जाबिर बिन अब्दुल्लाह (रजि.) द्वारा उल्लेखित यो हदीसलाई इमाम अहमद (रह.), इमाम मुस्लिम (रह.), इमाम अबू दाऊद (रह.) र इमाम इब्ने माजा (रह.) ले विस्तारका
साथ र इमाम तिर्मिजी (रह.) र इमाम नसई (रह.) ले छोट्करीमा उल्लेख गरेका छन् । तल
हामी त्यस (हदीस) लाई इमाम मुस्लिम (रह.) ले उल्लेख गरे अनुसार उल्लेख गर्ने छौं ।
र यस हदीसमा जहाँ हजका केही रीतिहरुको उल्लेख छुटेको छ त्यहाँ हामी "[ ]" भित्र केही अरु सहाबीहरुद्वारा उल्लेखित हदीसलाई
उल्लेख गर्नेछौं ।
१) जाबिर (रजि.) भन्छन्, “अल्लाहका रसूल (स.) नौ वर्ष (मदीना मुनब्बरामा) रहनु भयो र उहाँ (स.) ले यस
अवधिमा कुनै हज गर्नु भएन । दसौं वर्षमा उहाँ (स.) ले मानिसहरुमाझ आफू हजमा जादै
गरेको कुरा घोषणा गर्नुभयो । (सँगै यात्रा गर्नका लागि) मानिसहरुको एउटा ठूलो
संख्या मदीन पुग्यो । प्रत्येक व्यक्ति अल्लाहका रसूल (स.) को क्रियाकलापलाई हेरेर
त्यसै अनुसार आफूले पनि गर्न चाहन्थ्यो । हामी उहाँ (स.) का साथ (मदीना
मुनव्वराबाट) हिँड्यौ । जब हामी (मदीना मुनब्बरा भन्दा पाँच मिलको दुरीमा एक ठाउँ)
जुल् हलीफा पुग्यौं, त्यहाँ (अबू बक्र सिद्दीक (रजि.) की पत्नी) अस्मा बिन्त उमैमा (रजि.) कहाँ
मुहम्मद बिन अबू बक्र (रजि.) को कोखबाट जन्म भयो । अस्मा (रजि.) ले अल्लाहका रसूल
(स.) कहाँ सन्देश पठाउनु भयो र सोध्नुभयो “अब मैले के गर्ने ?” उहाँ (स.) ले भन्नुभयो “तिमी गुस्ल गर अनि रगतको ठाउँमा
लुगा राखेर इह्राम बाँध ।” (भोलि पल्ट) मस्जिदमा (जुह्रको) नमाज पढेर उहाँ (स.)
(आफ्नो उँटनी) “कस्वा” माथि चढ्नुभयो । उहाँ (स.) को अगाडि दाँयातिर, बाँयातिर, पछाडि चारैतिर पैदल र सवारी भएकाहरुको भीड देखिन्थ्यो ।
अल्लाहका रसूल (स.) हामीहरुको बीचमा हुनुहुन्थ्यो । उहाँ (स.) माथि कुरआन अबतरित
हुन्थ्यो । उहाँ (स.) जुन काम गर्नु हुन्थ्यो हामी पनि त्यही नै गथ्र्यौ । (उँटनी
अडिएपछि) उहाँ (स.) ले ठूलो स्वरले तल्बिया भन्दै यी शब्दहरुको उच्चारण गर्नुभयो:
لَبَّيْكَ اللّٰهُمَّ
لَبَّيْكَ، لَبَّيْكَ لَا شَرِيْكَ لَكَ لَبَّيْكَ، اِنَّ الْحَمْدَ وَالنِّعْمَةَ
لَكَ وَالْمُلْكَ لَا شَرِيْكَ لَكَ.
