्दाहरु
गर्नुभयो र सलाम फेर्नु भयो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)
६) मुगीरा बिन शुअ्बा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल
(स.) ले भन्नुभयो “तिमीहरुमध्ये कोही व्यक्ति दोस्रो रकअतमा नबसिकन उभिन लाग्दा
यदि ऊ पूर्ण रुपले उभिएको छैन भने ऊ बसोस् र यदि पूर्ण रुपले उभिसकेको छ भने ऊ
नबसोस् बरु अन्त्यमा दुई सज्दाहरु सज्दा सह्वको लागि गरोस् ।” (अह्मद, अबू दाऊद, इब्ने माजा)
***हनफी विद्वानहरुका अनुसार प्रत्येक वाजिब कार्यलाई बिर्सेर
नगर्नाले वा ढिलो गर्नाले सज्दा सह्व अनिवार्य हुन्छ यसरी नै बिर्सेर वाजिब कार्य
गर्न ढिलो भयो भने सज्दा सह्व अनिवार्य हुन्छ । (आलम्गीरी हेर्नुहोस् “नमाजका
अनिवार्य कार्यहरु”)
७) अबू सईद खुद्री (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो “यदि तिमीहरुमध्ये कसैले नमाज पढ्दा बिर्सियो र थाहा भएन कि उसले तीन
रकअतहरु पढेको छ वा चार रकअतहरु भने उसले आफ्नो शंकाको निवारण गरोस् र निश्चय
गरोस् । अनि सलाम फेर्नुभन्दा पहिले दुई
सज्दाहरु गरोस् ।” (अह्मद, मुस्लिम, अबू
दाऊद)
८) अब्दुर्रहमान बिन औफ (रजि.) भन्छन्, “मैले अल्लाहका रसूल (स.) लाई भन्दै गरेको सुनें “यदि
तिमीहरुमध्ये कसैले नमाज एक रकअत पढें वा दुई रकअतहरु पढें भन्ने विषयमा शंका
हुन्छ भने उसले एक रकअत पढेको छ भनी ठानोस् । यदि उसले दुई रकअतहरु पढेको छ वा तीन
रकअतहरु भनी शंका हुन्छ भने उसले दुई रकअतहरु पढेको छ भनी ठानोस् । यदि उसले तीन
रकअतहरु पढेको छ वा चार रकअतहरु भनी शंका हुन्छ भने उसले उसले तीन रकअतहरु पढेको छ
भनी ठानोस् अनि नमाजको अन्त्यमा सलाम फेर्नुअघि दुई सज्दाहरु गरोस् । (अह्मद, इब्ने माजा, तिर्मिजी)
***हनफी विद्वानहरुका अनुसार माथि उल्लेखित दुईवटा हदीसहरु
मध्ये पहिलो हदीस त्यस व्यक्तिको लागि हो जसलाई नमाजका रकअतहरुमा शंका हुन्छ तर
उसले अनुमान गरेर पत्ता लगाउन सक्षम हुन्छ । यस्तो व्यक्तिले आफ्नो अनुमान
अनुसारको रकअतलाई मान्नुपर्छ । दोस्रो हदीस त्यस व्यक्तिको लागि हो जसलाई आफ्नो
नमाजमा शंका हुन्छ तर ऊ अनुमान गर्नमा सक्षम हुँदैन । अरु विद्वानहरुका अनुसार यो
भिन्नता पाइन्दैन । यसरी नै हनफी विद्वानहरुका अनुसार यदि मानिसलाई नमाजमा शंका
गर्ने बानी छैन र उसलाई जीवनमा पहिलो पटक वा नमाजको सुरुमा शंका भएको छ भने उसले
सलाम फेरेर आफ्नो नमाजलाई भङ्ग गर्नुपर्छ अनि सुरु देखि नमाज पढ्नुपर्छ । अल्लाहका
रसूल (स.) को भनाई छ “उसले आफ्नो नमाजलाई दाहोर्याउने” । यस
विषयमा केही अरु हदीसहरु पनि छन् जसलाई हनफी विद्वानहरु विश्वसनीय ठान्दछन् तर अरु
विद्वानहरुका अनुसार ती हदीसहरु कमजोर श्रेणीका भएका हुनाले विश्वसनीय छैनन् ।
(हिदाया,
नैल अल्–औतार)
टिप्पणियाँ