#संभोग गर्नु
जो व्यक्ति रमजानको महिनामा दिनमा जानाजानी संभोग गर्छ उसको रोजा टुट्छ र
उसमाथि कजा एवं कफ्फारा दुबै अनिवार्य हुन्छ भन्ने विषयमा लगभग सबै जनाको सहमति छ
।
१) अबू हुरैरह (रजि.) को भनाई अनुसार एक जना व्यक्ति अल्लाहका रसूल (स.) समक्ष
उपस्थित भएर भन्यो “हे अल्लाहका रसूल ! म बर्बाद भएँ ” । उहाँ (स.) ले सोध्नु भयो, “के भयो, तिमी किन वर्वाद भयौ ?” उसले भन्यो “मैले रमजानमा आफ्नी पत्नीसँग संभोग गरें ।”
उहाँ (स.)ले भन्नुभयो “के तिमी एउटा दास मुक्त गर्न सक्छौ ?” उसले जवाफ दियो “सक्दिन” । उहाँ (स.) ले भन्नुभयो “त्यसो भए, के तिमी लगातार दुई महिना रोजा राख्न सक्छौ ?” उसले जवाफ दियो “सक्दिन” । उहाँ (स.) ले भन्नुभयो “त्यसो भए, के तिमी साठी जना गरीब तथा अभाव ग्रस्तहरुलाई खाना खुवाउनु
सक्छौ ?”
उसले जवाफ दियो “सक्दिन” । अनि त्यो व्यक्ति अल्लाहको रसूल
(स.) समक्ष केही बेर बसिरह्यो । त्यति नै बेला उहाँ (स.) समक्ष एउटा बोरा ल्याइयो
जसमा सुकेका खजुरहरु थिए । उहाँ (स.) ले त्यस व्यक्तिलाई भन्नुभयो, “हेर ती खजुरहरुलाई सदका गरिदेऊ ।” उसले भन्यो, “के म भन्दा बढी अभाव ग्रस्तमाथि सदका गरुँ ? मदीनाका दुबैतिर बीच (अर्थात पूरै मदीनामा) कुनै पनि घर
हामीभन्दा बढी अभाव ग्रस्त छैन । “यो सुनेर उहाँ (स.) हाँस्नुभयो र उहाँ (स.) का
दाँत देखिए र उहाँ (स.) ले भन्नुभयो “जाऊ, यसलाई आफ्ना घरवालाहरुलाई खुवाऊ ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, आदि)
#बान्ता
रोजाको अवस्थामा जानाजानी बान्ता गर्ने व्यक्तिको रोजा टुट्छ तर उसले केवल कजा
रोजा राख्न अनिवार्य छ । तर यदि कसैले जानाजानी बान्ता गरेको होइन आफै बान्ता आएको
हो र उसले त्यसलाई निलेन भने उसको रोजा टुट्दैन । तर बान्तालाई फेरी निल्यो भने
रोजा टुट्छ ।
२) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो
“जसले (प्राकृतिक रुपले) बान्ता गर्यो (उसको रोजा टुट्दैन र) उसले कजा गर्नुपर्दैन । तर जसले
जानाजानी बान्ता गर्यो
(उसको रोजा टुट्छ) उसले कजा गरोस् । (अह्मद, अबू दाऊद, तिर्मिजी, इब्ने माजा आदि)
**बान्ताको विषयमा हनफी विद्वानहरुको मस्लक अनुसार जुन बान्ताले रोजा टुट्छ त्यो बान्ता मुख भरिको
बान्ता हो । यदि बान्ता मुखभरि भन्दा कम छ भने त्यसले रोजा टुट्दैन चाहे त्यो
बान्ता जानाजानी गरिएको होस् वा स्वयं आएको होस् । (अल्–फिक्ह अला अल्–मजाहिब
अल्–अर्बआ)
#जानाजानी खानपिन गर्नु
जानाजानी खानपिन गर्नाले रोजा टुट्छ किनकि खानपिनबाट स्वयंलाई रोक्नु रोजाको
