सीधे मुख्य सामग्री पर जाएं

इअ्तिकाफ



इअ्तिकाफको शाब्दिक अर्थ स्वयंलाई कुनै चिजसँग जोडनु र रोकिराख्नु हुन्छ चाहे त्यो चिज राम्रो होस् वा नराम्रो । राम्रो चिजको लागि त्यसको प्रयोग निम्न लिखित आयतको अर्थको अनुवाद) मा भएको छ:
 “यसमा (अर्थात मस्जिद हरममा) स्वयंलाई रोकिराख्नेहरु (त्यहाँका बासिन्दाहरु) र बाहिरबाट आउनेहरु समान् हुन् ।” 
र नराम्रो चिजको लागि यसको प्रयोग निम्न लिखित आयत (को अर्थको अनुवाद) भएको छ:

अल्लाह तआलाको भनाई छ:
“अनि उनीहरु (इस्राईलका सन्तानहरु) यस्तो समुदायका मानिसहरु कहाँ आए जो आफ्ना मूर्तिहरुसमक्ष आफूलाई रोकेर राखेका थिए (अर्थात उनको निरन्तर उपासना गर्नको निम्ति उनीहरुसमक्ष बसेका थिए ।”

शरिअत (इस्लामी कानून) मा इअ्तिकाफको अर्थ नियतका साथ मस्जिदमा आफूलाई रोकिराख्नु हो ।

#निर्धारण र पुण्य

१) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो, “मस्जिदहरुका लागि केही कीलाहरु छन् । (अर्थात यस्ता मानिसहरु जो मस्जिदहरुमा बसिराख्न र उपासनामा लीन रहन मन पराउँछन् । यस्ता मानिसहरुसँग फरिश्ताहरु हुन्छन् । यदि उनीहरु मस्जिदमा उपस्थित छैनन् भने उनीहरु (फरिश्ताहरु) उनीहरुलाई खोज्छन् र यदि बिरामी छन् भने उनीहरुलाई भेट्न जान्छन् र यदि उनीहरुलाई कुनै आवश्यकता आइपरेको छ भने त्यसको पूर्ति गर्न उनीहरुको सहयोग गर्छन् ।” (अह्मद)
 
**यद्यपि यो हदीस सनदको हिसाबले कमजोर श्रेणीको हो र इअ्तिकाफको महत्वमा अल्लाहका रसूल (स.) को अरु कुनै मौखिक हदीस पनि सही सनदका साथ प्रमाणित छैन । तर अल्लाहका रसूल (स.) रमजान महिनाका अन्तिम दस दिनहरुमा प्रत्येक वर्ष मस्जिदमा इअ्तिकाफ गर्ने गर्नुहुन्थ्यो । यसरी नै उहाँ (स.) का प्रतिष्ठित सहाबीहरु (रजि) ले र पवित्र पत्नीहरुले पनि निरन्तर इअ्तिकाफ गरिराखे । तसर्थ निर्धारण र पुण्यको सन्दर्भमा सम्पूर्ण इमामहरुको सहमति रहेको छ ।

#समय

इअ्तिकाफको लागि समय वा अवधि तोकिएको छैन । जुन बेला र जति समयसम्म जो चाहन्छ ऊ इअ्तिकाफ गर्न सक्छ तर सुन्नत अनुसार रमजानको अन्तिम दस दिनहरुमा (२० रमजानको मग्रिब पछि देखि ईदको चन्द्रोदय हेर्ने समयसम्म) इअ्तिकाफ गर्नु हो ।

२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले रमजानका अन्तिम दिनहरुमा (प्रत्येक वर्ष) इअ्तिकाफ गर्नुभयो यहाँ सम्मकि उहाँ (स.) आफ्नो पालनकर्ताकोमा जानुभयो (अर्थात उहाँ (स.) को मृत्यु भयो) । (बुखारी, मुस्लिम, अबू दाऊद, नसई, अह्मद) । इब्ने उमर (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) रमजानका अन्तिम दस दिनहरुमा इअ्तिकाफ गर्नु हुन्थ्यो । (मुस्लिम, अह्मद, अबू दाऊद, इब्ने माजा, बैहकी)

