पवित्र कुरआनमा केही स्थानहरु यस्ता छन् जसलाई यदि कोही
पढ्छ वा कसैले पढेको सुन्छ भने उसले सज्दा गर्नु पर्दछ । यस सज्दालाई सज्दा तिलावत
भनिन्छ ।
***अधिकतम्
विद्वानहरुका अनुसार “सज्दा तिलावत” पढ्ने र सुन्ने दुबैले सज्दा गर्नु सुन्नत हो
। सज्दा तिलावत गर्नु पुण्य प्राप्तिको एउटा माध्यम हो । तर यदि गरिएन भने पाप
लाग्दैन । बुखारीमा एउटा हदीस उल्लेख भए अनुसार एक पटक जुमअ्को खुत्बामा उमर
(रजि.) ले सूरह “नहल” को वाचन गरे । सज्दा गरिने आयतको वाचन गरेपछि मिम्बरबाट
ओर्लेर सज्दा गरे र त्यहाँ उपस्थित मानिसहरुले पनि सज्दा गरे । अर्को शुक्रबारको
दिन जुमअ्को खुत्बामा उनले (उमर (रजि.) ले) फेरी यसै सूरहको वाचन गरे । अनि सज्दा
गरिने आयतको बाचन गरेपछि सज्दा गरेनन् बरु भनें “हे मानिसहरु हो ! हामीहरुलाई
सज्दा गर्ने आदेश दिइएको छैन, जसले सज्दा गर्यो उसले उत्तम कार्य गर्यो र जसले सज्दा गरेन उसले पाप गरेन ।” अर्को हदीसमा उल्लेख
भएको छ “हामीहरुको लागि सज्दा गर्नु फर्ज गरिएको छैन । तर यदि हामी गर्न चाहन्छौं
भने गर्न सक्छौं ।”
१) जैद बिन साबित (रजि.) ले भने, “मैले अल्लाहका रसूल (स.) लाई सूरह “अन्–नज्म” वाचन गरेर
सुनाएँ तर उहाँ (स.) ले यो सुनेर सज्दा गर्नु भएन । (बुखारी, मुस्लिम, अबू दाऊद, अह्मद, तिर्मिजी, नसई)
***हुन त यस सूरहमा सज्दा गर्ने प्रमाण अबू हुरैरह (रजि.)
द्वारा उल्लेखित हदीसमा पाइन्छ जस अनुसार अल्लाहका रसूल (स.) ले सूरह “अन्–नज्म”
मा सज्दा गर्नुभयो र हामीले पनि उहाँ (स.) सँगै सज्दा गर्यौं ।”
(दार कुत्नी, बज्जार)
यदि कुरआनको बाचन गर्ने व्यक्ति स्वयंले सज्दा गर्छ भने सुन्नेले पनि सज्दा गर्नु
जरुरी रहेको कुरामा सबैको सहमति छ । तर यदि कुरआन बाचन गर्ने व्यक्तिले सज्दा गरेन
भने सुन्ने व्यक्ति माथि सज्दा गर्नु जरुरी रहेको छैन ।
***हनफी विद्वानहरुका अनुसार सज्दा तिलावत गर्नु (पढ्ने र
सुन्ने दुबै व्यक्तिको लागि) वाजिब हो किनकी सज्दा तिलावत गर्नको निम्ति कुरआन र
हदीसले जोड दिएको छ । यसको ठूलो विशेषता रहेको छ । यस वाजिब कार्यलाई गर्ने अवधि
कहिले धेरै हुन्छ र कहिले कम । सज्दा तिलावत गर्नको निम्ति धेरै अवधि उसको लागि हो
जो नमाजको अवस्था भन्दा बाहिरको अवस्थामा सज्दा तिलावत उल्लेख भएको आयतको वाचन
गर्छ । यस अवस्थामा यदि ऊ मर्नु भन्दा पहिलेसम्म सज्दालाई गर्छ भने ऊ पापको
भागिदार हुनेछैन तर यदि उसले आफ्नो अन्तिम समयसम्म यस सज्दालाई गरेन भने ऊ पापको
भागिदार हुनेछ ।
***यदि कसैले नमाजको अवस्थामा सज्दा तिलावत उल्लेख भएको आयतको
वाचन गर्छ भने उसले यस सज्दा तिलावतलाई गर्ने थोरै अवधि पाउनेछ । यस अवस्थामा उसले
तुरुन्तै सज्दा गर्नुपर्नेछ । “तुरुन्तै” को अवधि यो हो कि सज्दा तिलावतको वाचन र
सज्दा बीच तीन आयतको वाचन भन्दा बढी होइन । अनि नमाजको अवस्थामा सज्दा तिलावत
उल्लेख भएको आयत कुरआनको बाचनको बीचमा पर्छ भने यस अवस्थामा तुरुन्तै सज्दा गर्नु