अर्थः हे अल्लाह ! हामी तिमी समक्ष उपस्थित छौं, तिम्रो कोही पनि साझेदार छैन, हामी उपस्थित छौं, प्रशंसा र अनुग्रह सबै तिम्रा नै हुन् र शासन पनि तिम्रो नै
हो,
तिम्रो कोही पनि साझेदार छैन ।
उपस्थित सबैले पनि तल्बिया भनें, जसरी (आजको दिनमा) भन्छन् । अल्लाहका रसूल (स.) ले उनीहरुलाई
यसको कुनै पनि चिजबाट मनाही गर्नु भएन । अल्लाहका रसुल (स.) ले पटक पटक तल्बिया
भनिराख्नुभयो ।
हामीहरुको नियत हर्जे थियो । उमरह गर्ने हामीहरुको जानकारीमा थिएन । जब हामी
उहाँ (स.) सँग (मक्का मुअज्जमा पुग्यौं र) मस्जिदे हराममा प्रवेश गर्यौं, तब उहाँ (स.) ले हजरे अस्वदलाई चुम्नुभयो । अनि उहाँ (स.) ले (तवाफ) सुरु
गर्नुभयो । पहिलो तीन परिक्रमामा रमल (अर्थात छाती तन्काएर हिँड्नु) गर्नुभयो र बाँकी चार परिक्रमा मध्य गतिमा
हिँड्नुभयो । अनि उहाँ (स.) मकामे इब्राहिम (अ.) तिर जानुभयो र यो आयत बाचन
गर्नुभयो:
وَاتَّخِذُوْا
مِن مَّقَامِ اِبْرَاهِيْمَ مُصَلًّى ۖ
“र मकामे इब्राहीमलाई नमाज पढ्ने ठाउँ बनाऊ ।” (सूरह
अल्–बकरह: १२५)
अनि उहाँ (स.) यसरी उभिनुभयो कि मकामे इब्राहीम उहाँ (स.) र
कअ्बाकोबीचमा थियो (नसईमा उल्लेख भएको हदीसमा भनिएको छ कि उहाँ (स.) ले दुई रकअत नमाज पढ्नु भयो
अनि यो आयत बाचन गर्नुभयो) ।
उहाँ (स.) दुबै रकअतहरुमा सूरह ‘कुल् हुवल्लाहु अहद’ र ‘कुल् या अैयुहल्
काफिरुन’ पढिरहनु भएको थियो ।३ त्यसपछि उहाँ (स.) हजरे अस्वदतिर फर्केर जानुभयो र
त्यसलाई चुम्नुभयो । उहाँ (स.) ढोका (बाबे सफा) बाट सफा तिर जानु भयो र सफाको नजिक
पुगेपछि उहाँ (स.) ले निम्न आयत बाचन गर्नुभयोः
اِنَّ الصَّفَا وَالْمَرْوَةَ مِنْ
شَعَائِرِ اللَّهِ ۖ
“निसन्देह, सफा र मर्वा अल्लाहका निसानीहरु मध्येका हुन् ।” (सूरह
अल्–बकरह: १५८)
उहाँ (स.) ले भन्नुभयो, जुन कुराको जिकिर अल्लाह तआलाले (यस
आयतमा) गरेका छन् म पनि त्यसैबाट सुरु गर्नेछु (नसईमा उल्लेख भएको हदीसमा आदेशको शब्द
प्रयोग भएको छ अर्थात “जुन कुराको उल्लेख अल्लाह तआलाले पहिले गरेका छन् तिमीहरु
पनि त्यसैबाट प्रारम्भ गर”)।
त्यसै कारणले उहाँ (स.) ले सफाबाट प्रारम्भ गर्नुभयो र त्यसमाथि चढ्नुभयो । जब
उहाँ (स.) लाई कअ्बा देखिन थाल्यो, तब किब्ला (कअबा) तिर फर्कनुभयो अनि उहाँ
(स.) ले अल्लाह तआलाको तौहीद (एकेश्वरबाद) र प्रशंसा (अल्लाहु अकबर) भनिराख्नुभयो
र यो दुआ पढ्नुभयो:
لَا اِلٰهَ اِلَّا اللهُ وَحْدَهٗ لَا شَرِيْكَ
لَهٗ، لَهُ الْمُلْكُ وَلَهُ الْحَمْدُ وَهُوَ عَلٰى كُلِّ شَيْءٍ قَدِيْرٌ، لَا اِلٰهَ
اِلَّا اللهُ وَحْدَهٗ، اَنْجَزَ وَعْدَهٗ، وَنَصَرَ عَبْدَهٗ، وَهَزَمَ الْاَحْزَابَ
وَحْدَهٗ.