अल्लाह तआलाको भनाई छः 
“र जब तिमीहरु मस्जिदमा इअ्तिकाफमा बसेका हुन्छौ त्यस अवधिमा (आफ्ना) पत्नीहरुसँग सम्भोग नगर । (सूरह अल्–बकरह: १८७)
३) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) (इअ्तिकाफको अवस्थामा) मस्जिदबाट नै आफ्नो टाउको मतर्फ गर्नुहुन्थ्यो र म कपाल कोर्थें र उहाँ (स.) इअ्तिकाफको अवधिमा अति जरुरी मानवीय आवश्यकता (अर्थात दिसापिसाब) बिना घरमा प्रवेश गर्नुहुन्नथ्यो तर यदि उहाँ (स.) वुजू गर्न चाहनु हुन्थ्यो भने उहाँ (स.) घरमा नै प्रवेश गर्नुहुन्थ्यो । (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, इब्ने माजा, नसई)

**अन्य सम्पूर्ण हदीसहरुबाट यही ज्ञात हुन्छ कि उहाँ (स.) की पवित्र पत्नीहरु र प्रतिष्ठित सहाबीहरु (रजि.) कठीन भएता पनि सधैं मस्जिदमा नै इअ्तिकाफमा बस्ने गर्थे । यदि घरमा इअ्तिकाफमा बस्ने अनुमति भएको भए उहाँ (स.) की पत्नीहरु र सहाबीहरु (रजि.) अवश्य नै घरमा इअ्तिकाफमा बस्ने थिए । (अल्–मुग्नी, अल्–फत्ह अल्–रब्बानी)

अधिकतम इमामरु (जसमा इमाम मालिक (रह.) र इमाम शाफिई (रह.) समावेश छन्) का अनुसार कुनै पनि मस्जिदमा इअ्तिकाफमा बस्न सकिन्छ । (अल्–फत्ह अल्–रब्बानी)

इमाम अबू हनीफा (रह.) का अनुसार इअ्तिकाफमा बस्नको निम्ति मस्जिदमा नै बस्नु पर्ने सर्त केवल पुरुषको लागि मात्र हो । महिला आफ्नो घरको मस्जिद (दैनिक नमाज पढ्न छुट्याइएको ठाउँ) मा इअ्तिकाफमा बस्ने छिन् किनकि त्यो ठाउँ नै उनको नमाज पढ्ने ठाउँ हो । त्यस ठाउँमा बसिरहनाले इअ्तिकाफको उद्देश्य पूरा हुन्छ । यदि उनको घरमा मस्जिद छैन भने उनी घरको कुनै ठाउँलाई छुट्याएर त्यही ठाउँमा इअ्तिकाफमा बस्नेछिन् । (हिदाया)

इमाम अबू हनीफा (रह.) र इमाम अह्मद (रह.) का अनुसार सबै नमाजहरु पढिने मस्जिदमा मात्र इअ्तिकाफमा बस्न सकिन्छ । (हिदाया, अल्–फत्ह अल्–रब्बानी)

४) आइशा (रजि.) भन्छिन् “यो सुन्नत हो ................ र यो कि रोजाको अवस्था बिना इअ्तिकाफ मान्य छैन ।” (अबू दाऊद) 

**स्वयं अल्लाह तआलाले इअ्तिकाफमा बस्ने जिकिर रोजको अवस्थाका साथ गरेका छन्। (जाद् अल्–मिआद)

अब्दुल्लाह बिन मस्ऊद (रजि.), इमाम हसन बसरी (रह.), इमाम शाफिई (रह.) (को प्रचलित भनाई अनुसार), इमाम अह्मद बिन हम्बल (रह.) र इस्हाक (रह.) का अनुसार इअ्तिकफमा बस्नको निम्ति रोजाको अवस्थामा हुनु सर्त होइन, मुस्तहब हो । यिनीहरुको प्रमाण निम्न उल्लेख तीनवटा हदीसहरु हुन् ।