उत्तम हो । यदि सज्दको सट्टा रुकु गरियो र रुकुमा नै सज्दाको पनि नियत गरियो भने
सज्दा सम्पन्न हुनेछ । तर सर्त यो हो कि रुकू पनि “तुरुन्तै” को अवधि भित्रै
गरिनुपर्छ । तर यदि “तुरुन्तै” को अवधि बितिसकेपछि रुकूमा सज्दाको नियत गर्नाले
सज्दा मान्य हुनेछैन् । यसको लागि छुट्टै सज्दा गरिनेछ । चाहे त्यो सज्दा नमाजको
अवस्थामा सलाम फेर्नु भन्दा पहिले गरियोस् वा सलाम फेरेपछि । यो सज्दा गर्नु सज्दा
तिलावतको कजा हुनेछ । नमाजको अवस्थामा सज्दा तिलावत उल्लेख भएको आयतको बाचन कुरआन
पाठको अन्त्यमा गरिन्छ भने यस अवस्थामा सज्दा नगरी रुकू नै गर्नु उत्तम हुनेछ ।
त्यस रुकूको अवस्थामा सज्दाको पनि नियत गर्नुपर्र्छ । यदि सज्दा नै गर्ने इच्छा छ
भने (सज्दा गरेपछि) रुकू गर्नु अघि केही आयतहरुको वाचन गर्नु उत्तम हो ।
(अल्–फिक्ह अला अल्–मजाहिब अल् अर्बआ, अल्–तअ्लीक अल्–सबीह)
२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
भन्नुभयो,
“यदि मनुष्य कुरआनको वाचन गर्दै सज्दा
तिलावतको आयतमा पुगेर सज्दा गर्छ भने ऊ बाट शैतान रुँदै पर हट्छ र भन्छ “म बर्बाद
भएँ,
यसलाई सज्दा गर्ने आदेश दिइयो र यसले सज्दा गर्यो र
यसको लागि स्वर्ग छ तर मलाई सज्दा गर्ने आदेश दिंदा मैले सज्दा गरिन र मेरो लागि
आगो (नर्क) छ ।” (अह्मद, मुस्लिम, इब्ने
माजा)
***अल्लाहका रसूल (स.) बाट सज्दा तिलवतको लागि वुजु बनाउनै
पर्ने र किब्लातिर फर्केकै हुनुपर्ने प्रमाण पाइँदैन । अतः इब्ने उमर (रजि.) को विषयमा
उल्लेख भए अनुसार उनी बिना वुजु नै सज्दा
तिलावत गर्ने गर्थे । (बुखारी, इब्ने अबी शैबा)
***यसरी नै अबू अब्दुर्रह्मान सलमी (रजि.) को विषयमा उल्लेख भएको छ कि जब उनी कुरआनको वाचन गर्दै सज्दा तिलावत उल्लेख भएको ठाउँमा पुगेपछि
किब्लातिर नफर्केरै बिना बुजु नै सज्दा गर्ने गर्थे र हिड्दा हिँड्दै इशाराले
सज्दा गर्ने गर्थे । (इब्ने अबी शैबा)
***तर अरु सहाबीहरु (रजि.) र इमामहरुका अनुसार सज्दा तिलावतको
लागि नमाजमा जस्तै शरीर छोपेको, किब्लातिर फर्केको र वुजुको साथ हुनु जरुरी छ । हाफिज इब्ने
हजर (रह.) भन्नुहुन्छ “ शाअ्बी (रह.) बाहेक अरु कोही पनि इब्ने उमर (रजि.) सँग बिना
वुजु सज्दा तिलवत गर्ने अनुमति रहेको विषयमा सहमत छैनन् ।”
३) इब्ने उमर (रजि.) भन्छन्, “अल्लाहका रसूल (स.) हामीहरुलाई कुरआन सुनाउने गर्नुहुन्थ्यो
। सज्दा तिलावत उल्लेख भएको ठाउँमा पुगेपछि ‘अल्लाहु अक्बर’ भनेर सज्दा
गर्नुहुन्थ्यो र हामीहरु पनि सज्दा गर्थ्यौं ।” (अबू दाऊद, बैहकी, हाकिम)
४) अब्दुल्लाह बिन् मस्ऊद (रजि.) भन्नुहुन्छ “तिमीहरु सज्दा
तिलावत उल्लेख भएको ठाउँमा पुगेपछि “अल्लाहु अकबर” भनेर सज्दा गर र सज्दाबाट टाउको
उठाउँदा 'अल्लाहु अक्बर' भन ।” (अबू दाऊद)
५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) सज्दा
तिलावतमा यो दुआ गर्नु हुन्थ्यो:
سَجَدَ وَجْهِيَ لِلَّذِيْ خَلَقَهُ وَ شَقَّ سَمْعَهُ وَبَصَرَهُ
بِحَوْلِهِ وَقُوَّتِهِ فَتَبَارَكَ اللَّهُ اَحْسَنُ الْخَالِقِيْنَ.