अर्थः अल्लाह बाहेक अरु कोही पुजनीय छैन । उनको कोही साझेदार छैन र उनैको शासन
हो र उनैका लागि सारा प्रशंसा एवं आभार छन् । उनी हरेक कुराको सामथ्र्य राख्दछन् ।
एक्लो अल्लाह बाहेक अरु कोही पुजनीय छैन । उनले आफ्नो बचन पुरा गरे । उनैले आफ्नो
भक्तको सहयोग गरे र सारा समूदायहरुलाई केवल उनैले परास्त गरे ।
प्रत्येक पटक यस (दुआ) पछि केहीवेर रोकिएर दुआ गर्नु हुन्थ्यो अनि यिनै
शब्दहरु भन्नुहुन्थ्यो । अनि सफाबाट ओर्लेर मर्वातिर जानुभयो । जब ओरालोमा
पुग्नुभयो५ तब सई गर्नुभयो (अर्थात उकदमै छिटो छिटो हिँड्नुभयो) । जब हामी
उक्लियौं तब (साधारण गतिमा) हिँड्न थाल्नुभयो । जब मर्वा पुग्यौं तब त्यहाँ पनि
यसरी नै उक्लनु भयो जसले गर्दा काबा देखिन थाल्यो । यहाँ पनि उहाँ (स.) ले त्यसरी
नै दुआ गर्नुभयो जसरी सफामा गर्नु भएको थियो । यसरी सात पटक गरेपछि जब उहाँ (स.)
मर्वा पुग्नुभयो, तब उहाँ (स.) ले भन्नुभयोः “मलाई पहिले नै थाहा भएको भए म आफूसित हद्य
(कुर्वानीको जनावर) ल्याउने थिइन र आफ्नो इह्रामलाई (जुन उम्रह र हज दुबैको हो) लाई
केवल उम्रहको लागि गर्ने थिएँ । तसर्थ जोसँग कुर्बानीको जानवर छैन उसले आफ्नो
इह्राम खोलोस् र आफ्नो इह्रामलाई उम्रहको इह्राम बनाओस् ।”
सुराका बिन मालिक (रजि.) उभिए र उनले सोधे “हे अल्लाहका रसूल !
के यो आदेश केवल यसै वर्षको लागि हो वा सधैंको लागि ?” उहाँ (स.) ले आफ्ना औलाहरुलाई एक अर्कामा पसाउनुभयो र उहाँ
(स.)ले दुई पटक भन्नुभयो “होइन, उम्रह सधैको लागि हजमा समावेश भइसक्यो ।”
अली (रजि.) यमनबाट अल्लाहका रसूल (स.) को उँट लिएर आइपुगे । उनले फातिमा
(रजि.) लाई इह्राम खोलेको देखे । उनले रंगीन लुगा लगाएकी थिइन् र सुर्मा लगाएकी
थिइन् । यो अली (रजि.) लाई मन परेन । अलि (रजि.) लाई फातिमा (रजि.) ले भनिन् “यसको
आदेश मलाई मेरा बुबा (स.) ले दिनु भएको हो ।”
इराकमा अली (रजि.) (यो घट्ना उल्लेख गर्दै) भन्ने गर्थे कि म त्यसपछि फातिमा
(रजि.) को विरुद्ध रीसले चुर भएर अल्लाहका रसूल (स.) समक्ष उपस्थित भएर उहाँ (स.)