५) अब्दुल्लाह बिन उमर (रजि.) को भनाई अनुसार उमर (रजि.) ले अल्लाहका रसूल (स.) सँग सोधे “मैले जाहिलियतमा (इस्लामको आगमनभन्दा पहिले) एक रात मस्जिदे हराममा इअ्तिकाफमा बस्ने भाकल गरेको थिएँ । उहाँ (स.) ले भन्नुभयो “आफ्नो भाकललाई पूरा गर ।” (बुखारी र मुस्लिम) 

**सहीह बुखारीमा यी शब्दहरु बढी छन् “त्यसो भए एक रात इअतिकाफ गर ।” रातमा रोजाको अवस्थामा हुन सम्भव छैन, यस कारणले यो हदीसबाट ज्ञात हुन्छ कि रोजाको अवस्था नभए पनि इअ्तिकाफमा बस्न सकिन्छ ।

६) आइशा (रजि.) को भनाइृ छ “एक पटक अल्लाहका रसूल (स.) ले रमजानका अन्तिम दस दिनहरुमा इअ्तिकाफमा बस्ने सोँच बनाउनु भयो । उहाँ (स.) ले (मस्जिदमा) पाल लगाउने आदेश दिनुभयो । उहाँ (स.) का अरु पवित्र पत्नीहरुले पनि पाल लगाउने आदेश दिए र पालहरु लगाइए । जब उहाँ (स.) ले बिहानको नमाज पढ्नुभयो अनि उहाँ (स.) ले पालहरु तिर हेरेर भन्नुभयो “के तिमी महिलाहरुको सोँच पुण्यको हो ? ‘अर्थात तिमीहरुको सोँच पुण्यको होइन बरु एक आपसमा धाक लगाउने हो”) । अनि उहाँ (स.) ले आदेश दिएपछि उहाँ (स.) को पाललाई हटाइयो । उहाँ (स.) ले शव्वाल महिनाका सुरुका दस दिनहरुसम्मको लागि इअ्तिकाफलाई मुल्तवी गर्नुभयो ।” शव्वालका सुरुका दस दिनहरुमा ईदको दिन पनि पर्छ र ईदको दिन रोजा राख्ने अनुमति छैन । तसर्थ यस हदीसबाट पनि ज्ञात हुन्छ कि रोजाको अवस्थामा नभएपनि इअ्तिकाफमा बस्न सकिन्छ ।

७) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “इअ्तिकाफमा बस्ने व्यक्तिको लागि रोजा अनिवार्य छैन तर यदि ऊ स्वयंमाथि रोजालाई अनिवार्य गर्छ भने मात्र अनिवार्य रहेको छ (अर्थात ऊ रोजाको अवस्थमा हुने भाकल गरोस्) । (हाकिम)

**मत भिन्नताको कारण अनुसार पहिलो मस्लक मान्नेहरुका अनुसार अब्दुल्लाह बिन उमर (रजि.)द्वारा उल्लेखित हदीस सही हो तर विभिन्न हदीसहरुका शब्दहरु भिन्दा भिन्दै रहेका छन् । केही हदीसहरुमा उमर (रजि.) का शब्दहरुमा “एक रात” को जिकिर भएको छ र केहीमा “एक दिन” को । यो घट्ना केवल एक पटक मात्रको हो । तसर्थ दुबैमध्येबाट केवल एउटालाई एक थरीको शब्दालाई मात्र लिन सकिन्छ । यदि “एकदिन” लाई लिने हो भने त्यसमा रोजाको अवस्थाको अनिवार्यता नभएको प्रमाणित हुँदैन । यदि “एकरात” लार्य लिने हो भने अरबी भाषा अनुसार “रात” शब्दको अर्थमा “दिन र रात” दुबै पनि पर्छन त्यसैले यसको अर्थ यहाँ पनि “एकदिन र एकरात” नै लगाउनुपर्छ ।