अर्थ: मेरो अनुहारले त्यस अस्तित्वलाई सज्दा गर्यो जसले
यसको सृष्टि गरेका हुन् । यसमा कान बनाएका छन् र यसमा आँखाहरु राखेका छन् । यो सबै
उनको सामर्थ्य र शक्तिले संभव भएको हो । अल्लाहको अस्तित्व पवित्र छ जो सबैभन्दा
उत्कृष्ट सृष्टिकर्ता हुन् । (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, हाकिम)
६) इब्ने अब्बास (रजि.) भन्नुहुन्छ, म अल्लाहका रसूल (स) संग बसिरहेको थिएँ । यतिकैमा एकजना आयो
र भन्यो “मैले राती सपनामा कुनै रुखको जरोतिर फर्केर नमाज पढेको देखें । जब म
कुरआनको वाचन गरेर सज्दा तिलावत उल्लेख भएको ठाउँमा पुगें मैले सज्दा गरें तब मसँग
रुखले पनि सज्दा गर्यो । त्यस बेला मैले उसलाई (रुखलाई) यो पढेको सुनेंः
اَللَّهُمَّ
احْطُطْ عَنِّي وِزْراً وَاكْتُبْ لِيْ بِهَا اَجْراً وَاجْعَلْهَا لِيْ عِنْدَكَ ذُخْراً
अर्थ: र मेरो यस सज्दालाई स्वीकार जसरी तिमीले आफ्नो भक्त दाऊदको
सज्दालाई स्वीकार गर्यौ।
इब्ने अब्बास (रजि) ले भने, “त्यसपछि मैले अल्लाहका रसूल (स.) लाई सजदा तिलावत उल्लेख
भएको आयतको वाचनपछि सज्दा गर्दा यस्तै दुवा गरेको सुनें ।”
***अधिकतम् इमामहरुका अनुसार यदि कोही व्यक्ति एक्लै नमाज
पढिरहेको छ वा जमाअतको इमाम हो र चाहे त्यो नमाज ठूलो स्वरले पढिने होस् वा सानो
स्वरले पढिने, फर्ज
होस् वा नफ्ल उसले सज्दा तिलावत गर्नु मुस्तहब हो । (अल–फत्ह अल्–रब्बानी)
७) अबू राफिअ् (रजि.) वर्णन गर्छन्, “मैले अबू हुरैरह (रजि.) को पछाडि इशाको नमाज पढें । कुरआन
पाठ गर्दागर्दै उनी “इजस् समाउन् शक्कत्” मा पुगे, उनले सज्दा गरे । मैले (पछि) उनलाई सोधें “यो कुन सज्दा हो ?”
(अर्थात के नमाजको अवस्थामा पनि सज्दा
तिलावत गर्ने अनुमति छ ?) उनले भने “मैले अबुल् कासिम (स.) को पछाडि नमाज पढ्दा हामीले यस स्थानमा सज्दा
तिलावत गरेका थियौं । त्यसपछि म यो सज्दा गरिरहने छु जबसम्म म अल्लाहका रसूल (स.)
सँग भेट्ने छैन (अर्थात मेरो मृत्युसम्म म यो सज्दा गरिरहने छु) ।” (बुखारी र
मुस्लिम)
८) इब्ने उमर (रजि.) को भनाई अनुसार एक पटक अल्लाहका रसूल (स.)