सँग सोधेँ कि के वास्तवमा तपाईले फातिमालाई यो आदेश दिनु भएको हो ? मैले उहाँ (स.) लाई भनें कि फातिमाको यो काम मलाई एकदमै
नराम्रो लाग्यो । उहाँ (स.) ले भन्नुभयो, “ऊ सत्य भनिरहेकि छे । तिमी बताऊ कि जब तिमीले हजको नियत ग¥यौ, त्यतिबेला तिमीले कुन शब्दहरुको प्रयोग गर्यौ ?” मैले भने “मैले भनेको थिएँ कि, हे अल्लाह ! जे नियत तिम्रो रसूल (स.) ले गर्नु भएको छ
त्यही नियत मेरो पनि हो ।” उहाँ (स.) ले भन्नुभयोः “त्यसो भए मसँग त कुर्बानीको
जनावर छ । तसर्थ तिमी इह्राम नखोल ।” जति उँट अली (रजि.) ले यमनबाट ल्याएका थिए र
जति उँट अल्लाहका रसूल (स.) ले स्वयं ल्याउनु भएको थियो, सबैको जम्मा संख्या सय थियो । तसर्थ त्यसपछि अल्लाहका रसूल
(स.) र उहाँ (स.) का मानिसहरु जो सँग कुर्बानीको जनावर थियो उनीहरु बाहेक अरु
सबैले इह्राम खोले ।
यौमुत् तर्विया (अर्थात जिल् हिज्जाको आठौ तारिख) आएपछि सबैजना मिना तिर
प्रस्थान गरे र उनीहरुले हजको नियत गरे । अल्लाहका रसूल (स.) (आफ्नो सुरुको
इहराममा नै हुनुहुन्थ्यो) पनि चढेर मिना पुग्नु भयो । त्यहाँ उहाँ (स.) ले जोहर, अस्र, मग्रीब, इशा र फज्रसम्मका पाँच नमाजहरु पढ्नुभयो । फज्रको नमाजपछि
उहाँ (स.) केही बेर रोकिनुभयो । सूर्योदय भएपछि उहाँ (स.) ले आदेश दिनु भयो, जस अनुसार उहाँ (स.) का लागि वादिए नम्रह (अरफातको नजिक
एउटा उपत्यका) मा पाल लगाइयो ।
अल्लाहका रसूल (स.) हिँड्नु भयो । कुरैश समुदायलाई विश्वास थियो कि उहाँ (स.)
“मश्अरे हराम” मा पुगेर रोकिनु हुन्छ । यस्तै कुरैश समुदाय अज्ञानताको समयमा
(इस्लाम भन्दा पहिले) गर्ने गर्थे । तर अल्लाहका रसूल (स.) अगाडि बढ्नुभयो र अरफात
पुग्नु भयो । त्यहाँ उहाँ (स.) ले (आफ्नो लागि पाल लगाइएको पाउनुभयो । उहाँ (स.)
त्यस पालमा बस्नुभयो । मध्यान्ह पश्चात उहाँ (स.)ले (आफ्नी उँटनी) कसालाई तयार
पार्ने आदेश दिनुभयो । त्यसलाई तयार पारियो । उहाँ (स.) उपत्यकाको ओरालो समाप्त
हुने ठाउँ (जहाँ अहिले मस्जिदे नम्रह बनाइएको छ) मा आउनु भयो र मानिसहरुलाई खुत्बा
दिँदै भन्नुभयोः
“तिमीहरुका प्राण, तिमीहरुका सम्पति तिमीहरुको प्रतिष्ठा एक अर्काको लागि त्यसरी
अबैध गरिएको छ जसरी यो दिन, यो शहर र यो महिना प्रतिष्ठित रहेको । अज्ञानताका (इस्लाम भन्दा पहिलेका) सारा
प्रथा तथा रीतिलाई म आफ्ना खुट्टा मुनी कुल्चिदै छु । अज्ञानताका हत्याहरुका
सम्पूर्ण झगडाहरुलाई समाप्त पार्दछु र सर्वप्रथम आफ्नो वंशको हत्या अर्थात रबीआ