आइशा (रजि.) द्वारा उल्लेखित हदीसका शब्दहरु तीन तरिकाबाट उल्लेख भएका छन् । केही हदीसहरुमा “शव्वाल महिनाका दस दिन” को उल्लेख भएको छ, केही हदीसहरुमा “शब्बाल महिनाका सुरुका दस दिनहरुको उल्लेख भएको छ र केहीमा “सुरुका दस दिनहरु” को उल्लेख भएको छ............यी तीन थरीकै शब्दहरुबाट ईदको दिन पनि इअ्तिकाफमा बस्ने दिनहरुमा समावेश छ भन्ने कुरा प्रष्ट हुदैन किनकि त्यस दिन अल्लाहका रसूल (स.) का ईदको नमाज खुत्बा र अन्य धेरै कार्यमा व्यस्त हुने गर्नुहुन्थ्यो । त्यस दिन उहाँ (स.) कसरी इअतिकाफमा बस्न सक्नुहुन्थ्यो । तेस्रो, अर्थात इब्ने अब्बास (रजि.) द्वारा उल्लेखित हदीस सनदको हिसाबले सही छैन । (मुख्तसरन् अज् तह्जीब इब्न कैयिम)

दोस्रो मस्लक मान्नेहरुका अनुसार अल्लाहका रसूल (स.) ले सधैं रोजा राखेको अवस्था इअ्तिकाफमा बसेको आधारमा इअ्तिकाफमा बस्नको निम्ति रोजाको अवस्थामा हुनु पर्ने सर्त ठहर गर्नु उचित होइन । यसलाई मुस्तहब र सुन्नत ठहर गर्न सकिन्छ । जहाँ सम्म आइशा (रजि.) द्वारा उल्लेखित हदीस “सुन्नत यो हो......... र यो कि रोजा नराखेको अवस्थामा इअ्तिकाफ मान्य छैन” को कुरा रहेको छ जसको उल्लेख मुस्लिम र अरु हदीसका किताबहरुमा भएको छ, त्यसबाट यो ज्ञात हुन्छ कि यो हदीस मौकुफ श्रेणीको हो अर्थात रोजा नराखेको अवस्थामा इअ्तिकाफ मान्य नहुने मस्लक स्वयं आइशा (रजि.) को थियो । यी शब्दहरु अल्लाहका रसूल (स.) बाट प्रमाणित छैनन् । (मुख्तसरन् अज् नैल अल्–औतार, सुबुल अल्–सलाम)

निष्कर्षः जाद् अल्–मीआद र तह्जीब अल्–सुननमा  इमाम इब्ने कैयिम (रह.) ले पहिलो मस्लकलाई  प्राथमिता दिएका छन् र यसै मस्लकलाई इमाम इब्ने तैमिया (रह.) को मस्लक हो भनेर वर्णन गरेका छन् तर नैल अल्–औतारमा काजी शौकानी (रह.) ले दिएको तर्कलाई अस्वीकार गर्दै दोस्रो मस्लकलाई सही ठहर गरेका छन् ।


#इअ्तिकाफको अवधिमा गर्न मक्रुह रहेका कामहरु


८) अबू बस्रा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “मानिसको इस्लाम राम्रो अवस्थामा रहेको पहिचान भनेको उसले प्रत्येक अर्थ नलाग्ने कुरा वा कामलाई छोड्नु हो । (तिर्मिजी, इब्ने माजा)

९) इब्ने अब्बास (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) खुत्वा दिइरहनु भएको थियो । उहाँ (स.) ले एक जनालाई उभिएको देख्नुभयो । उहाँ (स.) ले यस विषयमा सोध्नुभयो, जसको जवाफमा मानिसहरुले भने कि यस व्यक्तिको नाम अबू इस्राईल हो र उसले उभिरहने, नबस्ने, छाया नगर्ने, कुराकानी नगर्ने र रोजाको अवस्थामा रहने भाकल गरेको छ । उहाँ (स.) ले भन्नुभयो “उसलाई कुराकानी गर्ने, बस्ने र आफ्नो रोजालाई समाप्त गर्ने आदेश देऊ ।” (बुखारी, अबू दाऊद, इब्ने माजा)
 
#इअ्तिकाफको अवधिमा गर्न हुने र नहुने कामहरु 
 
१०) आइशा (रजि.) भन्छिन्, “अल्लाहका रसूल (स.) इअ्तिकाफको अवधिमा मतिर आफ्नो टाउको बढाउनु हुन्थ्यो र म उहाँ (स.) को टाउको धुन्थें जबकि म महिनावारीको अवस्थामा हुन्थे । अर्को हदीसमा उल्लेख भए अनुसार “म उहाँ (स.) को कपाल कोर्ने गर्थें ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी,नसई, इब्ने माजा, अह्मद)