ले जोहरको नमाजको पहिलो रकअतमा सज्दा तिलावत गर्नुभयो । (यो देखेर) सहाबीहरु
(रजि.) ले थाहा पाए कि उहाँ (स.) ले सुरह तन्जील अस्–सज्दह” पढ्नु भएको हो ।
(अह्मद,
अबू दाऊद, हाकिम)
९) अम्र बिन आस (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले
मलाई कुरआनमा पन्ध्र सज्दाहरु पढाउनुभयो, जसमध्ये “मुफस्सल” सूरहहरुमा तीनवटा छन् र सूरह “हज” मा
दुईवटा छन् ।” (अबू दाऊद, इब्ने माजा, हाकिम)
सज्दा तिलावत भएका कुरआनका सूरह र आयतहरु यस प्रकार रहेका
छन् ।
(1) सूरह अअ्राफ आः२०६ (2) सूरह रअ्द आः१५ (3) सूरह नह्ल आः४९
(4) सूरह बनी इस्राईल आः१०७ (5) सूरह मर्यम आः५८ (6) सूरह हज आः१८
(7) सूरह हज आः७७ (8) सूरह फुर्कान आः६०, (9) सूरह नमल आः२५
(10) सूरह सज्दह आः१५ (11) सूरह साद आः२४ (12) सूरह फुस्सिलत् आः२७
(13) सूरह अन्नज्म आः६२ (14) सूरह इन्शिकाक् आः२१ (15) सूरह अलक आः१९
***इमाम मालिक (रह.) का अनुसार पवित्र कुरआनमा जम्मा एघारवटा
सज्दा तिलावतहरु छन् । उनको अनुसार मुफस्सल सूरहका तीनवटै सज्दाहरु मन्सूख (रद्द
गरिएका) छन् किनकी इब्ने अब्बास (रजि.) को भनाई अनुसार मदीनामा आएपछि अल्लाहका
रसूल (स.) ले मुफस्सल सूरहमा कुनै सज्दा गर्नु भएन । (अबू दाऊद, इब्न अल्–सकन) । तर साधारण मुहद्दिसहरुले यस हदीसलाई कमजोर
श्रेणीको ठहर गरेका छन् । यसरी नै (मालिकी बिद्वानहरुका अनुसार) सूरह हजमा केवल
एउटा सज्दा तिलावतको स्थान छ ।
***हनफी विद्वानहरुका अनुसार कुरआनमा जम्मा चौधवटा सज्दा
तिलावत रहेका छन् । यिनीहरु पनि सूरह हजमा केवल एउटा सज्दा तिलावत छ भन्छन् ।
यिनीहरुको तर्क अनुसार सूरह हजको आयत ‘हे आस्थावानहरु हो ! रुकू, सज्दा गर्ने गर तथा आफ्ना पालनकर्ताको उपासना गर र
पुण्यकर्म गर ताकि तिमीहरु सफल हुन सक । (आयतः७७) मा विशेष गरी सज्दाको आदेश
दिइएको छैन बरु साधारण पुण्यकर्महरुको आदेश दिइएको छ जसमध्ये एउटा पुण्यकर्म सज्दा
पनि हो । (अल्–तअ्लीक अल्–सबीह)
***शाफिई विद्वानहरुका अनुसार पनि सज्दा तिलावतको संख्या चौध
नै हो । भिन्नता यो छ कि यिनीहरु सूरह हजमा दुईवटा सज्दा तिलावतहरु छन् तर सूरह
सादमा कुनै पनि सज्दा तिलावतको स्थान छैन भन्छन् किनकी:
१०) इब्ने अब्बास (रजि.) को भनाई छ “सूरह ‘साद’ को सज्दा तिलावत महत्वपूर्ण सज्दाहरु मध्येको होइन । तर मैले अल्लाहका रसूल (स.) लाई यस सूरहमा सज्दा गरेको देखेको छु” । (बुखारी, तिर्मिजी, नैल अल्–औतार)
१०) इब्ने अब्बास (रजि.) को भनाई छ “सूरह ‘साद’ को सज्दा तिलावत महत्वपूर्ण सज्दाहरु मध्येको होइन । तर मैले अल्लाहका रसूल (स.) लाई यस सूरहमा सज्दा गरेको देखेको छु” । (बुखारी, तिर्मिजी, नैल अल्–औतार)
टिप्पणियाँ