एउटा स्तम्भ हो । तर, के यसले गर्दा कजा सँगै कफ्फारा (एउटा दास मुक्त गर्नु वा लगातार ६० दिन रोजा
राख्नु वा ६० जना गरीब तथा अभाव ग्रस्तहरुलाई खाना खुवाउनु) पनि अनिवार्य हुन्छ ? यस विषयमा अल्लाहका रसूल (स.) को कुनै स्पष्ट हदीस छैन ।
तसर्थ यस विषयमा इमामहरुमाझ मत भिन्नता रहेको छ ।
**इमाम अबू हनीफा (रह.), इमाम मालिक (रह.), इमाम सुफ्यान सौरी (रह.), अब्दुल्लाह बिन मुबारक (रह.) र इस्हाक (रह.) का अनुसार
जानाजानी खानपिन गर्नाले कजा र कफ्फारा दुबै अनिवार्य हुन्छ । इमाम शाफिई (रह.), इमाम अह्मद बिन हम्बल (रह.) र जाहिरी विद्वानहरुका अनुसार
जानाजानी खान पिन गर्नाले केवल कजा अनिवार्य हुन्छ कफ्फारा अनिवार्य हुँदैन ।
यस मत भिन्नताको कारण अनुसार हदीसमा केवल संभोगको कारणबाट रोजा तोड्नाले
कफ्फारा अनिवार्य हुने उल्लेख भएको छ । इमाम अबू हनीफा (रह.), इमाम मालिक (रह.) र अरु विद्वानहरु जानाजानी संभोग गर्नुको
सादृश्यले जानाजानी खानपिन गर्नुमा पनि कफ्फारा अनिवार्य ठहर गर्छन् । यद्यपि इमाम
मालिक (रह.) ले आफ्नो किताब “मुअत्ता” मा यो हदीस पनि उल्लेख गरेका छन् कि एकजना
व्यक्तिले रोजा तोड्यो अनि अल्लाहका रसूल (स.) ले उसलाई एउटा दास मुक्त गर्ने वा
दुई महिना लगातार रोजा राख्ने वा ६० जना गरीब तथा अभाव ग्रस्तहरुलाई खाना खुवाउने
आदेश दिनुभयो ।
तर बाँकी मुहद्दिसहरुको भनाई अनुसार यो हदीस साधारण हो जुन केही
उल्लेखकर्ताहरुद्वारा उल्लेख गरिएको हदीसबाट स्पष्ट हुन्छ कि त्यस व्यक्तिलाई रोजा
तोडेको कारणले अल्लाहका रसूल (स.) ले कफ्फाराको आदेश दिनुभएको कारण यो हो कि उसले
रोजाको अवस्थामा जानाजानी संभोग गरेको थियो । यसको विपरित इमाम शाफिई (रह.), इमाम अह्मद बिन हम्बल (रह.) र जाहिरी विद्वानहरु जानाजानी
संभोग गर्नुको सादृश्यले जानाजानी खानपिन गर्नुमा आदेश लगाउँदैनन् तसर्थ यिनीहरुका
अनुसार जानाजानी खानपिन गर्नाले केवल कजा अनिवार्य हुन्छ, कफ्फरा अनिवार्य हुँदैन । (तिर्मिजी, बिदायत् अल्–मुज्तहिद, तह्जीव इब्ने कैयिम शरह अला मआलिम अल्–सुनन्, हिदाया)
३) अबू हुरैरह (रजि.) को भनाई अनुसार अल्लाहका रसूल (स.) ले भन्नुभयो “जसले
रोजाको अवस्थामा बिर्सेर खानपिन गर्यो (उसको रोजा अमान्य भएन) उसले आफ्नो रोजा पूरा गरोस्
किनकि अल्लाह तआलाले उसलाई खुवाएका हुन् र पिलाएका हुन् ।” (बुखारी, मुस्लिम, अबू दाऊद, तिर्मिजी, नसई, इब्ने माजा, अह्मद)
४) अबू हुरैरह (रजि.) कै भनाई अनुसार अल्लाहका रसूल (स.)