११) उम्मुल् मुअमिनीन सफीया (रजि.) भन्छिन्, “अल्लाहका रसूल (स.) इअ्तिकाफमा बस्नु भएको थियो अनि म एक रात उहाँ (स.) सँग भेट्न गएँ । मैले उहाँ (स.) सँग कुराकानी गरें अनि म उभिएँ र फर्किएँ र उहाँ (स.) पनि मलाई छोड्नको लागि उभिनु भयो ।” (बुखारी, मुस्लिम, अबू दाऊद)

१२) इब्ने उमर (रजि.) को भनाई अनुसार जब अल्लाहका रसूल (स.) इअ्तिकाफमा बस्नु हुन्थ्यो उहाँ (स.) को ओछ्यान वा खाटलाई इस्तिवानतुत् तौबा (तौबाको स्तम्भ) नजिक राखिन्थ्यो । (इब्ने माजा)

**तौबाको स्तम्भ मस्जिदे नबवी (स.) मा रहेको एउटा स्तम्भ हो जसलाई तौबाको स्तम्भ भन्नुको कारण एक जना सहाबी (रजि.) ले अल्लाह तआलाले उनको तौबा स्वीकार नगरुन्जेल स्वयंले त्यसमा बाँधेका थिए ।


१३) अबू सईद खुद्री (रह.)को भनाई अनुसार अल्लाहका रसूल (स.) एउटा टर्कीको पालमा इअ्तिकाफमा बस्नु भयो जसको ढोकामा चटाइको एउटा टुक्रा थियो । (इब्ने माजा)
 
१४) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इअ्तिकाफमा बस्नु भएको बेलामा मानवीय आवश्यकता (दिसापिसाब) बाहेक अरु कुनै आवश्यकताको पूर्तीको लागि घरमा प्रवेश गर्नु हुन्नथ्यो ।” (बुखारी, मुस्लिम, अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा)

१५) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) इअ्तिकाफमा बसेको बेलामा उहाँ (स.)  विरामीको नजिकबाट गुज्रने बेला उहाँ (स.) हिँडी रहनुहुन्थ्यो र (एक छिन) रोकेर उसको स्वास्थ्यको विषयमा सोध्नुहुन्थ्यो । (अबू दाऊद)


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

फर्ज नमाज एक्लै वा जमाअतका साथ पढिसकेपछि पुनः त्यही नमाजको जमाअतमा सामेल हुनु

१) यजीद बिन अस्वद (रजि.) भन्छन्, “म हजको बेला अल्लाहका रसूल (स.) सँग थिएँ । मैले बिहानको नमाज उहाँ (स.) सँग खैफ मस्जिदमा पढें । उहाँ (स.) ले सलाम फेरे पछि दुई जनालाई सबैजनाको पछाडि उभिएको देख्नुभयो जसले उहाँ (स.) सँग नमाज पढेका थिएनन् । उहाँ (स.) ले भन्नुभयो “उनीहरुलाई म समक्ष लिएर आऊ ।” उनीहरुलाई ल्याए पछि उनीहरु डरले कापिरहेका थिए । उहाँ (स.) ले उनीहरुसँग सोध्नुभयो, “तिमी दुवैजनाले हामीहरुसँग नमाज किन नपढेको ?” उनीहरुले जवाफ दिए “हे अल्लाहका रसूल ! हामीहरु आफ्नो घरमा नमाज पढेर आएका थियौं ।” उहाँ (स.) ले भन्नुभयो “यसो नगर, यदि तिमीहरु घरबाट नमाज पढेर मस्जिद आउँदा मस्जिदमा नमाज भईरहेको छ भने तिमीहरु पनि जमाअतमा सामेल होऊ । यो नमाज तिमीहरुको लागि नफ्ल नमाज हुनेछ ।” (अह्मद, अबू दाऊद, तिर्मिजी, नसई, दार कुत्नी, इब्ने हिब्बान, हाकिम) २) अबू जर (रजि.) भन्छन्, “ अल्लाहका रसूल (स.) ले मलाई भन्नुभयो, ‘यदि तिमीहरुमाथि यस्ता शासकहरुले प्रधानता प्राप्त गरे जो नमाजलाई उसको समयभन्दा ढीला पढ्छन् भने तिमीहरुको अवस्था त्यतिबेला कस्तो हुने होला ?’ मैले भनें, ‘त्यसो भए तपाई मलाई ...