बिन हारिसको छोराको हत्यालाई समाप्त पार्दछु जसलाई हुजैल समुदायले उनको हत्या
गरिदिएका थिए जबकि उनी बनी सअ्द समुदायमा बच्चै थिए । अज्ञानताका सम्पूर्ण
व्याजहरु पनि खारिज गरिदिएँ र सर्वप्रथम म मेरो वंशको व्याज (अर्थात आफ्नो काका)
अब्बास बिन अब्दुल् मुत्तलिबको व्याजलाई क्षमा गर्दछु किनकी यो सबै खारिज गरिएका
हुन् । आफ्नी पत्नीहरुको सन्दर्भमा अल्लाहसँग डराऊ किनकी अल्लाहसँगको बाचाको
आधारमा तिमीहरुले उनीहरुलाई आफ्ना पत्नी बनाएका हौ र उनले (अल्लाहले) बनाएका वाक्य
इजाबो कुबूल (जवाफ दिनु र स्वीकार्नु) द्वारा उनीहरु तिमीहरुका लागि हलाल भएका
हुन् । महिलाहरुमाथि तिमीहरुको अधिकार यो छ कि तिमीहरुलाई जो घरमा प्रवेश गरेको मन
पर्दैन उनीहरुलाई घरमा प्रवेश हुन नदेउन् । तर यदि उनीहरु यसको विपरित गर्छन् भने
उनीहरुलाई यसरी कुट जसले उनीहरुलाई धेरै (शारीरिक) पिडा नहोस् । महिलाहरुको अधिकार
तिमीहरुमाथि यो छ कि तिमीहरु उनीहरुलाई राम्ररी खुवाऊ, राम्रो लुगा लगाउन देऊ । म तिमीहरुमाझ त्यो चिज छोडेर जादै
छु जसलाई यदि तिमीहरुले बलियो तवरले समात्यौ भने तिमीहरु कहिल्यै पथ भ्रष्ट हुने
छैनौ । त्यो चिज अल्लाहको किताब हो । हे मानिसहरु हो । कियामतको (महाप्रलयको) दिन
तिमीहरुसित मेरो विषयमा सोधिनेछ, त भन तिमीहरु के भन्नेछौ ? सहाबीहरुले जवाफ दिए, “हामी गवाही दिनेछौं कि तपाईले सारा आदेशहरु पुर्याइदिनुभयो, आफ्नो फर्ज पूरा गर्नुभयो र हाम्रोलागि ठीक बेठीक छुट्टाएर
देखाइदिनुभयो । उहाँ (स.) ले आकाशतिर औला उठाएर मानिसहरुतिर इशारा गरेर तीन पटक
भन्नुभयोः “हे अल्लाह ! तिमी गवाही दिनु, हे अल्लाह ! तिमी गवाही दिनु, हे अल्लाह तिमी गवाही दिनु ।
त्यसपछि उहाँ (स.) ले अजान दिन लगाउनुभयो, अनि इकामत भनियो र जोहरको नमाज पढ्नु भयो । अनि फेरी इकामत
भनियो र अस्रको नमाज पढियो । यी दुबै (जोहर तथा अस्र) नमाजहरुको बीचमा उहाँ (स.)
ले कुनै नमाज (अर्थात नफ्ल नमाज) पढ्नु भएन ।
अनि अल्लाहका रसूल (स.) आफ्नी उँटनीमा चढेर मौकफ (अर्थात अरफातमा जबले रहमत
(दयाको पहाड) को नजिकको ठाउँ जहाँ उहाँ (स.) ले वुकूफे अरफात गर्नुभयो अर्थात
अरफात पुगेर बस्नुभयो) जानुभयो अनि फेरी पहाड मुनि चट्टानहरुमा आफ्नी उँटनीलाई उभ्याएर
उहाँ (स.) त्यसमा चढ्नुभयो । पैदल हिँडनेहरुको समूह उहाँ (स.) को अगाडि थियो ।
उहाँ (स.) किब्लातिर फर्कनुभयो । त्यसै अवस्थामा सूर्यास्त हुन्जेलसम्म उहाँ (स.)
उभिराख्नु भयो । अलि अलि पहेलोपन हटेर सूर्यास्त भयो । उसामा (रजि.) लाई उहाँ (स.)