समक्ष एक जना व्यक्ति उपस्थित भएर सोध्योः “मैले रोजाको अवस्थामा बिर्सेर खानपिन
गरें ।” उहाँ (स.) ले जवाफमा भन्नुभयो “तिमीलाई अल्लाह तआलाले खुवाएका हुन् र
पिलाएका हुन् ।” (बुखारी, मुस्लिम, तिर्मिजी, नसई, दार कुत्नी, हाकिम आदि)
#भ्रमको कारणले समयभन्दा पहिले रोजा इफ्तार गर्नु वा
फज्रको समय सुरु भए पछिसम्म खानपिन गरिराख्नु
**यदि कोही व्यक्ति फज्रको समय सुरु हुन बाँकी सम्झेर खानपिन गरिरहन्छ र पछि
उसलाई ज्ञात हुन्छ कि फज्रको समय सुरु भइसकेको थियो वा उसले सूर्यास्त भइसक्यो
भन्ने सोँचेर इफ्तार गर्यो र
पछि उसलाई ज्ञात भयो कि सूर्यास्त भएको थिएन भने जम्हुर (जसमा आइम्माए अर्बआ
समावेश छन्) का अनुसार उसको रोजा टुट्नेछ र उसले पछि आफ्नो रोजाको कजा गर्नु
पर्नेछ । किनकि कुरआनको आयत “अनि बिहानीको सेतो रेखा (रातको) कालो रेखाबाट स्पष्ट
होउन्जेल खानपिन गर । अनि, रात (को आगमन) सम्म रोजा राख ।” को आधारले फज्र सुरु भएसँगै खानपिनबाट रोकिनु
र फेरी सूर्यास्तसम्म खानपिन गर्नु हुदैन । बिर्सने व्यक्तिको मामिला छुट्टै छ
किनकि उसले त बिर्सियो । तर यदि कोही व्यक्ति केवल आभासको आधारमा फज्रको समय सुरु
भइसकेपछिसम्म खानपिन गरिरह्यो यो सोचेर कि अहिले फज्रको समय भएको छैन वा सूर्यास्त
भइसकेको छ भनी सोंचेर सूर्यास्त भन्दा पहिले नै रोजा इफ्तार गर्यो भने (यस अवस्थामा) फज्रको समय सुरु भइसकेको र सूर्यास्त
भइसकेको निश्चित नभएसम्म ऊ आफूलाई रोकि राख्न सक्दछ । यसरी नै अस्मा (रजि.) द्वारा
उल्लेखित हदीस जुन बुखारी, अह्मद, अबू
दाऊद,
तिर्मिजी, इब्ने माजा, बैहकिमा उल्लेख भएको छ जसमा उल्लेख भए अनुसार (उल्लेखकर्ता
भन्छन्) “हामीहरुले अल्लाहका रसूल (स.) को समयमा एकदिन जब आकाशमा बादल छाएको थियो, रोजा इफ्तार गर्यौं अनि त्यसपछि सूर्य निस्केर आयो । तर यस हदीसबाट ज्ञात
हुँदैन कि जसले रोजा समय भन्दा पहिले इफ्तार गरे उनीहरुलाई पछि कजा गर्ने आदेश
दिइयो वा दिइएन । तर पछिका एकजना उल्लेखकर्ता हिशाम बिन उर्वा सँग जब सोधियो कि के
मानिसहरुलाई कजा गर्ने आदेश दिइएको थियो ? जवाफमा उनले भने “के कजाबाट छुट्कारा थियो ?”
हाफिज इब्ने हजर (रह.) भन्छन् “हिशाम बिन उर्वाले यो कुरा कुनै अन्य सनदको
आधारमा भनेका होलान ।” (फत्ह अल्–बारी, अल्–फत्ह अल्–रब्बानी, अल्–मुग्नी) आदि
इमाम इस्हाक बिन राहविया (रह.) र जाहिरी विद्वानहरुका अनुसार यस्तो व्यक्तिको
रोजा टुट्दैन बरु यस व्यक्तिको आदेश त्यस व्यक्ति सरह हो जो रोजाको अवस्थामा
बिर्सेर खानपिन गर्छ किनकि भूल (भ्रम) र बिर्सनुमा कुनै अन्तर छैन । यही मस्लक
ताबिईहरुमध्येबाट अता (रह.), उर्वा बिन जुबैर (रह.), हसन बसरी (रह.) र मुजाहिद (रह.) द्वारा पनि उल्लेख भएको
पाइन्छ । यिनीहरुको प्रमाण अल्लाहका रसूल (स.) को साधारण भनाई हो “अल्लाह तआलाले
मेरो उम्मतको भूल वा बिर्सने वा वाध्यतालाई क्षमा गरिदिएका छन् ।” (तबरानी, हाकिम, बैहकी, इब्ने माजा) जहाँसम्म माथिको हदीसमा हिशाम बिन उर्वा (रह.)
को भनाई “के कजाबाट छुट्कारा छ ? “यस विषयमा इमाम इब्ने खुजैमा (रह.) (यिनको मस्लक अनुसार कजा
अनिवार्य हुँदैन) भन्छन् “हिशामले आफ्नो यस भनाईको कुनै प्रमाण उल्लेख गरेनन्”
(अर्थात उनको भनाई केवल उनको आफ्नो सादृश्य हो) । (फत्ह अल्–बारी)
#महिनावारी र बच्चा जन्मिएपछिको रक्तस्राव
**यदि महिलालाई दिनमा (चाहे कुनै पनि समयमा) महिनावारी वा बच्चा जन्मिएपछिको
रक्तस्राव सुरु हुन्छ भने उसको रोजा टुट्नेछ र उसको जिम्मामा त्यस दिनको रोजाको
कजा अनिवार्य भएकोमा सबैको सहमति छ । (अल्–फिक्ह अला अल्–मजाहिब अल्–अर्बआ आदि)
टिप्पणियाँ