सलातुल् मरीज (बिरामीको नमाज)

१) इम्रान बिन हुसैन (रजि.) को भनाई छ , “ मलाई पाइल्स भएको थियो । मैले अल्लाहका रसूल (स.) सँग सोधें “नमाज कसरी पढ्ने ?” उहाँ (स.) ले भन्नुभयो “उभिएर नमाज पढ् यदि यसको सामथ्र्य छैन भने बसेर नमाज पढ । र यदि यसको पनि सामथ्र्य छैन भने आफ्नो दाहिनेतर्फ पल्टेर नमाज पढ ।” (बुखारी , अबू दाऊद , तिर्मिजी , नसई , इब्ने माजा) नसईमा यो वाक्य बढी उल्लेख भएको छ “र यदि यसको पनि सामथ्र्य छैन भने सीधा पल्टेर नमाज पढ । अल्लाह तआला कुनै प्राण माथि उसको सामथ्र्य भन्दा अधिक भार (जिम्मेवारी) राख्दैनन् ।” २) अली (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “बिरामीले उभिएर नमाज पढ्नुपर्छ यदि ऊ यसको सामथ्र्य राख्छ भने र यदि यसको सामथ्र्य राख्दैन भने बसेर नमाज पढ्ने । यदि ऊ सज्दा गर्ने सामथ्र्य राख्दैन भने टाउकोले इशारा गर्ने र आफ्नो सज्दा गर्दा रुकूको तुलनामा अलि बढी झुक्ने । यदि ऊ बसेर नमाज पढ्ने सामथ्र्य राख्दैन भने किब्लातिर फर्केर आफ्नो दाहिनेतिर पल्टेर नमाज पढ्ने । यदि दाहिनेतिर पल्टने पनि सामथ्र्य छैन भने सिधा पल्टेर खुट्टाहरुलाई किब्लातिर गरेर नमाज पढ्ने ।” (दार कुत्नी) । यो हदीस कमजोर श्रेण...

तरावीह वा रमजान महिनाको कियाम

१) आइशा (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले एक रात मस्जिदमा नमाज पढ्नु भयो र धेरै जना उहाँ (स.) सँग सामेल भए । दोस्रो रात उहाँ (स.) ले नमाज पढ्नु भयो र अझै मानिसहरु सामेल भए । फेरी तेस्रो रात वा चौथो रात मानिसहरु भेला भए तर अल्लाहका रसूल (स.) बाहिर आउनु भएन । बिहान भएपछि उहाँ (स.) ले भन्नुभयो “मैले राती तिमीहरुलाई भेला भएको देखेको थिएँ तर मलाई केवल एउटा कुराले बाहिर आउनबाट रोक्यो र त्यो हो कि कतै यो नमाज तिमीहरुमाथि अनिवार्य नगरियोस् ।” यो रमजान महिनामा भएको थियो । (बुखारी , मुस्लिम , अबू दाऊद , नसई , इब्ने माजा , अह्मद , मालिक) २) उबै बिन कअ्ब (रजि.) को भनाई अनुसार उनी अल्लाहका रसूल (स.) समक्ष उपस्थित भए र सोधे “हे अल्लाहका रसूल ! आज राती (बितेको राती) मसँग एउटा अचम्मको घट्ना घट्यो ।” त्यस समय रमजान महिना चलिरहेको थियो । उहाँ (स.) ले भन्नुभयो , “ हे उबै ! त्यो के हो ?” उनले जवाफ दिए “मेरो घरमा केही महिलाहरुले मलाई भने , आज हामी कुरआन पढ्ने छैनौं , हामी त तपाइसँग नमाज पढ्नेछौं । अनि मैले उनीहरुलाई आठ रकअत नमाज पढाएँ । अनि वित्रको नमाज पढाएँ ।” अनि अल्लाहका रसूल (स) ले केह...