ले आफूसँग उँटनीमा चढाउनु भयो र (मुज्दलफाको लागि) प्रस्थान गर्नुभयो । उँटनीको
लगाम उहाँ (स.) ले तानेर राख्नु भएको थियो जसले गर्दा उसको टाउको उहाँ (स.) ले
बस्ने काठीलाई छोइरहेको थियो र उहाँ (स.) आफ्ना हातको इशाराले भन्दै हुनुहुन्थ्यो
कि हे मानिसहरु हो ! आराम र शान्तिका साथ हिँड । जब बलौटे ढिस्को आउँथ्यो तब उहाँ
(स.) उँटनीको लगामलाई आवश्यकता अनुसार ढीला गर्नु हुन्थ्यो जसले गर्दा उसलाई चढ्न
सहज होस् । यसै क्रममा हामी मुज्दलफा पुग्यौं । त्यहाँ उहाँ (स.) ले एक पटक अजान र
दुई पटक इकामत भन्न लगाएर मग्रिब र इशाको नमाजहरु पढ्नुभयो । दुबै नमाजको बीचमा
उहाँ (स.)ले कुनै नफ्ल नमाज पढ्नु भएन । अनि अल्लाहका रसूल (स.) विहानसम्म पल्टिनु
भयो । प्रष्टसँग बिहान भएपछि उहाँ (स.) ले एउटा अजान र एउटा इकामतका साथ विहानको
नमाज पढ्नुभयो । अनि उहाँ (स.) कसवामा चढेर मश्अरे हराम जानुभयो । उहाँ (स.) कअ्बातिर
फर्कनुभयो र दुआ गर्नुभयो । तक्बीर (अल्लाहु अकबर भन्नु) तह्लील (ला इलाह
इल्लल्लाह भन्नु) र तौहीद (अल्लाह तआलाको एक्लो हुनुको जिकिर गर्नु) गर्नुभयो ।
चारैतिर प्रकाशमय हुन्जेलसम्म उहाँ (स.) उभिरहनुभयो । अनि सूर्योदय हुनुभन्दा
पहिले उहाँ (स.) हिँड्नुभयो । उहाँ (स.)ले अब्बास (रजि.) का छोरा फजललाई आफ्नो
साथमा राख्नुभयो । फजल (रजि.) गोरो रङ्गका अति राम्रो अनुहार भएका मानिस थिए र
उनको कपाल अति सुन्दर थियो । उहाँ (स.) हिँड्ने समय केही महिलाहरु गइरहेका थिए ।
फजल (रजि.) उनीहरु तिर हेर्न लागे । अल्लाहका रसूल (स.) ले आफ्नो हात फजल (रजि.)
को अनुहारमा राख्नुभयो । फजल (रजि.) ले आफ्नो अनुहार अर्को तिर फर्काए र (ती
महिलाहरु तिर) हेर्न खोजे । अल्लाहका रसूल (स.) ले अर्को तिर आफ्नो हात लगेर फजल
(रजि.)को अनुहारमा राखिदिनु भयो । फजल (रजि.) ले आफ्नो अनुहार अर्को तिर गरे र (ती
महिलाहरु तिर) हेर्न थाले ।
अनि अल्लाहका रसूल (स.) मुहस्सर घाटी (जहाँ हातीवालाहरु सखाप भएका थिए)मा
पुग्नु भयो । त्यहाँ उहाँ (स.) ले आफ्नी उँटनीको गतिलाई बढाउनुभयो । उहाँ (स.) ले
जम्रए कुबरा (जमरए उक्बा) निस्कने बीचको बाटो अपनाउनुभयो । उहाँ (स.) जमरहको नजिक
पुग्नुभयो । जुन (त्यस) रुखको नजिक छ (जसको मुनि बैते उक्बा भएको थियो) । उहाँ
(स.)ले त्यसमा सातवटा कंकडहरु फ्याक्नु भयो । प्रत्येक पटक कंकड फ्याक्ने समयमा
उहाँ (स.) ‘अल्लाहु अक्बर’ भन्नु हुन्थ्यो । उहाँ (स.) का कंकडहरु साना थिए । यति
साना थिए कि तिनीहरुलाई दुईवटा औलाहरुको बीचमा राखेर फ्याक्न सकिन्थ्यो । उहाँ
(स.) घाटीको ओरालो समाप्त भएको ठाउँमा उभिनु भएको थियो । त्यसपछि उहाँ (स.)
फर्कनुभयो र कुर्वानी गर्ने ठाउँतिर जानु भयो । उहाँ (स.) स्वयंले आफ्नो हातले
त्रिसाठ्ठीवटा उँटहरु जबह गर्नुभयो र बाँकी बचेकाहरुलाई अली (रजि.) को जिम्मामा
दिनुभयो र अली (रजि.) ले ती उँटहरुलाई जबह गरे । उहाँ (स.) ले अली (रजि.) लाई
कुर्बानीमा आपूmसँगै
गर्नुभयो । अनि उहाँ (स.) ले प्रत्येक उँटबाट एक एक टुक्रा लिने आदेश दिनुभयो ।
त्यसलाई पकाइयो । अल्लाहका रसूल (स.) र अली (रजि.) दुबैले त्यो मासु खानुभयो र
त्यसको सूप पिउनुभयो [र उहाँ (स.) ले टाउकोको कपाल खौरनु भयो। (अबू दाऊद, अनस (रजि.) द्वारा उल्लेखित हदीस) ।]
त्यसपछि उहाँ (स.) उँटनीमा चढेर मक्का मुअज्जमा जानुभयो र तवाफे इफादा
गर्नुभयो । उहाँ (स.) ले मक्का मुअज्जमामा जोहरको नमाज पढ्नुभयो । अनि उहाँ (स.)
जमजमको कुवाँतिर जानु भयो । अब्दुल् मुत्तलिबका वंशका केही मानिसहरुलाई जमजमको
पानी पिलाउँदै थियो । उहाँ (स.) ले भन्नुभयो “हे अब्दुल् मुत्तलिबका सन्तानहरु हो
! पानी निकालेर मानिसहरुलाई पिलाइराख । म पनि तिमीहरुसँग मिलेर पानी निकाल्ने थिएँ
यदि मलाई (मेरो अनुसरण गर्दै) मानिसहरु तिमीहरुबाट पानी निकाल्ने भाँडा छिन्ने डर
नभएको भए ।” उनीहरुले अल्लाहका रसूल (स.) लाई पानीको एक डोल दिए र उहाँ (स.) ले
त्यसबाट पानी पिउनुभयो ।
[अनि उहाँ (स.) फर्केर मिना जानु भयो र तश्रीक (११,१२ र १३ तारिखका रातहरु) त्यही बिताउनु भयो । प्रत्येक दिन
मध्यान्हपछि उहाँ (स.) प्रत्येक जमरहमा सात कंकडहरु फ्याक्नु हुन्थ्यो । प्रत्येक
पटक कंकड फ्याँक्दा उहाँ (स.) ‘अल्लाहु अक्बर’ भन्नुहुन्थ्यो । उहाँ (स.) पहिलो र
दोस्रो जम्रह नजिक धेरै बेरसम्म बस्नु हुन्थ्यो र अल्लाहसँग दुआ गर्नुहुन्थ्यो ।
तेस्रो जमरहमा उहाँ (स.) कंकडहरु फ्याक्नु हुन्थ्यो तर त्यहाँ रोकिनु हुन्नथ्यो
। (अह्मद, अबू
दाऊद,
इब्ने हिब्बान, हाकिम, बैहकी, आइशा (रजि.) द्वारा उल्लेखित हदीस) ।]
[(मिनाबाट फर्केपछि) उहाँ (स.) र मुहस्सबको घाँटी (मक्का
मुअज्जमाको मैदान जुन जबले हिराको बाटोमा पर्छ) मा बस्नुभयो । जोहर, अस्र, मग्रिब र इशाका नमाजहरु पढ्नुभयो । उहाँ (स.) त्यहाँ केही
बेर सुत्नुभयो । र रातको अन्तिम प्रहरमा मक्का मुअज्जमामा प्रवेश गर्नुभयो र तवाफ (तवाफे
विदाअ अर्थत अन्तिम तवाफ) गर्नुभयो । (अह्मद, मुस्लिम, मालिक, बैहकी) अब्दुल्लाह बिन उमर (रजि.) द्वारा उल्लेखित
हदीस ।]
टिप्पणियाँ